समाचार

ललिता निवास प्रकरण :  पूर्व प्रधानमन्त्रीहरुसँग बयान तत्काल नहुने

अख्तियार भन्छ : योजना छैन 

ललिता निवास प्रकरण :  पूर्व प्रधानमन्त्रीहरुसँग बयान तत्काल नहुने

 

काठमाडौँ । बालुवाटारस्थित ललितानिवास घोटाला प्रकरणमा उच्च पदस्थसँग बयान लिनेबारे तत्काल कुनै निर्णय नभएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसबारे कुनै निर्णय नभएको भन्दै अनुमानका आधारमा समाचार लेखिएको जनाउनुभयो ।

ललितानिवासबारे अख्तियारले सुक्ष्म अनुसन्धान गरिहेको जनाउँदै कोइरालाले अनुसन्धान पूरा भएपछि मात्रै मिडियाबारे सार्वजनिक गरिने नेपाल आजलाई जानकारी दिनुभयो । ‘‘अनुसन्धान भैरहेको छ । बयानको क्रम जारी छ । अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।’’ उहाँले बताउनुभयो । 


‘‘बाहिर अनुमानका आधारमा लेखिएको हो । यो कुरा केही सार्वजनिक गरिएको छैन ।’’  अनुसन्धान कहिले टुंगिन्छ भन्नेबारे अहिल्यै केही भन्न नमिल्ने कोइरालाले बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई, तत्कालीन मन्त्री विजयकुमार गच्छदार लगायतसँग बयान लिने भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका थिए । 

विशेष