भिडियो Breaking News कभर स्टोरी

पवनको ज्योति खोस्नेहरुको जीवन अहिले उज्यालो छ (भिडियोसहित)

पवनको ज्योति खोस्नेहरुको जीवन अहिले उज्यालो छ (भिडियोसहित)

काठमाडौं । पवन घिमिरे अर्थात नेपाली सेनाका उम्दा अफिसर । बाबुआमा, घरपरिवार, समाज हुँदै देशकै एउटा सपना थियो । घरका भित्तामा उनी सैनिक अफिसर ‘पासआउट’ हुँदाका रंगीविरंगी फोटा झुण्ड्याइएका थिए । बाउआमालाई  आफ्नो कर्तव्य निख्रिंदै गएकोमा सन्तोष थियो । अब एउटा सुन्दर, सुशील बुहारी भित्र्याएर अभिभावक हुनुको अन्तिम धर्म निर्वाहको तयारीमा बाआमा लागेका थिए ।

हुन पनि सैनिक अफिसर छोरो हरेक सम्भावनाको खानी थियो । भगवान भन्छन रे– ‘तँ चिता म पुर्याउँछु ।’ तर पवनको जीवनमा नियतिले उल्टो खेल्यो । भगवानको अनुकम्पाले विपरीत गति समात्यो । राइफल बोकेर देशका लागि जीवन उत्सर्ग गर्न हिँडेको छोराको जिन्दगी पाँच सेकेण्डमा ‘युर्टन’ गर्यो । अरुको आशादीप बन्दै आएका पवनको बाहिर चक्षु गुम्यो । घरपरिवारले ढाड्स दियो । विशेषगरी पिताजीले उनलाई संसारका उदाहरण दिएर शक्ति भर्ने कोशिस गर्नुभयो । साथीभाईका प्रिय पवन, प्रेमिकाकी मजनु पवन, छरछिमेक इष्टमित्रका जन्ती, मलामीमा सधैं पहिलो पवन यो घट्नापछि एकादेशका कथामा अनुवाद भए । स्वार्थी दुनियाँको कोलाज कस्ता कस्ता स्वार्थी रंगले पोतिएको हुँदो रहेछ उनलाई बल्ल चेत भयो ।

यसले उनलाई कमजोर हैन, बरु चट्टान बनाउन सहयोग गर्यो । पढेलेखेका पवनले संकल्प गरे– ‘बाहिरी उज्यालो गुमेपनि के भो ? अब म भित्री चक्षु बालेर अघि बढ्छु । परिवर्तन आफैंबाट शुरु गर्छु ।’ 

घट्ना कसरी भयो ?
२०६० साल संयोगले साउन महिनाको कुरा हो । कालिकोट–सुर्खेत, जुम्ला सडक खण्डको ट्रयाक खोल्ने काम भैरहेको थियो । कालिकोटको जुविथा भन्ने ठाउँमा खटिएका थियो सैनिक टुकडी । त्यही टुकडीका एक सदस्य थिए पवन । उनको जागिर भवानी बक्स गण दैलेखमा थियो । त्यतिखेर उनी लेफ्टिनेन्ट थिए । काम फत्ते गरेर कालिकोटको जुविथा भन्ने ठाउँमा फर्किदै  थिए । सुन्दर खोलाको किनारमा हिँडिरहेको थियो टुकडी । टुकडी बीचमा थिए पवन । बाटो साँघुरो थियो । 

एक्कासी केही पडकेको आवाज आयो । विकासका लागि कार्यरत सेनाको टुकडीमाथि यस्तो कायरतापूर्ण आक्रमण होला भन्ने कसैलाई थिएन । त्यसैले प्रतिरक्षाको मूडमा सेना थिएन । क्षणभरमै पवनको सुन्दर संसार अन्धकार भयो । उनका अरु सहकर्मीलाई भने केही भएन । लक्का जवान पवन जीवनमरणको दोसाँधमा परे ।

 ४५ मिनेटमा हेलिकोप्टरबाट पवनको उद्धार भयो । नेपालगञ्ज हुँदै काठमाडौंस्थित छाउनी आर्मी हस्पिटल ल्याइयो । त्यसपछि आँखाको उपचारका लागि तत्काल शिक्षण अस्पताल महाराजगञ्ज लगियो । छोराको अवस्था देखेर परिवारमा भूइँचालो गयो ।  शल्यक्रिया भयो । तर त्यो शल्यक्रियाले पवनको चिनारीपछि दृष्टिविहीनको विशेषण थपिदियो । त्यसपछिका दिनको अवस्था पवनका लागि प्रियकर लाग्दैन । पवन भन्छन– ‘त्यसपछि मलाई सपनामा हिँडिरहे जस्तो लाग्न थाल्यो । बुबा उत्साह भर्नुहुन्थ्यो । तर म नदेखेर कतै ठोक्किँदा आमाले पीडा झेल्न नसकेर हिक्क हिक्क गरेको आवाज मेरो कानमा ठोक्किन्थ्यो । त्यसले मलाई द्रविभूत बनाउँथ्यो ।’

अरु त अरु पवनले  न त आफ्नी श्रीमती देखेका छन् न त छोरीहरु नै । आफ्नै कमाईले बनाएको सुन्दर घरको दृश्यानुभूति उनीभित्र छैन् । मन र मस्तिष्कको चक्षुले सबै चराचर उनी अनुभूत गर्छन् । 

उनी ललितपुरको लेलेमा जन्मिएका हुन ।  अधिकृत क्याडेटबाट प्रवेश गरेका पवन सेकेण्ड लेफ्टिनेन्ट, लेफ्टिनेन्ट, क्याप्टेन हुँदै बढुवा भएर मेजर भएका छन्  । नेत्रहीन भएपछि पनि आफ्नो संस्था नेपाली सेनाले लगाएको गुन उनी कहिल्यै भुल्दैनन् । 
 

अन्धकारको सुरुङ
 

अन्धकारका दिन सम्झदै पवन भन्छन्, ‘जुन सपना देखेर नेपाली सेनामा प्रवेश गरेँ ती सपना समाप्त भए भन्ने सोच्न थालेँ । दृष्टि गुमेपछि जीवन  छैन भन्ने लाग्थ्यो । जतिखेर पनि निद्रामै छु कि जस्तो भान पथ्र्यो । 

मन बुझाउन अनेक किसिमका उपाय निकाल्थे । आफूले नदेख्दा लोडसेडिङ भएको कल्पना गर्थें । त्यो समयमा लोडसेडिङ धेरै हुन्थ्यो । म आँखा नदेख्ने भएको होइन, लोडसेडिङ भएकाले अँध्यारो भएको हो भन्ने सोच्थेँ । रेडियो टिभी बज्न थालेपछि बिजुली आएको थाहा पाउँथें ।’ तर उनको आँखामा बिजुली आउँदैनथ्यो । आएको बिजुली निभिसकेको थियो ।  

उज्यालो भयो भनेर आत्तिएर उठ्दा कयौंपटक भित्ता, ढोका, खाट जहिँतहीँ ठोकिन्थे । कतिपटक उज्यालो भयो भनेर चिच्याउँथे । तर, उज्यालो देख्न सक्दैनथे । 

अँध्यारोभित्र उज्यालो खोजी
 

उनीभित्र आशा र उत्साह अंकुराउन थाल्यो ।  परिवार साथमा थियो । साथीभाइ, इष्टमित्र साथमा थिए । सबैभन्दा धेरै त नेपाली सेना साथमा थियो ।  ६ वर्षपछि छाउनीस्थित ब्यारेक फर्किए । 

जीवनको ज्योति बलिरह्यो भने आँखाको ज्योति गुमेर पनि फरक पर्दैन भन्ने पवनले महसुस गर्न थाले । जीवनको रथ फेरि अगाडि बढ्न थाल्यो । समाजशास्त्रमा एमए र सैन्य विज्ञानमा स्नातक गरेका पवनमा बौद्धिक क्षमताको कुनै कमी थिएन । आँखाको ज्योति गुमेर उनको क्षमताले ठक्कर खायो तर जीवनको ज्योति उज्यालो बनाएर उनी अगाडि बढ्न थाले ।

देख्ने हुँदा खासै चासो नदिएको क्रिकेट खेल दृष्टि गुमेपछि पवनले खेल्न सिके । उनलाई क्रिकेटमा रुचि जाग्यो । पवनको रुचिलाई दृष्टिगत गरी सेनाले उनलाई खेलकुद तथा शारीरिक केन्द्रमा जिम्मेवारी दियो ।  पवन क्रिकेट खेलमा होमिए । 

पाकिस्तान गएर क्रिकेटको ट्रेनिङ लिने अवसर पाए ।  त्यसपछि विदेश भ्रमणको बाटो मात्रै खुलेन । ०६३ मा नेपालमा पहिलो दृष्टिविहीन क्रिकेट टुर्नामेन्ट भयो ।  जसको आयोजनाको अगुवाइ गरे । काठमाडौं, भक्तपुर र ललितपुरमा दृष्टिविहीन क्रिकेट क्लबको स्थापना गरे । देशमा यतिबेला ६ सय ५० को हाराहारीमा दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन भइसकेका छन् । डेढ सय त महिला खेलाडी छन् । पवनकै पहलमा खुलेको दृष्टिविहीन क्रिकेट संघको अध्यक्ष हुन् उनी । यसबाहेक विश्व दृष्टिविहीन क्रिकेट संघको कोषाध्यक्ष हुने गौरवशाली इतिहास पवनलाई हात लागेको छ ।  पवनले २०१८ मा पाँचौं विश्व दृष्टिविहीन क्रिकेटको रेफ्रीका रुपमा पनि काम गर्ने अवसर पाए ।  भारत र पाकिस्तानबीचको खेलमा  रेफ्री भए । 


हालसम्म उनी पटक–पटक  अमेरिका, बेलायत, पाकिस्तान, भारत, युएई, मलेसिया, कुबेतजस्ता मुलुक क्रिकेटको सिलसिलामा घुमेका छन् ।  
 ।  

दृष्टिविहीनहरुले क्रिकेट कसरी खेल्छन् ?
 

मानिसको आँखा बन्द भएपछि उसको कान खुलेको हुन्छ । क्रिकेट आवाजको खेल हो । यसमा बलको आवाज सुनेर ब्याटिङ, बलिङ र फिल्डिङ गर्नुपर्छ । यहाँ तीन किसिमका खेलाडी हुन्छन् ।

 

पूर्ण देख्न नसक्ने ९ बी वान ०, पाँच मिटरसम्म कुनै चिज हल्लिएको अनुभव गर्ने ९ बीटु ० र २० मिटरसम्म कुनै चिज हल्लिएको देख्ने ९ बी थ्री ० भनिन्छ । यो तीनथरिको कम्बिनेसनमा ११ जनाको टिम बनाइन्छ ।

 

त्यसो भए पवनको अन्तिम लक्ष्य के हो त ? उनी थप्छन्– ‘मेरो लक्ष्य भनेको खेलकुदको सर्वश्रेष्ठ प्रतियोगिता विश्वकपसम्म पुग्ने थियो । मैले सबै साथीहरुलाई मोटिभेट गरेर अगाडि बढेँ । हामीले सबै कुरा छोडेर यसमै लाग्यौं । नेपालको इतिहासमा सागहरुले पनि विश्वकप खेल्न नसकेको अवस्थामा हामी जीवन्त बनेर बसिसकेका छौं ।’