राजनीति

प्रचण्डले भने – मलाई हेग लगे विश्वकै हिरो हुन्छु 

प्रचण्डले भने – मलाई हेग लगे विश्वकै हिरो हुन्छु 


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हेग पुर्‍याइएपनि केही फरक नपर्ने बताउनुभएको छ । ललितपुरस्थित आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले आफूलाई हेग लगे विश्वकै हिरो हुने बताउनुभयो ।

अन्तर्राष्ट्रिय अदालतमा लगेर आफूलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वले यस्तो काम गरेको टिप्पणी गर्नुभयो । ‘‘मलाई हेग लगेर पनि केही फरक पर्दैन। त्यहाँ लगे भने विश्वकै हिरो भएर निस्किन्छु। संसारले मलाई एकैपटक चिन्छन्।’’ प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘‘ संसारभरिका जनताले यो शान्ति र न्यायको पक्षमा रहेछ भन्ने ठाउँ हुन्छ। त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’’ 

आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसार भएको उहाँले दाबी गर्नुभयो । 


प्रचण्डले आफू शान्ति प्रक्रियामा आएपछि माओवादी नेता कार्यकर्तालाई सम्झाउन नसकेको पनि स्वीकार गर्नुभयो ।  ‘‘हामी यहाँ नआएको भए पेरुको साइनिङ पाथ, लिट्टे र फिलिपिन्सको युद्धरत माओवादीजस्तो हुने थियौं ।’’


लोकतन्त्र र संघीय गणतन्त्र रहँदासम्म कोही कमजोर नहुने भन्दै उहाँले प्रतिक्रियावादी यो उपलब्धिलाई उल्टाउन पाए हुन्थ्यो भनेर लागिरहेको तर्क गर्नुभयो ।