राजनीति

सांसद् नाराबाजीमा, सभामुखले भने– थाक्नु भयो होला बस्नुहोस्

सांसद् नाराबाजीमा, सभामुखले भने– थाक्नु भयो होला बस्नुहोस्

 

काठमाडौँ । संसदीय सर्वोच्चता कायम गर, प्रतिवेदन सार्वजनिक गर लगायतका नारासहित प्रतिपक्षी दलका नेताले सोमबारको संसद बैठक अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका हुन् ।


बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदले उभिएर विरोध जनाए । सभामुखले शुन्य समयको कार्यसुचि अघि बढाएपछि सांसदहरुले रोष्टम  अगाडि उभिए र नाराबाजी गरे । 


सांसदहरुले नाराबाजी गरेपछि श्रब्य दृश्य सामग्रीमा नाराबाजीको अडियो बन्द गरियाे । बीचमा खोलिएको अडियोमा सभामुखले भने– ‘‘माननीय सदस्यहरु, अब थाक्नुभयो होला बस्नुहोस् ।’’ सभामुख कृष्णबहादुर महराले यसो भनेपछि सत्तारुढ दलका नेताले जोडतोडले टेबुल ठटाए । 


नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीका विभिन्न ३ छुट्टा छुट्टै घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न माग गर्दे रोष्टममा उभिएर नाराबाजी गरेका थिए । सभामुखले पटक पटक सांसदहरुलाई बस्न आग्रह गरे ।

तर सांसद्हरु अझै जोडतोडले नाराबाजीमा उत्रिएपछि सभामुखले साउन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।