अपराध सुरक्षा

साहसिली युवती : जसले ट्याक्सीमा बलात्कार गर्न खाेज्नेको जिब्रो दुई टुक्रा पारिन् 

साहसिली युवती : जसले ट्याक्सीमा बलात्कार गर्न खाेज्नेको जिब्रो दुई टुक्रा पारिन् 


एजेन्सी । भारतको राजस्थान राज्यको जयपुरमा एक २१ वर्षीया युवतीले आफूमाथि बलात्कार गर्न आउनेको जिब्रो दुई टुक्रा पारिदिएकी छिन् ।  गत बिहीबार राती घर फर्कन ट्याक्सीमा चढेकी युवतीमाथि ट्याक्सी चालकका साथीले बलात्कारको प्रयास गरेका थिए । तर युवतीले हिम्मत देखाउँदै बलात्कारीको पञ्जाबाट  भागिनन् मात्र बलात्कार गर्न खोज्नेको जिब्रो टोकेर चुँडालिदिइन र पक्राउ गराउन सफल भइन ।

 
यस्तो थियो घटना विवरण
भारतीय दैनिक अमर उजालाको समाचार अनुसार आग्राकी ती युवती चित्रकुट क्षेत्रमा बस्थिन् । बीबीए पढ्दै गरेकी उनले मोडलिङ पनि गर्ने भएकाले बिहीबार राती करिब सवा एक बजे जन्मदिनको पार्टीबाट निस्किएकी थिइन् । बुक गरेको ट्याक्सीमा चढिन् । जहाँ एक युवक अगाडिकाे सिटमा थिए । युवतीले सोधपुछ गर्दा चालकले आफ्नो साथी भएको र चित्रकुटमैँ बसोबास गर्ने भएकाले सँगै जाने जनाए । 


शहरको आश्रम मार्गबाट चित्रकुट जाने गरी उनीहरु प्रस्थान गरेका थिए । जसै गाडी सोडाना नजिकै पुग्यो, ट्याक्सी चालकका साथीले नक्कली पेस्तोल देखाएर युवतीलाई तर्साए त्यसपछि गुडिरहेको गाडीमा अगाडिको सिटबाट उठेर पछाडिको सिटमा गए ।

युवतीले त्यसबेला आफू निकै डराएको प्रहरीसामु बयानमा बताएकी छिन् । ड्राइभरका साथीले युवतीलाई गाडीमै बलात्कार गर्ने प्रयास गरेपछि युवतीले हिम्मत देखाएर जिब्रो दुई टुक्रा पारिदिइन् र ट्याक्सीबाट उत्रेर भागेर नजिकको प्रहरी थाना पुगिन् । प्रहरीलाई घटनाको सबै विवरण थाहा पाउनसाथ चुँडिएको जिब्रो बोकेर अस्पताल आउनसक्ने भन्दै अस्पतालमा प्रहरी तैनाथ गर्यो । 


बलात्कारको प्रयास गर्ने आरोपी सचिन शर्मा पनि काटिएको जिब्रोको उपचार गराउनको लागि एसएमएस अस्पताल पुगेका थिए ।  एसएमएस अस्पतालले जिब्रो काटिएको युवक उपचारको लागि आएको पुलिसलाई जानकारी दियो ।

पुलिसले तत्कालै उनलाई पक्राउ गर्यो ।उपचारका लागि गएका सचिनलाई पुलिसले अस्पतालबाटै ट्याक्सी ड्राइभरसहित पक्राउ गर्यो ।

आरोपी सचिन शर्मा भरतपुरको भएको र जगतपुरामा रियल स्टेट एजेन्टको काम गर्ने बताइएको छ ।