राजनीति

मुख्यमन्त्री राउतद्वारा प्रदेश २ मा भएको क्षतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मुख्यमन्त्री राउतद्वारा प्रदेश २ मा भएको क्षतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन्।

अषाढ २७ गते आएको भीषण बाढीबाट प्रदेश २ मा भएको क्षतिबारे सम्बन्धित पक्षलाई जानकारी गराउनुको साथै सहयोग जुटाउने उद्देश्यले काठमाडौं पुगेको मुख्यमन्त्री राउत सहितको सर्वदलीय टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेश २ मा सार्वजनिक र निजी गरि अर्बौं रुपैयाँ बराबारको क्षति भएको ३७ जनाभन्दा बढीको मृत्यु भएको तथा हजारौँ परिवार घरबारविहीन भएको जानकारी गराएका हुन्।

बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारको बुताभन्दा बाहिर रहेको उल्लेख गर्दै उनले विस्थापितहरूको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग गर्न आग्रहसमेत गरे। भेटमा मुख्यमन्त्री राउतले विस्थापित परिवारहरूको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमाथि विशेष जोड दिए ।

जवावमा प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफू पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिए । भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव समेतको उपस्थिति थियो भने प्रदेश २ को सर्वदलीय टोलीमा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता राम सरोज यादव सहितको सहभागिता रहेको थियो।

केपी शर्मा ओली प्रदेश २ लालबाबु राउत