राजनीति

भदौदेखि जनअभियान थाल्ने प्रचण्डको उद्घोष

भदौदेखि जनअभियान थाल्ने प्रचण्डको उद्घोष


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भदौदेखि जनअभियान थाल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको छैठौँ स्मृति दिवसका अवसरमा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले सामाजिक न्यायसहितको समृद्धिको मोडल दिनका लागि पार्टी एकतालाई पूर्ण र बलियो बनाउनुपर्ने भएकाले जनताका पक्षमा काम गर्न भदौदेखि जनअभियान थाल्ने जानकारी दिनुभयो ।

‘साउनमा स्थायी र केन्द्रीय समतिकिो बैठक सकेर भदौमा जनअभियान सुरु गर्ने हाम्रो चाहना छ । पार्टी एकता यत्तिमा सीमित हुनु हुँदैन ।’ प्रचण्डले बताउनुभयो । 


विश्वलाई नेपालबाट समाजवादको नयाँ सन्देश दिनका लागि पार्टी एकताले पूर्णता पाउनु पर्ने उहाँले बताउनुभयो । पार्टी एकता मजबुद बनाएर सरकारका कामकारवाहीलाई चुस्त गराउनु पर्ने उहाँको भनाइ थियो । 


कार्यक्रममा नेकपा नेता माधव नेपालले पार्टी एकतामा विलम्ब गर्न नहुने भन्दै अझै मजबुत बनाएर जानुपर्ने बताउनुभयो । 


सरकारको उद्देश्य पूरा गर्नका लागि पनि पार्टी थप एकताबद्ध हुनुको विकल्प नरहेको उहाँको भनाइ छ । 
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले केही दिनभित्रै पार्टी एकताले पूर्णता पाउने जानकारी दिनुभयो । 


राजनीतिक प्रतिवेदन प्रकाशित भएसँगै वैचारिक राजनीति स्पष्ट भएको भन्दै समाजवाद उन्मुख जनताको जनवाद लागु गर्नु पर्ने बताउनुभयो ।