कभर स्टोरी

बाढी पहिरोको क्षतिको अपडेट : हालसम्म १०८ को मृत्यु, ३३ गायब 

बाढी पहिरोको क्षतिको अपडेट : हालसम्म १०८ को मृत्यु, ३३ गायब 

हरि न्याैपाने । 
काठमाडौँ । गत असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण बुधबार साँझसम्म १०८ जनाको ज्यान गएको छ । बाढी पहिरोमा परी हालसम्म ३३ जना हराइरहेका छन् भने ४६ जना घाइते भएका छन् । घर आवासको क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

हजारौँको संख्यामा घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । मनसुनी वर्षा देशभर सक्रिय रहेको छ । मन्त्रालयले बाढी, पहिरो र डुबानबाट रौतहट गुल्मी, सिरहा, ललितपुर लगायत देशका ३५ जिल्ला प्रभावित भएको जानकारी दिएको छ । 

एक महिनाको तथ्याङक यस्तो 
गृहमन्त्रालयका अनुसार असार दश देखि यता बाढीका कारण ५४ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोमा परी ४५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै चट्याङका कारण २२, अति वर्षाका कारण ८ र सर्पले टोकेर ६ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनाको अवधिमा बाढी र पहिरोमा परी ३३ जना हराइरहेका छन । बाढीमा परी २५ र पहिरोमा परी ९ जना हराइरहेका हुन् । त्यस्तै पहिरोमा परी ३० जना घाइते भएका छन् । मन्त्रालयका अनुसार बाढीका कारण ६८७ घर परिवार पूर्ण प्रभावित भएका छन् भने पहिरोले १६३ र अतिवृष्टि हुँदा ५४ जना पूर्ण प्रभावित भएका छन् । 

मृत्यु भएकाका परिवारलाई १ लाख राहत
गृह मन्त्रालयले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परी मृत्यु भएका परिवारलाई एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको जनाएको छ । प्रभावित व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको तथा डुबान परिवार पानीको सतह घटेसँगै आ–आफ्नो स्थानमा फर्केनेक्रम जारी रहेको उहाँले बताउनुभयो । 


राहत र उद्धारको कार्यलाई प्रभावकारी तुल्याउन सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधन परिचालन गरिएको जानकारी उहाँले गराउनुभयो । 

 

उद्धारका लागि ४१ हजार बढी सुरक्षाकर्मी परिचालन
गृह मन्त्रालयले प्राकृतिक विपद न्युनीकरणका लागि ४१ हजार २०४ सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । गृहमन्त्री थापाले सरकार र मातहतका निकायसहित रेडक्रस लगायत विभिन्न सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने संघसंस्थालाई पनि परिचालन गरिएको जानकारी दिनुभयो ।  

सुरक्षाकर्मीले हालसम्म ३ हजार ३ सय ६८ को उद्धार गरेको र बेपत्ताको खोजी जारी रहेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनुभयो । गृहमन्त्री थापाले सम्पूर्ण घाइतेको निःशुल्क उपचार र प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाइसकेको जानकारी दिनुभयो । 


राहत तथा उद्धारलाई प्रभावकारी तुल्याउन तीनै तहका सरकारसँग मिलेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । 


विभिन्न राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग, मेची राजमार्ग, कर्णाली राजमार्ग लगायतका ८ राजमार्ग अवरुद्ध गरेको छ । बाढी , पहिरो र डुबान प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलन नदिन स्वास्थ्य मन्त्रालयबाट डाक्टर सहितको टोली परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सदनले पारित गर्यो विशेष प्रस्ताव
बुधबारको संसद बैठकले विशेष प्रस्ताव पारित गर्दै मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै घाइतेको उपचार र बेपत्ताको खोजी गर्न सरकारलाई निर्देशन दिएको छ । साथै प्रतिनिधि सभाका सांसदहरुको एक दिनको पारिश्रमिक राहत कोषमा उपलब्ध गराउने भएको छ ।