अपराध सुरक्षा समाचार समाज

‘हनी ट्र्यापिङ’ : युवतीको जालमा फस्दा झण्डै गुम्यो ४० लाख

‘हनी ट्र्यापिङ’ : युवतीको जालमा फस्दा झण्डै गुम्यो ४० लाख


झापा । बिर्तामोडमा व्यवसाय चलाएर राम्रैसँग बसेका एक व्यक्ति युवतीको हनी ट्र्यापिङमा फसेका छन् ।  बिर्तामोडस्थित भद्रपुर रोड कुमारी बैंक पश्चिमपट्टीको गल्लीभित्र एउटा घरमा चारतला फ्ल्याट लिई युवती र तीन युवाहरुले हनी ट्र्यापिङ गर्ने गराउने गरेका थिए ।

उनै युवतीलाई प्रयोग गरेर व्यवसायीसँग असुली धन्दा चलाइरहेको एक समूह पक्राउ परेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो । प्रहरीले घटनामा संलग्न युवतीसहित चार जनालाई पक्राउ गरेको छ । 

यसरी फसाइन युवतीले
असार २८ गते बिर्तामोडका नाम चलेका एकजना व्यवसायीलाई अज्ञात नम्बरबाट इमोमा फोन आयो । मीठो स्वरमा युवतीले फोनमा कुरा गरेपछि व्यवसायी मख्ख पर्दै कुराकानी गरे । दुवैले परिचय साटासाट गरे । युवतीको स्वरले प्रभावित व्यवसायी विस्तारै युवतीको चंगुलमा फस्न थाले ।

युवतीले फोन गर्न छाडिन । व्यवसायी आफैँले फोन गर्न थाले र युवतीले भनेअनुरुप काम गर्दै गए ।  अब मोबाइल नम्बरसँगै,  इमो, भाइबर र ह्वाट्सएपमा पनि कुराकानी हुन थाल्यो । सुखदुःख, घरपरिवारसँगै अब प्रेमका कुरा चल्न थाल्यो । विस्तारै फोनबाट यौनले प्रवेश पायो । असारको २८ गतेदेखि साउनको १ भित्रै यौनका लागि दुवै राजी भए । 

साउन १ गते भेटने कुरा भयो । युवतीले बिर्तामोडको भद्रपुर रोडमा व्यवसायी भेटन आइन । फोनमा मस्त कुराकानी गर्ने युवतीले भेट्न बोलाएपछि व्यवसायी तत्काल उनले बोलाएको स्थानमा पुगे । बीस वर्षकी ती युवतीलाई भेट हुने बित्तिकै व्यवसायीले गेस्ट हाउस लैजाने प्रस्ताव गरिहाले ।

गेस्टहाउसमा सुरक्षा नहुने भन्दै युवतीले जान इन्कार गरिन् बरु आफ्नो साथीको कोठामा जाने प्रस्ताव गरिन् । साथीको कोठा भद्रपुर रोडमैँ भएकाले व्यवसायीले युवतीको प्रस्ताव तत्काल स्वीकारे ।

दुवैजना कोठामा पुगे । त्यहीँ बस्ने योजना बुनियो । तर साँझ ८ बजे उनीहरू बसेको कोठाको ढोकामा कसैले ढक्ढक्यायो । चुकुल लगाएर मस्तसँग बसेका उनीहरु झसंग भए । जसै ढोका खोलियो हातमा छुरा बोकेका दुई जना युवा प्रवेश गरे । युवतीसँग यौनसम्पर्कका लागि नांगिएका व्यवसायीमाथि कुटपिट हुन थाल्यो ।

छुरा र प्लास्टिकको पेस्तोल देखाउँदै व्यवसायीलाई कोठाभित्रै बन्धक बनाइयो। नाटकीय ढंगबाट किशोरी भागिन् । त्यस बेलासम्म सञ्जु क्षेत्री भनिने सुजन शंकर र प्रकाश दासले ब्यापारीको नाङ्गो फोटो र भिडियो तयार पारिसकेका थिए । अब अभियुक्तहरुले बार्गेनिङ सुरु गरे । साउन ५ गतेसम्ममा ४० लाख रुपैंयाँ पाउनुपर्ने शर्त राखे ।

रकम बैंकमा जम्मा गर्नुपर्ने शर्त राखियो । अन्यथा भिडियो भाइरल हुने मात्र होइन ज्यान नै जाने धम्की दिइयो । युवतीको बिश्वास गर्दा फसेका व्यवसायीसँग यति ठूलो रकम दिने अवस्था थिएन। उनले इलाका प्रहरी कार्यालयमा घटनाबारे जानकारी दिए ।

त्यसपछि प्रहरीले घटनामा संलग्नहरुलाई खोजी सुरु गर्यो । यसक्रममा साउन ४ गते झापाको चारआलीबाट बिर्तामोड नगरपालिका ४ घर भएका मेराज खान, सोही स्थानका प्रकाश दास र भारत पश्चिम बंगालको दार्जिलिङ थाना खोरिबारी घर भएका सञ्जु क्षेत्री भन्ने सुजन शंकर पक्राउ परे ।

उनीहरुको बयानका आधारमा ‘हनी ट्रयापिङ’ का लागि प्रयोग भएकी इलामको फाकफोकथुम गाउँपालिका १ घर भई बिर्तामोड नगरपालिका २ चारपाने बस्ने रीतु फियाक लिम्बुलाई पनि प्रहरीले बिर्तामोडबाट पक्राउ गर्‍यो।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहन थापाका अनुसार पक्राउ परेकामाथि शरीर बन्धक बनाई अवान्छित लाभ लिन खोजिएको आरोपमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 घटनाका योजनाकार शंकर महिलालाई वेश्यावृत्तिमा लगाएको आरोपमा फरार रहेका अभियुक्त हुन् । उनीविरुद्ध जिल्ला अदालत, झापाले १० वर्ष कैद सजायको फैसला सुनाएको थियो । उनीसहित अन्य अभियुक्तको साथबाट बा १५ च ७३३९ नम्बरको कार, लागूऔषध र एउटा नक्कली पेस्तोल बरामद भएको छ ।