भिडियो अन्तरवार्ता कभर स्टोरी

कम्युनिष्टको राष्ट्रवाद सत्तारोहणको रणनीति (भिडियोसहित)

कम्युनिष्टको राष्ट्रवाद सत्तारोहणको रणनीति (भिडियोसहित)

काठमाडौं । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको ३७ औं स्मृति दिवस मनाइँदैछ । साहित्यकारको रुपमा समेत परिचित कोइराला प्रजातान्त्रिक समाजवादका प्रवर्तक हुन् ।

२०३९ साल साउन ६ गते वीपी कोइरालाको देहावसन भएको थियो ।  उनको योगदानको स्मरणमा कांग्रेसले प्रत्येक बर्ष साउन ६ गतेको दिन वीपीलाई विभिन्न कार्यक्रम गरी स्मरण गर्ने गरेको छ । 

नेपाली काँग्रेसले वीपीलाई आफनो आदर्श मानेपनि उनले देखाएको मार्गमा सही ढंगले हिंड्न नसकेको कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद स्वीकार गर्छन् । वीपीले लिएको आर्थिक नीति, राजनीतिक दर्शन, समाजवादमा हुबहु ढंगले हिंड्न नसक्नुको प्रमुख कारण मुलुकमा भएको राजनीतिक उथलपुथल, द्वन्द्व र फरक राजनीतिक चरित्र भएका दलहरुसँगको सहकार्य नै भएको उनको ठम्याइ छ । तथापि, राष्ट्रियता, सार्वभौमिकता र मुुलुकको अखण्डता रक्षामा भने काँग्रेस कहीं कतै नचुकेको उनको दावी छ । 

कतिपयले कम्युनिष्टसँगको सहकार्य र राजासंगको सम्बन्धलाई लिएर कांग्रेसले वीपी पथ छोडेको प्रश्न गर्छन् । कम्युनिष्टसँगको सहकार्यले पार्टीलाई सम्पूर्णरुपमा बेफाइदा भयो भन्ने होइन । राजाले प्रत्येक कालखण्डमा काँग्रेसलाई दुःख दिए । राष्ट्रियताको सवालमा काँग्रेस र राजसंस्थाको समान दृष्टिकोण भएपनि प्रजातन्त्रका हिसावमा विचार मिल्न सकेन । वीपीले राजासंग मेरो गर्धन जोडिएको छ भनेको सन्दर्भ राष्ट्रियतासंग जोडिन्छ । तर, राजा प्रजातान्त्रिक हुन सकेनन् । उनले प्रजातन्त्र खोसे । त्यहींबाट राजा र कांग्रेसको नाता टुट्यो । 

हामीले कम्युनिष्टसंग सहकार्य गर्नुको कारण पनि प्रजातन्त्रका लागि हो । मुलुकमा लोकतान्त्रिक मूल्य मान्यता र पद्धति स्थापना गरी विकास र समृद्धिको मार्गमा पुग्न हामीले कम्युनिष्टसँग मिलेर आन्दोलन गर्यौं, संविधान बनायौं, तीन तहको निर्वाचन गर्यौं । उनीहरुले चुनाव जिते, हामीले स्वीकार गर्यौं । यदि कम्युनिष्ट दलहरु प्रजातान्त्रिक पद्धति  नमान्ने अवस्थामा पुगे भने त्यो हामीलाई सहन हुँदैन । 

कम्युनिष्टभन्दा राजा राष्ट्रवादी
 

नेपालको इतिहासदेखि वर्तमानसम्म कम्युनिष्ट पार्टीहरु छेपारो जस्ता देखिएका छन् । समय परिस्थिति अनुसार आफनो लाभका लागि तुरुन्तै रङ बदल्न यिनीहरु खप्पिस छन् । 

जहाँसम्म राष्ट्रवादको कुरा छ यो यिनीहरुका रणनीति मात्र देखियो । कम्युनिष्ट पार्टीको राष्ट्रवाद भनेको रणनीतिक राष्ट्रवाद हो । यिनीहरुको पहिलो प्राथमिकता सत्ता नै हो । सत्ता पाउन जे जे गर्नुपर्छ, त्यो गर्न उनीहरु तयार हुन्छन् । अवसरवाद नै कम्युनिष्टको रणनीति हो, त्यसलाई राष्ट्रवादकारुपमा प्रचार गर्छन । 
कम्युनिष्ट भन्दा राजा राष्ट्रवादी थिए । राजा प्रजातान्त्रिक हुन सकेनन्, तर कम्युनिष्ट भन्दा उनको राष्ट्र प्रेमलाई बढी सक्कली मान्न सकिन्छ । 

फागुनमा सरकार ढल्ने 
अहिले दुई तिहाइको यो कम्युनिष्ट सरकारले प्रजातन्त्रको मर्ममाथि प्रहार गरिरहेको छ । न्यायालयमा हस्तक्षेप, मानवअधिकार, प्रेसमाथि नियन्त्रण, सुरक्षा निकायमाथि कब्जा, जताततै भ्रष्टाचार, अन्याय, अत्याचार बढेको बढ्यै छ । यो देखेर जनता आजित भैसकेका छन् । 

यो सरकारको बर्बरता देखेर प्रतिपक्षी दल कांग्रेसमाथि दवाव परेको सत्य हो । निस्सासिएर बसेका जनतालाई बाँच्नका लागि स्वच्छ अक्सिजन दिन कांग्रेस तयार हुनुपर्छ । यसका लागि आउँदो फागुनबाट हामी जनता सडकमा उतार्ने तयारीमा छौ । यो निरंकुश सरकारलाई ढाली प्रजातान्त्रिक पार्टीको पुनस्र्थापना गर्न हामी कदम चाल्ने छौं । 

फेरि सभापति हुने देउवाको हक
पार्टीको विधान अनुसार दुईपटक सभापति बन्न पाइन्छ । यसका लागि उम्मेद्वारी दिन पाउने व्यवस्था विधानमा प्रष्ट छ । यसकारण यदि सभापति शेरबहादुर देउवा फेरि १४औं महाधिवेशनका लागि सभापतिको उम्मेद्वार बन्न चाहनु हुन्छ भने त्यो उहाँको हक हो । 
तर, महाधिवेशनमा को चुनिएर आउँछ भन्ने कुरा निश्चित हुँदैन । यसकारण सभापति देउवाले फेरि सभापतिका लागि उम्मेदवारी दिने इच्छा राख्नु भयो भने त्यसलाई किन

नाजायज भन्ने ?
अहिले पार्टीमा महाधिवेशनका लागि रडाको मच्चाउन जरुरी छैन । विधानमा ४ वर्षको कार्यकाल तोकिएको छ । सबैभन्दा राम्रो यो अवधिमा महाधिवेशन गर्नु उत्तम हुन्छ । यदि सकिएन भने १ वर्ष थप्न पाउने व्यवस्था विधानमा छ । यो सबै प्रष्ट हुँदाहुँदै किन अहिल्यै कोलाहल मच्चाइदैछ, त्यो बुझन सकिएको छैन । 
महाधिवेशन सम्बन्धी प्रस्ताव सभापतिले समय र परिस्थिति अनुसार केन्द्रीय समिति बैठकमा पेश गर्नुहुन्छ । कसैलाई हतार भयो भन्दै्रमा आजको आजै सभापतिले बैठकमा प्रस्ताव ल्याउने कुरा जायज हुन सक्दैन । 

नियमावली र आचारसंहिता     
जहाँसम्म नियमावली र आचारसंहितको विषय हो, त्यो त अनुशासन बसाल्नको लागि हो । पार्टीका औपचारिक फोरमहरुमा जति पनि असहमति राख्न पाइन्छ तर जहाँ पायो त्यहीं पार्टीका नेताहरुलाई खुइल्याउँदा पार्टीलाई नै नोक्शान भयो । यसलाई रोक्ने व्यवस्था मात्र गर्न खोजिएको हो । तर, अचम्म के छ भने विहान सहमति भयो भन्ने नेताहरु नै साँझ नपर्दै असन्तुष्टि पोख्छन्, यस्तो पनि हुन्छ ? 

साउद भन्छन्, ‘हामीले पार्टीलाई कठोर अनुशासनको जंजिरमा बाँध्न खोजेको होइन, तर न्युनतम अनुशासन त कायम गर्नुपर्यो नि । आज देउवालाई मात्र होइन, वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि समेत आक्रमण भैरहेको छ । देउवालाई मनपरी गर्यो भन्नेहरुले नै पौडेललाई पार्टी चलाउने क्षमता नभएको भनेर खुलेआम भनिरहेका छन् । ’

पार्टीमा सभापति देउवा, पौडेल लगायतका नेताहरुमाथि लगातार आक्रमण हुनुलाई सामान्यरुपमा लिन सकिदैन । यसमा केही स्वदेशी तथा विदेशी तत्वहरुको षडयन्त्र भएको आशंका छ । यसमा पार्टीकै नेताहरु प्रयोग भैरहेका पनि हुनसक्छन् । यो कुनै खास नेता विशेषको कुरा होइन, प्रजातान्त्रिक पार्टीलाई सिध्याउने प्रपञ्चका रुपमा आएको हो । 

अन्तर्घाती नै बलिया    
कांग्रेसमा सिद्धान्तनिष्ठ, सादगी र समर्पित नेता कार्यकर्ता भन्दा अन्तर्घातीहरुको बोलवाला बढेको छ । हिजोको दिनमा जसले आफनै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय भूमिका खेले, तिनीहरुकै स्वर अहिले ठूलो छ । उनीहरु आफै पीडित जस्तो गरी कराइरहेका छन् । 

पार्टीको निर्णयविपरीत चल्ने, पार्टीको चेन अफ कमाण्ड नमान्ने, आफनै उम्मेदवारलाई हराउन कम्मर कसेर लागेका नेता कार्यकर्ता प्रशस्त छन् । यसको छानबिन गरी कारवाही प्रक्रिया अविलम्ब बढाउनुपर्छ । अब आइन्दा यस्तो नहोस भन्नका लागि पनि अनुशासन कामय गर्न जरुरी छ । 

अन्यथा, वीपी कोइरालाको नाम मात्र जपेर काँग्रेस टिक्ने वाला छैन । कांग्रेस कमजोर भए मुलुकको राष्ट्रियता पनि कमजोर हुने निश्चित छ ।