समाचार पर्यटन

आधार शिविरका अधिकृत घरमै बसेर भत्ता बुझ्छन्, नेपालको अन्तर्राष्ट्रिय बेइज्जत

आधार शिविरका अधिकृत घरमै बसेर भत्ता बुझ्छन्, नेपालको अन्तर्राष्ट्रिय बेइज्जत

काठमाडौं । २०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बिबिसी विश्व सेवाको स्टुडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली असजिलोमा परे । प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यु एमोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे । 

‘हिमाल आरोहरण व्यवस्थापन गर्न पठाइएका ६० जना सम्पर्क अधिकृतमध्ये  पाँचजना मात्रै आधार शिविरमा थिए । बाँकी सबैले पैसा बुझे तर घर घरमै’ उनले अगाडि सोधे, ‘यसबाट तपाईलाई कुनै असजिलो महसुस भएन ?’

प्रधानमन्त्री ओलीलाई यसपटकको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको भद्रगोलपूर्ण अवस्थाबारे पूर्ण जानकारी थिएन वा उनी यथेष्ट तयारीबिना अन्तर्वार्ता दिन बसेका थिए । त्यसैले प्रधानमन्त्रीलाई आरोहण व्यवस्थित गर्ने जिम्मेवारी साथ आकर्षक भत्ता लिएर कार्यक्षेत्र नपुगी घरमै बसेका सम्पर्क अधिकृतका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिन मुस्किल भयो । 

उनले सोधिएको प्रश्नको जवाफ नदिइ सगरमाथा सम्बन्धित अन्य विषयमा आफ्नो भनाइ राखेर प्रश्न टारे । 

 अन्तर्वार्ता सकिएपछि नेपाल नफर्किदै प्रधानमन्त्री सचिवालयले पर्यटनसचिव मोहनकृष्ण सापकोटासँग सम्पर्क गरी अधिकृतहरुको अनुपस्थितिबारे सोधखोज गरेर विवरण माग्यो । सापकोटाले पनि तत्कालै सम्पर्क अधिकृतहरु सगरमाथा आधार शिविर पुनग नपुगेको विवरण दिन मन्त्रालय मातहतको पर्यटन विभागलाई निर्देशन दिए । 

प्रधानमन्त्रीसहितको टिम नेपाल नफर्कँदै पर्यटन मन्त्रालयको निर्देशनमा पर्यटन विभागले एउटा विज्ञप्ति निकाल्यो । सगरमाथा क्षेत्रमा ट्राफिक जामका कारणले मात्रै आरोहीको मृत्यु भएको भनेर फैलिएको समाचार खण्डन गर्न विज्ञप्ति निकालिएको थियो । भोलिपल्ट विभागले फेरि अर्को वक्तव्य निकालेर सगरमाथा आरोहणको व्यवस्थापनका लागि खटिएका ३७ मध्ये २२ जना अधिकृत आधार शिविर पुगेको दावी गरियो । 

यसरी सरकारले पहिलो पटक ठूलो संख्यामा आफ्ना सम्पर्क अधिकृतहरु आधार शिविर नपुगी, कानुन र पदीय दायित्व पूरा नगरी सुविधा  मात्रै लिएको आधिकारिक रुपमा स्वीकार गर्यो । 
नागरिक दैनिकबाट