अन्तरवार्ता मनोरञ्जन कला साहित्य भिडियो Breaking News कभर स्टोरी

लोचन भट्टराई भन्छिन्, ‘गीत हैन भाषा गाउनु पर्छ’ (भिडियोसहित)

भारतीय संगीतमा मीठास हुनुको रहस्य शुद्ध गायन नै हो

लोचन भट्टराई भन्छिन्, ‘गीत हैन भाषा गाउनु पर्छ’ (भिडियोसहित)


२०४३ सालमा रेडियो नेपालमा दुईवटा गीत गुञ्जिदा लोचन भट्टराईको गायनको शक्ति र चर्चा एकैपटक चुलियो । ती दुई गीत थिए– ‘टाढा टाढा नभई जाउ तिमी...’ र  ‘हृदय छोइ गरें पूजा ढुंगा पो रहेछौ...’

भट्टराईले एकैदिन बिहान आफैले रचना गरेको भूपेन्द्र रायमाझीको संगीतमा ‘टाढा टाढा..’ र साँझ आकाश अधिकारीको रचना र सुशील विश्वकर्माको संगीतमा ‘हृदय छोइ...’ भन्ने गीत रेकर्ड गरेकी थिइन । दुवै गीत ‘सुपर हिट’ भए । 

सांगीतिक दुनियाँमा आएको ३३ वर्षको अवधिमा उनले ९ सय ५० बढी गीत रेकर्ड गरिसकेकी छन् । यतिका वर्षको अनुभवपछि उनको मनमा एउटा कुरा खड्केको छ । आफूले गाएको हृदय छोइ गरें पूजा.. गीतमा भाषिक गायनमा त्रुटी देखियो । 

उनी भन्छिन्, ‘गीत गाउँदा एक ठाउँमा ह्स्व र दीर्घ नमिलेको रहेछ । त्यो बेला त्रुटी भएपनि अहिले मिलाएर गाउने गरेकी छु । ’


गायिका भट्टराईका अनुसार नेपाली गीत गायनको प्रमुख समस्या भनेकै उच्चारण हो । गायक÷गायिका, गीतकार र संगीतकार तीनै जनामा उच्च भाषिक सचेतना हुनुपर्छ, नत्र बिग्रिन्छ । अहिले गीतका नाममा थुप्रै सृजनाहरु आएका त छन् तर अधिकांशको गायन व्याकरण ध्वस्त छ । यसलाई गीत भनिदैन । गीत गाउने भनेको भाषा गाउने हो । यहाँ भाषा गाउने सोच कसैमा देखिएन, यो सांगीतिक क्षेत्रको ठूलो कमजोरी हो । 

पूर्वदेखि पश्चिम तथा हिमालदेखि तराईंसम्म फैलिएका सबै किसिमका लोकभाकामा भट्टराईले स्वर दिइसकेकी छन् । चलचित्र र आधुनिक गीत संगीतमा पनि उत्तिकै सफल भट्टराई बौद्धिक र भाषिक रुपमा निकै सचेत कलाकारको कोटीमा पर्छिन् । 

भाषागत उच्चारणको कुुरा गर्दा विगतमा भक्तराज आचार्य र तारादेवीमा भाषागत सचेतना उच्च रहेको पाइन्छ । तारादेवीको फूलको थुंगा बोलको गीतमा बाहेक कतैपनि उच्चारणको समस्या छैन । 

नारायणगोपालले आफूले संगीत गरेर गाएका सबै गीत ठीक छन् । गायनमा भाषागत प्रष्टता र उच्चारण एकदम राम्रो छ । तर, अरुले संगीत गरेका गीतमा भने कहिँ कतै उच्चारणमा त्रुटी भेटिन्छ । चाँदनी शाहको शब्द र दीपक जंगमको संगीत रहेको ‘एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा...’ भन्ने गीतमा ‘कति’ भन्ने शब्दको उच्चारण त्रुटीपूर्ण छ । 

आजभोलिका स्रष्टामा न्हू बज्राचार्य भाषा र उच्चारणमा बढी सजग देखिन्छन् । उनी संलग्न भएको गीतमा गायन र उच्चारण ठीकठाक हुन्छ ।  गायिका भट्टराईको अर्को गजबको विशेषता के छ भने उनी कविता र मुक्तकमा संगीत गरेर गाउने नेपालकै पहिलो गायिका हुन् । उनले हालसम्म आफ्नो एकल संगीत र गायनमा सातवटा एल्बम निकालिसकेकी छन् । ती यस्ता छन् : 

१ ) तारा नउदाएको आकाश, २०५८, भीमदर्शन रोक्काको मुक्तक संग्रह

२) छन्द, २०६०, शास्त्रीय छन्दका कविता ( यो संग्रहमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका २, कवि शिरोमणि लेखनाथ पौड्यालका २, धरणीधर कोइरालाको १, भीमनिधि तिवारीका २ तथा घनश्याम कँडेलको १ कविता राखिएको छ । 

३) दिव्य चेतना, २०६२, कवयित्री पिताम्बर प्युस्

४ ) अन्तरध्वनि, २०६५, कञ्चन पुडासैनी ( प्रेम भावनाले ओतप्रोत भएको संग्रह ) 

५ ) प्रतिविम्ब, २०६६, भद्रकुमारी घले

६ ) सावित्री, २०६७, सावित्री सत्यवानको पौराणिक कथा (अनुवादक वेदभक्त उपाध्याय) 

७ ) वियोग, २०७०, वियोग सापकोटाको कविता संग्रह

अहिले गायिक भट्टराई चर्चित रेडियोकर्मी एवम साहित्यकार दाहाल यज्ञनिधिका गीतहरुको संग्रहको तयारीमा छिन् । जीवनकालमा दाहाल यज्ञनिधिको कुनै पुस्तक वा एल्बम नआए पनि मरणोपरान्त उनले लेखेका लेखहरुको संग्रह पुस्तकका रुपमा आउने भएको छ भने कविता तथा गीतहरुको एल्बम पनि बजारमा आउन लागेको हो ।  यसका लागि गायिका भट्टराई र साहित्यकार दाहालकी धर्मपत्नी सुधा दाहाल अनवरत खटिरहेका छन् । 

दाहालले लेखेका गीत सम्झिदै गायिका गुनगुनाउँछिन् :

‘मेरो देशको भरसेलीमा, अन्न आगो छैन
रित्तो भाँडो चुहिरैछ, के ले लिनु चैन’ 

साहित्यकार दाहालले आफू गम्भीर विरामी परेका बेला आफना सृजनाहरुको प्रकाशनका लागि लोचन भट्टराईलाई सम्झिनु भनेर परिवारका सदस्यहरुलाई उपदेश दिएका थिए । दाहाल यज्ञनिधिले आफूलाई त्यसका लागि लायक ठान्नु आफनो लागि निकै खुशी र गर्वको कुरा भएको लोचन बताउँछिन् ।  नेपाली गीत संगीत र साहित्य विश्वमै अनुपम भएपनि स्रष्टाहरुको आफनै लापरवाही र अल्छीले फस्टाउन नसकेको उनको भनाइ छ । 

उनी भन्छिन्, ‘छिमेक भारतमै हेरौं, भाषाप्रतिको चेतना र शब्द उच्चारणको गाम्भीर्य कति छ । लता मंगेशकरले सुरुमा फिल्मी गीत गाउँदा स्वर राम्रो भए पनि भाषाको ज्ञान छ कि छैन भनेर दिलिपकुमारको प्रश्न सामना गर्नुपरेको थियो । दिलिपकुमारको त्यही प्रश्नपछि लताले घरमा भाषाको गुरु नै राखिन् । लताका गीत मीठा हुनुमा उनको स्वर मात्र होइन, भाषागत चेतना र शुद्ध उच्चारण पनि हो । ’

हामीकहाँ संगीतका पाठशाला त छन् तर ती पनि भाषागत रुपमा सचेत छैनन् । नेपालीका शिक्षक र संगीतका प्रशिक्षक नै भाषाप्रति अनभिज्ञ रहेको पाइन्छ । यो तरिकाले हुँदैन । गीत वा भाषा गाउने कुरा रहरको विषय होइन । यो त साधना हो । आजभोलि सुनिन्छ, आज गीत गायो, भोलि हिट भयो...यसले अमरत्व प्रदान गर्दैन ।