मानिस किन अपराधी हुन्छ ?

राजु सुवेदी ‘कल्पित’

मानिस किन अपराधी हुन्छ ?

मानिस जन्मदै अपराधी र सज्जनको पगरी गुथेर आउने होइन् । अत्यन्तै असल भनिएको मानिस प्रकारान्तरमा कल्पनै गर्न नसकिने अपराधी सावित भएको हुन्छ भने खुँखार अपराधी गौतमबुद्धपथमा लागेको भेटिन्छ । यसरी हेर्दा अपराध र निर्दोष एक सिक्काका दुईपाटा हुन् । मानिसले अपराध किन गर्छ भनेर विषयमा प्रवेश गर्नुअघि अपराध के हो भन्ने तर्फ लागौं । 

सामान्यतः अपराध भन्नाले राष्ट्रिय कानुनको उल्लंघन गरी समाज विरोधी कार्य गर्नुलाई बुझाउँछ । अपराध मानवीय व्यवहार पनि हो । अपराधको परिभाषा दिँदै अपराधशास्त्री जेफ्री भन्छन्– ‘समाजको हित विपरीत हुने सवै क्रियाकलाप अपराध हो ।’ त्यस्तै अर्का अपराधशास्त्री लेडिस अपराधको परिभाषा गर्दै भन्छन्– ‘अपराध एउटा यस्तो कार्य हो, जुन राज्यद्वारा सामाजिक कल्याणको लागि हानिकारक घोषित गरिएको हुन्छ, जसको लागि राज्यले दण्ड दिन सक्छ ।’

समय र स्थानअनुसार  अपराधलाई अलग अलग ढंगले परिभाषा गर्न सकिन्छ । अर्थात समय र स्थानअनुसार अपराध सम्बन्धी धारणा फरक फरक पाइन्छ । जस्तै पश्चिमी क्षेत्र र समाजमा परस्त्रीलाई चुम्बन गर्नु सामान्य सामाजिक व्यवहार मानिन्छ भने हाम्रो देशमा मुलुकी ऐन आकर्षण भई अपराध ठहरिन्छ । हाम्रो देशको कानुन र सांस्कृतिक मान्यताअनुसार परस्त्रीमाथि दुव्र्यवहार गर्नु अपराध मानिन्छ । एस्किमो जातिमा आफ्नो घरमा आएका पाहुनालाई उनीहरु बसुन्जेलका लागि घरका स्त्री हस्तान्तरण गर्ने प्रचलन पाइन्छ । यस्तै हिन्दु संस्कृतिमा गोबध अपराध ठहरिन्छ भने मुस्लिम र क्रिश्चियन धर्म अवलम्बन गरिएका मुलुकमा यो सामान्य जीवनचर्याभित्र पर्छ । गाई गोरुको मासु ‘विफ’ का नाममा विश्वभर ख्यातीप्राप्त  छ । 

समयअनुसार अपराधको प्रकृतिमा फरक आउँछ । जस्तै प्रधानमन्त्री चन्द्रशम्शेरले दासप्रथा उन्मूलन गर्नुअघि अपराध ठहर्दैनथ्यो । दासप्रथा उन्मूलन भएपछि दास राख्नु अपराध ठहरिन थाल्यो । कुन अपराध हो ? कुन निरपराध ? यो समय, देश र समाजमा निर्भर रहन्छ । यद्यपि मानव हत्या, चोरी, डकैती, बलात्कार, लागूऔषधको कारोवार, कानुनले वर्जित गरेका वस्तुको ओसारपसार जस्ता कर्म प्राय सवै देशमा अपराध मानिन्छ । यी सवै सत्य बुझ्दाबुझ्दै मानिस किन आपराधिक कर्मतिर निर्लिप्त हुन्छ त ? अपराधशास्त्री र मनोविज्ञको निष्कर्षमा  मानिस अपराधी बन्ने कारण यसप्रकार रहेको छ । 

१. प्राकृतिक – मानिस अपराधी बन्नुको रहस्य प्राकृतिक पनि हो । धेरै अपराधशास्त्रीहरुको निष्कर्ष के रहेको छ भने अपराध र भौगोलिक पर्यावरणबीच गहिरो सम्बन्ध छ । प्राकृतिक प्रचुरता भए ठाउँका बासिन्दा शान्तिप्रिय हुन्छन् । यसको उल्टो प्राकृतिक साधन अपर्याप्त भएको ठाउँका मानिस स्वभावत अशान्त हुन्छन् । यसको परिणाम उनीहर लुटपिटमा उत्रन किन्चित कठिन मान्दैनन् । 

२. आर्थिक – मानिस अपराधी हुनुमा आर्थिक अवस्थाले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । वास्तवमा अपराध आर्थिक विपन्नताको देन हो । आर्थिक रुपमा दरिद्र मानिस आफ्ना आवश्यकता पूरा गर्न गैर कानुनी तरिकाबाट  स्रोत जुटाउन बाध्य हुन्छन् । धनको लोभमा मानिसले नैतिकता र इमानको अवहेलना गरेर अपराध गर्छ । गरिबी बेरोजगारी, व्यावसायिक मनोरञ्जन, व्यापार, चक्र, औद्योगिकरण, आर्थिक दुरुपयोग (जुवातास, वेश्यावृत्ति, लागूपदार्थ सेवन) केही यस्ता कारक हुन, जसले मानिसलाई अपराधी प्रवृत्तिमा उत्तेजित बनाउँछ । 

३. राजनीतिक – सरकारमा बसेका जिम्मेवार राजनीतिज्ञहरुले नियम कानुन मिचेर आफ्नो स्वार्थ सिद्धिका लागि जुवातास, रक्सी, वेश्यावृत्तिलाई प्रोत्साहन दिने,  सोर्सफोर्सको आधारमा नोकरी मिलाइदिने, घुस लिएर लाइसेन्स, परमीट ठेक्का दिने, आफ्ना विरोधीलाई हत्या गरेर सिध्याउने वा जेल कोच्ने जस्ता काम भएमा सरकार र जनताबीचको सम्बन्ध तनावपूर्ण बन्दै जान्छ । जसका कारण आपराधिक क्रियाकलाप स्वाभाविक बन्दै जान्छन् । 

४. सामाजिक – सामाजिक अस्तव्यस्तता अपराध सृजना हुने मूल आधार हो । जबसम्म समाज सुस्थिर, एकतावद्ध, परस्पर सहयोग र विश्वासमा आश्रित रहन्छ, तबसम्म त्यहाँ अपराध हुन पाउँदैन् । अपराधबाट समाजलाई जोगाउन यसलाई भरसक स्थिर संगठित रुपमा राख्न सक्नुपर्छ । औद्योगिकीकरण गर्दा योजनावद्ध तरिकाले गर्नुपर्छ । ताकि औद्योगिकीकरण र शहरीकरण संगसंगै विकृति जन्मेर समाज अस्तव्यस्त हुन् नपुगोस् । 

५. धार्मिक– धर्म भनेको दैवी शक्तिमा विश्वास र उसले निर्देशित गरेको सत्मार्गको अनुशरण हो । धर्ममा विश्वास गर्ने मानिसहरु अपराध गर्न चाहँदैनन तर आफ्नो धार्मिक आस्थामा चोट पुर्याउने नास्तिक मानिसलाई धार्मिक मानिसले सहन सक्दैनन् । जब धर्मको नाममा साम्प्रदायिक दंगा हुन्छ तब धार्मिक मानिस आफ्नो आस्था जोगाउन हिंसामा ओर्लन  पछि पर्दैन । 

६. पारिवारिक – मानिसले अपराध गर्नु पछाडि पारिवारिक कारणले पनि भूमिका खेलेको हुन्छ । जुन परिवारमा आपराधिक वातावरण व्याप्त हुन्छ, त्यहाँ यस्ता कर्मले प्रश्रय पाउने धेरै सम्भावना रहन्छ । सधैं झगडा, कलह, मारपीट भइरहने परिवारमा जन्मेको बच्चामा स्वत झगडालु प्रवृत्ति विकास हुन्छ । अपराधशास्त्री गल्युकले गरेको एक सर्वेक्षणले मद्यपान र अनैतिक सम्बन्धी अपराधमा ९० दशमलव ४ प्रतिशत अपराधी आपराधिक परिवारको पृष्ठभूमिबाट आएका थिए । 

७. शारीरिक  – केही अपराधशास्त्रीहरुले अपराधी व्यवहारको लागि शारीरिक दोष सम्बन्धी कारणलाई पनि एक मानेका छन् । यसअन्तर्गत हुने अपराधका कारक शारीरिक दोषबाट ग्रसित हुन्छन् । त्यस्ता मानिस अरु सामान्यभन्दा बढी अपराधोन्मुख हुन्छन् । शारीरिक विकृति भन्नाले शारीरिक ग्रन्थीमा असन्तुलन, असामान्य शारीरिक विकास, अंगभंग आदि पर्दछन् । 

८. मानसिक वा मनोवैज्ञानिक – मानिसले अपराध गर्ने कारणमा मानसिक गतिविधि पनि एक हो । मानसिक रुपमा विक्षिप्त व्यक्तिहरु नै अपराध कर्ममा अग्रसर हुन्छन् । पश्चिमा मुलुक खास गरेर अमेरिकामा प्रचलित धारणाअनुसार अपराधी एक किसिमको मानसिक रोगी हो । डा. हेरी एच गोडार्डले निम्नस्तरको मस्तिष्क वा मानसिक दुर्वलतालाई अपराधको एकमात्र कारण भनेका छन् । यस्तै केही अपराध गर्न मानसिक शक्तिको राम्ररी विकास भएको बौद्धिक प्रखरता आवश्यक हुन्छ, जस्तै ठगी, जालसाजी र नियोजित अपराध । मानसिक दुर्वलता भएका अपराधीहरु यस्ता अपराध गर्न त के सोच्नसम्म पनि सक्दैनन् । 

९. युद्ध र क्रान्ति – युद्ध र क्रान्तिबाट हिंसात्मक र प्रतिकारात्मक वातावरणको सिर्जना हुन्छ । युद्धकालमा अभिभावक युद्ध कार्यमा व्यस्त हुन्छन् । यसको फलस्वरुप अनियन्त्रित तथा असुरक्षित बालबालिकाहरु असामाजिक कार्यमा लाग्दछन् । एक सर्वेक्षणअनुसार युद्धकालमा वयस्क केटीहरु बढी मात्रामा यौन अपराधमा संलग्न हुन्छन् । युद्धको समयमा युद्ध र क्रान्तिबाट सामाजिक जीवन अस्तव्यस्त हुने भएकाले आर्थिक समस्या उत्पन्न हुन्छ । यस्तो संकटको समयमा स्वार्थी व्यापारीहरुले कालोबजारी, नक्कली सामान बेच्ने ठगीजस्ता कार्यहरु गरी पैसा कमाउने ध्याउन्नमा लाग्छन् । 

१०. आमसञ्चार माध्यम – आजको आधुनिक विज्ञान प्रविधिको युगमा आमसञ्चारमाध्यमहरु जस्तै समाचारपत्र, टेलिभिजन, सामाजिक सञ्जाल, चलचित्रजस्ता माध्यमको अहं भूमिका हुन्छ । आमसञ्चारको भूमिका सकारात्मक र नकारात्मक दुवै हुन्छ । यसले खेलेको नकारात्मक भूमिकाले मानिसमा आपराधिक कर्ममा उत्प्रेरित गर्छ । आमसञ्चार र सामाजिक सञ्जालमा आपराधिक गतिविधिका सामग्रीले बढी प्रश्रय पाइरहेका छन् । सिनेमाले समेत यस्तै विषयवस्तुलाई प्रोत्साहित गरेको हुन्छ । सामाजिक सञ्जालमा मानिसको खोजी यौन गतिविधि र आपराधिक गतिविधिमा केन्द्रित रहेको पाइन्छ । हालै मात्र नेपाल सरकारले पबजीमाथि प्रतिबन्ध लगाउनुको पृष्ठभूमि यही थियो । यस्ता दृश्यले अपरिपक्व मस्तिष्कमाथि गहिरो प्रभाव छोड्दछ । जुन कालान्तरमा अपराध प्रवृत्तिमा अनुवाद हुन्छ । 

११. जातिवाद र स्थानीयता– देशका नागरिकलाई जातजाति, भूगोलका आधारमा विभेद गरी केही जातिलाई विशेष सुविधा र अन्य केही जातिलाई उपेक्षा गरिएमा उपेक्षित वर्ग सरकारसंग रुष्ट भई कानुन तोड्न पुग्छ । एक सर्वेक्षणले भन्छ– युुरोपेली, अमेरिकी र दक्षिणी अफ्रिकी समाजमा गोराको अनुपातमा काला बढी अपराधी भेटिएका छन् । 

१२. खराव संगत – आपराधिक गतिविधि अर्काको सम्पर्कमा रहँदा बस्दा देखेर, सुनेर जानिन्छ । आपराधिक प्रवृत्ति भएका मानिससंग संगत गरेमा सामान्य मानिस पनि अपराधी बन्न सक्दछ । यसबाट उ अपराधमा सक्रिय हुन केहीबेर लाग्दैन् । 

अपराध पारिवारिक कारण

संम्बधित खबर