अपराध सुरक्षा मुख्य समाचार

आमा मार्न छोरीले दिएकी थिइन् १२ लाखको ‘सुपारी’

छोरीका प्रेमीसहित चार पक्राउ 

आमा मार्न छोरीले दिएकी थिइन् १२ लाखको ‘सुपारी’

काठमाडौं । प्रेमीसँग मिलेर आफ्नै आमाको हत्यामा संलग्न छोरीसहित चार जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । 

 

भक्तपुर चाँगुनारायण–७ मा आइतबार घाँटी रेटेर हत्या गरेरे फालिएको अववस्थामा सावित्री भट्टराईको शव फेला परेको थियो । सो हत्यामा संलग्न रहेको दावी गर्दै प्रहरीले मृतककै छोरी इश्वरी भट्टराई, उनका प्रेमी मोहम्मद नौसादलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा भोला कुमार र मोहम्मद रहिस छन् । 

 

प्रहरी अनुसन्धानमा सावित्रीको हत्या उनकी छोरीले प्रेमीको सहयोगमा योजनाबद्ध ढङ्गले हत्या गरेको खुलेको छ । हत्यामा संलग्न भट्टराईका प्रेमी मोहम्मद नौसादलाई प्रहरीले आइतबार राती धादिङको गजुरीबाट पक्राउ गरेको थियो । 

 

मृतककी छोरी इश्वरी र मोहम्मद नौसादको पति हुँदा हुँदैको अनैतिक  प्रेम सम्बन्धका कारण हत्या भएको अनुमान महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीहरुले गरेका छन् । 

 

प्रहरीका अनुसार हत्या गरिएकी महिलाको घर सिन्धुपाल्चोक हो । उनी भक्तपुरमा आफ्ना कान्छा ज्वाइँको घरमा बस्दै आएकी थिइन् । श्रीमानले अर्की श्रीमती बिहे गरेपछि उनी कान्छी छोरी–ज्वाइँको घरमा बस्दै आएकी थिइन् ।

 

‘छोरी र उनको प्रेमीबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यो बाहिर आउने डरले हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ अपराध महाशाखाले जनाएको छ ।

 

इश्वरीले प्रेमी नौसादसँग मिलेर आमा मार्नेलाई १२ लाख रुपैयाको ‘सुपारी’ दिने सहमति गरेकी थिइन् । हत्याकै लागि भारतबाट मोहम्मद रइसलाई बोलाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।