राजनीति

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

प्रधानमन्त्रीलाई मिसन पत्रकारिताले ‘पेल्यो’!

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस जगत्ले आफूलाई खेदो खनेको विश्लेषण गर्दै भनेका छन्, ‘मलाई मिसन पत्रकारिताले पेल्यो ।’

पछिल्लो पटक प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयको ६०औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन जाँदा हिलोमाथि ओछ्याइएको रातो कार्पेटमा हिंडिरहेको तस्बीरसहितको समाचार प्रकाशित–प्रसारित गरिएपछि सो ‘दुखेसो’ पोखेका हुन् । 

सञ्चारविद् तथा पत्रकारिताका गुरु रामकृष्ण रेग्मी भन्छन्, मिसन पत्रकारिता स्वयंमा खराब होइन, यसले के मिसन लिएको छ, त्यसले खराब हो कि ठीक हो भन्ने कुराको निर्णय गर्दछ । ‘विगतमा नेपाली प्रेसले प्रजातन्त्रका पक्षमा मिसन पत्रकारिता गर्यो‍, त्यसलाई कसरी नराम्रो भन्ने ?’ 

रेग्मीले प्रश्न गरे, बृहत् प्रजातान्त्रिक मूल्य–मान्यता, मानवीय हित र स्वतन्त्रताका पक्षमा मिसन पत्रकारिता गरिनुपर्छ, यसरी गरिने पत्रकारिता ठीक हुन्छ, तर निहित स्वार्थका लागि वा ब्यापारिक हितमा गरिने मिसन पत्रकारिता सही हुँदैन, यसलाई स्वीकार गर्न सकिन्न ।

‘हामीकहाँ सन्तुलनको समस्या हो, समानुपातिक ढंगले विषयलाई ग्रहण गर्न नसक्दा समस्या सिर्जना भएको हो’ उनले अर्थोपार्जन नगरी प्रेस जोगिन्न भन्दै संस्था जोगाउन गरिने मिसनलाई सही ठान्ने मानसिकता आजको मूल समस्या भएको उल्लेख गरे ।

करिब दुई शताब्दीदेखि प्रकाशित हुँदैआएको बेलायती अखबार गार्जियनका प्रधान सम्पादक क्याथरिन भाइनर एक लेखमा भन्छन्, असामान्य र अस्थिर अवस्थामा प्रेसको पहिचान हुन्छ, यस्तो बेला ठीक मिसनलाई समातेर जुन मिडियाले पत्रकारिता गर्छ, त्यसबाट उसको पहिचान बन्छ । मिसन पत्रकारिताको आवश्यकता आजको बदलिंदो अवस्थामा अझ बढेको उनको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो।

केपी शर्मा ओली