समाचार

बाढी पहिरोको त्रास कायमै, हालसम्म ७८ जनाको मृत्यु

बाढी पहिरोको त्रास कायमै, हालसम्म ७८ जनाको मृत्यु


काठमाडौँ । केही दिनदेखि जारी वर्षापछिको बाढी, पहिरो र डुबानका कारण हालसम्म ७८ जनाको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यस किसिमका प्राकृतिक विपत्तिमा परी हालसम्म ३२ जना बेपत्ता भएका छन भने ४० जना घाइते भएका छन् ।

 

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, यही असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका छन् ।  केन्द्रका प्रमुख वेदनिधि खनालले प्राकृतिक विपत्तिमा परेका घरधुरीका परिवारलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको जानकारी दिनुभयो । 


अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएका छन् ।

 

त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले राहत वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ । 

 

प्रदेश नं २ को सरकारले उद्धार तथा राहतमा खर्च गर्ने गरी आठवटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि रु १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक परिवारलाई प्रतिमृतक तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ । 
 

विशेष