समाचार

‘भारतले चाहेर पनि कोशी ब्यारेजका ढोका बन्द हुँदैनन्’ (भिडियोसहित) 

‘भारतले चाहेर पनि कोशी ब्यारेजका ढोका बन्द हुँदैनन्’ (भिडियोसहित) 

काठमाडौं । कोशी ब्यारेजमा भारतले चाहेर पनि ढोका बन्द गरिरहन नसक्ने जिओ टेक्निकल इञ्जिनियर रमेश कार्कीले बताएका छन् ।

नेपालआजसँगको कुराकानीका क्रममा उनले बाँधदेखि माथिल्लो भाग अर्थात नेपालतिर पानी बढी जम्मा गर्नाले बाँध नै जोखिमा पर्ने उनले टिप्पणी गरे । कार्की भन्छन्, ‘पानीको चापले बाँध भत्कियो भने त्यसबाट भारतीय भूमिमै बितण्डा मच्चिन्छ । भारतले व्यारेजको ढोका खोल्ने बन्द गर्ने भनेको पानीको मात्रा हेरेर हो । त्यो इञ्जिनियरिङ सिस्टमका आधारमा हुन्छ ।’

नेपालमा ब्यारेजका ढोका खोल्ने बन्द गर्ने विषय राजनीतिक प्रवृत्तिको हुने गरेको कार्कीले बताए । उनले भने, ‘ कति हाइटमा कति ढोका खोल्ने, कति बन्द गर्ने भन्ने सिस्टम हुन्छ । ब्यारेजको ढोका नै खोलिएन भन्ने हल्ला पनि आउँछ ।  यो ‘ले म्यान’हरुले वा राजनीतिक हिसाबले हल्ला चलाइएको हो ।’

तराईमा वर्सेनि हुने डुबानको समस्या केही भारतले आफ्नो क्षेत्रमा बनाएका बाँध त केही अरु कारणले निम्तिएको हो । उनले भने, ‘तराईमा सधै बाढीको समस्या छ । भारतले बाँधेको बाँधले पनि तराईमा डुबान हुन्छ । बाँधले सधै समस्या हुन्छ भन्ने पनि होइन । बाँधले पानी नियन्त्रण गर्छ र सबैतिर जलमग्न हुँदैन । यसका केही फाइदा पनि छन् । बाँधका कारण पानीको उचाई बढ्छ र त्यसले डुबान निम्त्याउछ ।’

काठमाडौंकै वस्तीहरुमा पनि हरेक वर्ष खोला पस्न थालेको छ । यसको कारणबारे कार्कीले घर, भवन निर्माणमा भएको त्रुटि देख्छन् । खोलालाई साँघुरो पार्ने काम भएको छ । अर्कोतिर घरहरुको भूई जमिनबाट ठिक उचाईमा छैनन् ।

उनले भने, ‘नेपालको तराईमा बाढी र पहाडमा पहिरो वर्सेनिको समस्या भएको छ । काठमाडौंमै पनि खोलाहरु बस्ती पस्न थालेका छन् । काठमाडौंका अपार्टमेन्टहरुमा पानी पस्यो । अपार्टमेन्ट बनाउनेहरुले कहिले पनि यो सोचेनन् कि यहाँ खोला पस्छ भन्ने । खोला भन्दा पाँच छ सय मिटर पर हुँदा पनि अपार्टमेन्ट डुबानमा पर्न थालेको छ । कारण के हो भने खोलामा पानीको सतह कतिसम्म होला र अपार्टमेन्टे भुईँको उचाई कति हो, भन्ने कुराको राम्रो विश्लेषण भएन । खोलाले उचाई लिँदा पानी कम उचाईमा गइहाल्छ । घरको भुईँको सतह नबढाई घर बनाउने दिने महानगरको त्रुटि हो । यस्तो समस्या हरेक वर्ष आउनेछ । काठमाडौंका तल्लो लेभलमा रहेका सबै बस्तीहरु प्रभावित हुन सक्छ ।’

विशेष