समाचार

वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, बाजुराका ९५ बस्ती उच्च जोखिममा

वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित, बाजुराका ९५ बस्ती उच्च जोखिममा

कैलाली । असार महिना सकिनै लाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै गएको पहिरोले दार्चुला र बाजुरामा बढी जोखिम देखिएको छ । कैलालीमा पर्ने सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह बढे पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाइएको छ । कर्णालीमा बिहीबार बिहान पानीको सतह ६.६३ मिटर पुगेको छ ।  कर्णाली नदीमा ११ मिटरभन्दा माथि पानीको सतह पुगेमा तल्लो तटीय क्षेत्रका लागि खतरा मानिन्छ । यसैगरी, साना नदीहरूमा पनि पानीको सतह बढेको छ । बाजुरा जिल्लाको सबैभन्दा ठूलो नदीका रूपमा चिनिँदै आएकोे बूढीगङ्गा नदी पहिरोका कारण थुनिने सम्भावना छ । 

 

बडिमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने द्वारीस्थित बूढीगङ्गा नदीमा त्रिवेणी नगरपालिकाको–९ पैमाको उत्तरपट्टिबाट पहिरोले ठूला ढुङ्गा र रुख ल्याएर नदीमा थुप्रिएको छ । यसबाट नदी थुनिने सम्भावना छ । नदी थुनिएमा आसपासका त्रिवेणी नगरपालिकाको–९ पैमा र बूढीगङ्गा नगरपालिकाको अम्कोट र बल्देमा रहेका बस्ती पहिरोको उच्च जोखिममा पर्ने त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलले बताए । नदी थुनिन सक्ने सम्भावनाबारे गृह मन्त्रालयलाई समेत जानकारी गराइसकिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । 

 

नदी थुनिने सम्भावनासँगै खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे–मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन् । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर र साँफेबगरमा पनि उच्च सतर्कता अपनाइएको छ । विगतमा बूढीगङ्गा नदी विभिन्न स्थानमा थुनिँदा, सेराफाँटा, मौरेफाँट र अछामको आरदवाल, बूढाबगरको खेतीयोग्य फाँटहरू बगर बनिसकेका छन् । 

 

बाजुराका ९५ बस्ती उच्च जोखिममा 
बाजुराका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले गत फागुनमै विपद् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको छ । तीमध्ये सबैभन्दा बढी त्रिवेणी र बडिमालिका नगरपालिका उच्च जोखिममा छन् । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थानान्तरण गर्नुपर्ने निर्णय गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको थियो । 

 

त्यस्तै त्रिवेणीपछि बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं। १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिस गरेको छ ।

 

साँफे–मार्तडी–कोल्टी सडक अवरुद्ध
यस्तै दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । बार्जुगाड खोला हुँदै सदरमुकाम मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । उनले अवरुद्ध सडक सञ्चालन गर्नका लागि सडक डिभिजन कार्यालय साँफेलाई खबर पठाइएको पनि जानकारी दिए । 


बिहीबार बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजार भन्दामाथि आउन नसकेकोे जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए । बाजुराको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पनि अवरुद्ध बनेको छ । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडकहरू अवरुद्ध बनेका हुन् । 

 

पहिरोले १२ परिवार विस्थापित
महाकाली नगरपालिका–९, दत्तुमा सडक निर्माणका क्रममा खसेको पहिरोका कारण करिब १२ परिवार विस्थापित भएका छन् । निर्माणाधीन दत्तु–थाप्ला सडक खण्डमा जम्मा भएको माटोले पहिरोको रूप लिएपछि अन्य २१ परिवार पनि विप्दको जोखिममा छन् । महाकाली नगरपालिका–९ दत्तुका वडाध्यक्ष हरसिंह डाँगाले भने, ‘तीन दिनदेखि भइरहेको वर्षाका कारण बुधबार रातिदेखि पहिरो गएको हो । पानी नरोकिएसम्म पहिरो बढ्दै जाने खतरा छ । वडाध्यक्ष डाँगाका अनुसार पहिरोको जोखिमयुक्त क्षेत्रमा तारजाली लगाउने लगायत पहिरो रोकथामको प्रयास भइरहेको छ ।  

 

धनगढीमा डुबान
कैलालीको केही ठाउँ डुबानमा परेका छन् । बुधबार राति र बिहीबार बिहान भएको वर्षाले धनगढीको हसनपुर, एलएन चोक, कनरीलगायत क्षेत्र डुबानमा परेको हो । जिल्लाको कर्णाली, मोहना, पथरैया, कान्द्रा, काँढा, खुटियालगायतका नदीमा बाढी आएको छ । यसैगरी, खोलानालामा पानीको सतह बढेको छ । सबै नदीमा पानीको सतह बढे पनि अवस्था सामान्य रहेको आपतकालीन कार्यसञ्चालन केन्द्रमा कार्यरत चेतन खड्काले जानकारी दिए । गोरखापत्र दैनिकबाट 

सुदूरपश्चिम क्षेत्र