समाचार प्रदेश ७

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

मार्तडी । लगातार दुई दिनको अविरल वर्षासँगै साँफे–मार्तडी राजमार्ग सडक अवरुद्ध बनेको छ । लगातारको वर्षाले बार्जुगाड खोला हुँदै मार्तडीसम्म पुग्ने सडकको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै यातायातका साधनसमेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए ।

 

उनले बार्जुगाड हुँदै गुईगाड खोलाको पुल नजिकै, बल्दे, अम्कोट, तिपाडालगायतका ठाउँमा माथिबाट पहिरो आएपछि यातायात सडक अवरुद्ध बनेको बताए । आज बिहानैबाट ठाउँठाउँमा पहिरो आएपछि लामो दूरीका बस बाम्का बजारभन्दा माथि आउन नसकेको यात्रु विजयनारायण यादवले बताए । 

 

राजमार्गका सडक अविरल वर्षाका कारण अवरुद्ध बनेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । अवरुद्ध सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेलाई खबर गरी कार्यालयबाट जेसिभी पठाएपछि अवरुद्ध बनेको सडक सञ्चालनमा आउने उनको भनाइ थियो । साँफे–मार्तडी राजमार्ग सडक अछाम जिल्लाका बुढाबगरलगायतका ठाउँमा पनि पहिरो गएकाले पहिरो पन्छाउन सडक डिभिजन कार्यालयलाई खबर गरिसकेको प्रजिअ न्यौपानेले बताए । 
 

साँफे–मार्तडी राजमार्ग