भिज्नु होला है, छाता लिएर निस्कनुस्

भिज्नु होला है, छाता लिएर निस्कनुस्

तपाईं घरबाहिर निस्कदै हुनुहुन्छ ? पैदल, दुईपांग्रे या चारपांग्रे साधनमा । यदि त्यसो हो भने छाता, रेनकोट बोक्न नबिर्सनु है । एकछिनको सफा मौसम देखेर अनुमानका भरमा निस्कनु भयो भने तपाईं जतिबेला पनि झरीको फन्दामा पर्नसक्नुहुन्छ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले  देशभर वर्षा भइरेहको छ । अझै दुई, तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक,दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद्का अनुसार विशेष गरी बुधबार र विहिवार यो क्रम जारी रहनेछ । 

त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू–भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरा १३, सिमरा ३४, वीरेन्द्रनगर ५, दिपायल १०, दाङ २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ ।

यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ ।

जल तथा मौसम

संम्बधित खबर