समाचार Breaking News देश राजनीति

दुवै अध्यक्षले गृहकार्य गर्ने भनेपछि नेकपा सचिवालय बैठक अनिश्चित

दुवै अध्यक्षले गृहकार्य गर्ने भनेपछि नेकपा सचिवालय बैठक अनिश्चित


 पार्टी एकता र आन्तरिक विवाद समाधानका लागि भन्दै सोमबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । 

पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच थप गृहकार्यको खाँचो रहेकाले बैठक स्थगित भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री आलोपालो प्रणालीमा चलाउने भनेर यसअघिको सहमति सार्वजनिक गरेका थिए । 

प्रचण्डले सहमति भएको सार्वजनिक गरेलगत्तै एक सार्वजनिक कार्यक्रममा नेकपामा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता खलबल्याउने प्रयास भएको भन्दै असन्तुष्टि जनाएका थिए ।


पार्टीका दुवै अध्यक्ष सार्वजनिक कार्यक्रममा असन्तुष्टि जनाउन थालेपछि आइतबार बिहान बालुवाटारमा ओली र प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपालले छलफल गरेका थिए । छलफलपछि आज सोमबार सचिवालयको बैठक डाकिएको थियो ।


नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि पोलिटव्यूरो गठन, केन्द्रीय विभागको गठन, केन्द्रीय सदस्यको कार्यविभाजनको टुंगो लाग्न सकेको छैन । त्यस्तै संगठन विभाग, स्कुल विभाग, विदेश विभाग, प्रचार–प्रसार विभाग र आर्थिक विभागको नेतृत्व कसलाई दिने भन्नेमा पनि शीर्ष तहमा सहमति जुटिसकेको छैन । सचिवालयको बैठक डाकिएपनि दुवै अध्यक्षले आफूहरुबीच गृहकार्यको खाँचो रहेको बताएपछि बैठक तत्कालका लागि स्थगित गरेको नेकपा प्रवक्ता श्रेष्ठले जानकारी दिए ।