पर्यटन

‘होम स्टे’को क्रेज (फोटो फिचर)

‘होम स्टे’को क्रेज (फोटो फिचर)

नेपालमा पर्यटकीय गतिविधि बढेसँगै पछिल्लो समय ग्रामीण पर्यटन प्रवद्र्धनको दरिलो माध्यम बन्दै गएको छ– ‘होम स्टे ।’ नेपालीमा जसको अर्थ हुन्छ– घरबास सेवा ।  यो पर्यटकलाई स्थानीय रुपमा आवास, भोजन र लोकसंस्कृतिको मनोरञ्जन दिन आफ्नै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिने सेवा हो ।

स्थानीय तहमा स्वरोजगारी बढाएर जनताको आर्थिकस्तर उकास्न र ग्रामीण पर्यटन पूर्वाधारको विकास गर्न यसको महत्वपूर्ण भूमिका देखिन्छ ।  सानो लगानीमा आफ्नै घरमा पाहुनालाई सत्कार गर्ने यो व्यवसायले स्वदेशी तथा विदेशी पर्यटकको मन जित्न थालेको हो । सहरका सुविधासम्पन्न तारे होटलमा रमाउने विदेशी पर्यटकसमेत नेपाली संस्कृतिको अनुपम आतिथ्यको अनुभव गर्न पछिल्लो समय घरबासको आनन्द लिन थालेका छन ।

 

विदेशी मात्र आन्तरिक पर्यटकमा समेत यसको आकर्षण बढ्दै गएको छ । अझ टीनएज पुस्ताले संस्कार, संस्कृति र स्थानीय स्वादको यो अपूर्व मिलनलाई अत्यन्तै रुचाएको देखिन्छ । शहरका विद्यालयहरुले पनि वार्षिक पात्रोमा राखिने शैक्षिक भ्रमणमा होम स्टे प्याकेज समेट्ने गरेका छन् । यसको आकर्षण बढे पनि मापदण्डअनुरुप सञ्चालन नहुँदा, आवश्यक पूर्वाधारको विकास तथा दक्ष जनशक्तिको अभाव रहँदा यो सेवा सोचेजस्तो प्रभावकारी हुन सकेको छैन ।

पर्यटकको आकर्षण, स्थानीय स्रोत साधनको उपयोग र रोजगारीको अवसर दिने भएपनि भौतिक पूर्वाधार र पर्याप्त जनशक्तिको अभावमा यो अभियान चुनौतीपूर्ण बन्दै गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ग्रामीण तथा सहरी भेगमा पनि होम स्टेको माध्यमबाट पर्यटनको विकास, प्रवद्र्धन, व्यवस्थापन र नियमन गर्न ल्याएको कार्यविधि अनुसार होम स्टे सञ्चालन हुनुपर्ने प्रावधान छ ।  निश्चित मापदण्ड पूरा गरी अलगअलग स्वामित्वका कम्तीमा पाँच वटा घरधनीले सामूहिक व्यवस्थापन गरी सञ्चालन गरेको होम स्टेलाई सामुदायिक ग्रामीण तथा सहरी क्षेत्रमा निजीस्तरमा सञ्चालितलाई निजी होम स्टे भनेर छुट्याइएको छ । अहिले देशभर १५ सय बढी होम स्टे सञ्चालनमा छन् । 

स्थानीय क्षेत्रमा सञ्चालन हुने सांस्कृतिक क्रियाकलाप, परम्परागत खेलमा सहभागी गराउने, उपलब्ध हुने क्षेत्रमा जङ्गल पदयात्रासहित वन्यजन्तु तथा चरा अवलोकन, वातावरणीय पदयात्रा तथा सांस्कृतिक सम्पदा, संग्रहालय, घरेलु तथा हस्तकला सामग्री उत्पादन केन्द्र स्थल दृश्यावलोकनको कार्यक्रम हुनुपर्ने मापदण्ड यसमा तोकिएको छ । साथै फूलमालाका साथ पर्यटकको स्वागत गर्ने, सामूहिक भवन वा खुला ठाउँमा मौलिक सांस्कृतिक कार्यक्रमको प्रस्तुति मेला, जात्राजस्ता गतिविधि आयोजना गर्नुपर्ने छ ।

सामुदायिक होम स्टे चलाउन घर, कोठालगायत भिन्न स्वामित्वका कम्तीमा पाँच घर हुनुपर्ने छ । स्याङ्जाको सिरुबारीबाट स्थानीय रुद्रमान गुरुङले व्यावसायिक रुपमा नेपालमा होम स्टेको सेवा सुरु भएपछि घान्द्रुकप घलेगाउँ हुँदै देशका कुना–कुनामा यो सेवा फैलिएको छ ।

२०११ देखि होम स्टे सेवालाई सरकारले विशेष प्राथमिकता दिएर काठमाडौँको कपनमा राष्ट्रिय कार्यशाला गरी सहरी होम स्टे सुरु गरियो । धेरै जिल्लामा उत्साहित भएर सेवा विस्तार भयो तर होम स्टेसम्म पुग्ने सडक, खानेपानीजस्ता न्यूनतम मापदण्ड भने पुग्न सकेको छैन । एसियाकै उत्कृष्ट होम स्टेको पुरस्कार पाएको लमजुङको घलेगाउँ समेत गाउँमा युवा जनशक्ति नहुनु, स्तरीय सेवा, स्थानीय संस्कृति र खानपानको व्यवस्था सहज नभएको गुनासो आउन थालेको छ । 

श्रीलङ्का, थाइल्याण्ड, भियतनाम, इन्डोनेसिया र पूर्वी युरोपमा होम स्टे फस्टाएको देखिन्छ । भियतनाममा यो लोकप्रिय छ । यहाँ पुग्ने ५० प्रतिशत पर्यटक होम स्टेमै बस्छन् । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर, चितवन, नवलपरासी रुपन्देही, लमजुङ, कास्की, स्याङ्जा, गोरखा, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुरसहित पूर्वका इलाम, धनकुटा, सुनसरीमा पनि यो सेवा व्यावसायिक रुपमा चल्न थालेको छ ।

सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । नेपाल भित्रिएका पर्यटकले होम स्टे सेवा पाए भने तिनीहरुको बसाई लम्बिने मात्र होइन, फेरि फेरि आउन बाटो खुल्छ । नेपाल आउने अधिकांश पर्यटकको गन्तव्य काठमाडौं बाहिर हुने गर्छ । उनीहरुलाई नेपाली संस्कार र संस्कृतिप्रति आकर्षित गर्न सके नेपालको पर्यटनमा थप आयाम थपिनेमा शंका छैन् ।

 
 

पर्यटकीय गतिविधि घर समुदाय