कभर स्टोरी अन्तरवार्ता भिडियो

देश ‘फेइलर स्टेट’ भइसक्यो, घोषणा हुन मात्रै बाँकी हो (भिडियोसहित)

देश ‘फेइलर स्टेट’ भइसक्यो, घोषणा हुन मात्रै बाँकी हो (भिडियोसहित)

तारानाथ रानाभाट पूर्वसभामुख हुन् । उनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री पनि हुन् । कम उमेरमै महामन्त्रीसम्म भएका रानाभाट अहिले राजनीतिबाट केही टाढा छन् । आखिर उनी के गर्दैछन् ? उनको व्यस्तता के मा छ ? यो बुझ्न हामी हात्तीगौडास्थित उनको निवासमा पुग्यौं । प्रस्तुतः छ उनीसँग भएको कुराकानीको सारः 

 

राजनीतिको त्यो उचाईमा पुग्नु भएको मान्छ, अहिले किन ओझेलमा पर्नुभयो ? 
म कम उमेरमै नेपाली कांग्रेसको महामन्त्री भएको मान्छे हुँ । मेरो पिताजी पनि राष्ट्रिय कांग्रेसमा हुनुहुन्थ्यो । पार्टी एकीकरण भएपछि बनेको नेपाली कांग्रेसमा पनि बुवा रहनुभयो । मैले पनि बुबाले देखाउनु भएको राजनीतिक संस्कारलाई समातेर अनवरत राजनीतिमा होमिएँ । त्यो क्रममा मलाई पार्टीको महामन्त्री हुनेदेखि मन्त्री, सभामुखको जिम्मेवारी निर्वाह गर्नेसम्मको अवसर प्राप्त भयो । हामीले जेलनेल पनि खेप्यौं । बुबाले पनि राजनीतिमा प्रवेश गरेका कारण यातना भोग्नुभयो । मेरो परिवारका नौ जनाले प्रताडना खेपेको थियो । जनताले पनि मूल्यांकन गरे, पार्टीले पनि अवसर दियो । जुन मेरो सौभाग्यको कुरा पनि हो । तर मेरो निष्ठासँग भयभित भएकाहरु, मसँग प्रतिस्पर्धा गर्न नसकक्नेहरुले मलाई पाखा लगाए । तर म राजनीतिमा निष्क्रिय भने छैन । 

 

शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री भइसक्नु भएको छ । ७० वर्षको उमेरमा अझै पनि प्रधानमन्त्री हुन पाइन्छ कि भनेर दौडिरहनु भएको छ । तपाईंको त उमेर त्यस्तो ढल्केको पनि देखिँदैन ? किन दौड त्याग्नु भएको ? 
राजनीतिमा उमेर हद हुँदैन । राजनीतिक सक्रियताले नै बुढो र भर्खर निर्धारण गर्छ । संसारमा ९५ वर्षका मान्छे पनि कार्यकारी प्रमुख भएका उदाहरण छन् । कतिपयले कम उमेरमै राजनीतिबाट सन्यास पनि लिएका छन् । यसकारण म अहिले यत्ति भन्छु कि म राजनीतिमा सक्रिय छु, राजनीति त्यागेको छैन । 

">

हिजोआज के गरेर दिन बिताउँदै हुनुहुन्छ ? 
म धेरैजसो समय अध्ययन अनुसन्धानमै खर्च गर्छु । अहिले तपाईंहरु आउँदा पनि म पढि नै रहेको थिए । पत्रपत्रिका पनि नियमित पढ्छु । मेरो आमा १ सय वर्षको हुनुहुन्छ । पोखरामा बस्नु हुन्छ । अवस्था राम्रो छैन । आमाको सेवामा पनि बेलाबखत गइरहेको हुन्छु । ं

 

देशको अवस्था चाहिँ कस्तो छ ? 
हामी असफल राष्ट्र बनिसकेका छौं । घोषणा हुन मात्रै बाँकी हो । आर्थिक, सामाजिक,  राजनीतिक, सांस्कृतिक क्षेत्रका दुर्घटनाहरुले हामी असफल राष्ट्रका जनता भएका छौं । शक्ति केन्द्रहरुको प्रयोगशाला भएको छ । महाभारत र महाचीनविरुद्ध खेल खेल्नेहरु पनि छन् । भारतविरुद्ध खेल्न खुला बार्डरले केही तत्वलाई फाइदा पुगेको छ । दुई तिहाईको सरकार छ तर त्यो बोझले उ आफै थिचिने जस्तो देखिएको छ । यो सरकार पनि अब आफ्नै कलहले सकिएला जस्तो लाग्छ । 

 

कांग्रेस शक्तिशाली दल, तर अहिले कांग्रेस किन यति कमजोर भयो ? 
हामी त बहुमत पनि नरुचाउने पार्टीका कार्यकर्ता हौं । बहुदल आएपछिको चुनावमा जनताले हामीलाई स्पष्ट बहुमत दिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुभयो । अढाई वर्ष शासन पनि चलाउनु भयो । तर उहाँलाई बहुमत पनि पचेन । मध्यवाधि निर्वाचनको घोषणा गरिदिनु भयो । त्यो बिन्दुबाट कांग्रेसको ओरालो यात्रा शुरु भएको हो । गिरिजाप्रसाद त्यो बेला कसरी खेलौना बन्नुभयो भन्ने बुझन सकेको छैन । ५१ सालमा जे बिउ रोप्नुभयो गिरिजाबाबुले अहिले फल लागिरहेको छ । संसारले मान्यता दिएको, पूर्ण लोकतान्त्रिक पार्टीको यो हालत हुनु राम्रो कुरा होइन । हामीले विदेशी नेताको फोटो भित्तामा टाँसिरहन पर्दैन । हाम्रै विपी कोइराला, शुवर्ण शमशेर, गणेशमान, कृष्णप्रसादजस्ता नेता हामीले पाएका थियौं । 

 

कांग्रेसमा हिन्दुत्व, राजसंस्थाका विषयमा पनि फरक धारणा राख्नेहरु छन् नी ? 
हामीले आफ्नो माटोमा उभिएर निर्णय गर्नुपर्छ । हाम्रो माटोले जे माग्छ, त्यो गर्नुपर्छ । हामी संविधान बनाउने बेलामा हामीले त्रुटि गरेका छौं । हामीले अरुको प्रभावमा संविधान बनायौं । हामी स्वतन्त्र राष्ट्रका जनता हौं । कांग्रेसले राणाहरुलाई हटाएर जनताको शासन व्यवस्थाको थिति बसाल्यो । नेपाली कांग्रेसले आफ्ना नीति र घोषित कार्यक्रममा इमानादर नहुँदा समस्या भयो । किन धर्मनिरपेक्षता चाहियो, किन संघीयता आवश्यक भयो ? किन गणतन्त्र चाहियो ? यो मैले बुझेको छैन । फेरि म गणतान्त्रिक परिपाटी चाहिँ होइन । हिजोको नक्कल गर्नका लागि गणतन्त्र ल्याइएको होइन । कांग्रेसमा दुई धार छ । त्यो दुई धारको बीचमा रहेर खेल्न चाहने शक्तिहरु पनि छन् । संघीयताको खर्च त देशले धान्नै सक्दैन । करको भार अधिक थोपरिएको छ । हाम्रो देश भनेको हिन्दुहरुको हो । हिन्दुत्व नै हाम्रो पहिचान हो । षडयन्त्रपूर्वक धर्मनिरपेक्षता लागू गरिएको हो । 

 

धर्मनिरपेक्ष राष्ट्रका राष्ट्रपतिले शिवरात्रि धुमधामले मनाउने हो भने मुसलमानको रोजा पनि बस्नु पर्ने, क्रिष्चियनको क्रिसमस पनि मनाउनु पर्ने होइन ? 
राष्ट्रपतिको आडम्बर हो । हिन्दु परम्परामा जबसम्म राजतन्त्र थियो, श्रीपेचधारी राजालाई विष्णुको अवतार भन्ने गरिन्थ्यो । महिला राष्ट्रपतिलाई विष्णुको अवतार भन्न नमिल्ला । तर राजाकै शान, सौकतले उहाँ मन्दिर मन्दिर डुल्नु हुन्छ । उहाँलाई पनि आफू विष्णुको अवतार नभए पनि लक्ष्मीको अवतार हुँ भन्ने लाग्छ कि ? राष्ट्रको धर्म नहुने भइपछि राष्ट्र प्रमुखले राजकीय हैसियतमा कुनै एक धर्मको प्रबद्र्धन गर्नु हुँदैन । 


 

नेपाल फेरि राजसंस्थामा फर्केला ? 
हामी प्रजातान्त्रिक पद्धतिमा छौं । जनताले यस्तो माग राखेका छन् । किनभने उनीहरुलाई अभिव्यक्ति स्वतन्त्रता छ । चाहना मात्रै राजनीतिक परिवर्तन हुँदैन । अहिले पनि राजसंस्थाको चाहना राख्नेहरुका कारण मात्रै राजसंस्था आउने होइन । क्रान्ति, आन्दोलन, संगठन नभई राजसंस्था फर्किदैन । 

    

हाम्रो देशमा हत्या हिंसाबाट नै राजनीतिक शक्ति प्राप्त हुन्छ भन्ने मान्यता स्थापित भएको छ, यहाँलाई कस्तो लाग्छ ? 
हामी आफ्नो धरातलमा उभिएर काम गर्दैनौं । शक्ति केन्द्रको पालनपोषणमा हामी विभाजित भएका छौं । कविलाहरुको जस्तो नियति हामीले भोगिरहेका छौं । आजको २१ औं शताब्दीमा पनि यस्तो हुनु राम्रो कुरा होइन । यो देशमा संविधान त शक्ति केन्द्रहरुका लागि लागू गरिन्छ भने बाँकी के कुरा रह्यो र ?

 

 

चुनावको बेला शेरबहादुर देउवाले ‘कम्युनिष्टको शासनमा रुन पनि पाइँदैन’ भन्नु भएको थियो । तपाईंलाई अहिले त्यस्तो लाग्छ ? 
मैले त उत्तर कोरियाको शासन पनि हेरेको छु । अध्ययन गरेको छु । कम्युनिष्ट मुलुक चीन अमेरिकालाई उछिन्न लागि सकेको छ । कम्युनिष्ट शासन इमान्दार भएर लागू गर्दा नराम्रो हुँदैन । शासन पद्धति भन्दा पनि शैली महत्वपूर्ण कुरा हुँदो रहेछ । कम्युनिष्ट भन्दैमा सबै खराब नै हुन्छन् भन्ने कुरा म पत्याउँदिन । तर शासनको शैली सही हुनुपर्छ । 


 

दरबार हत्याकाण्डको छानविन गर्ने समितिको एक सदस्य हो तपाईं । रिपोर्ट पनि बुझाउनु भयो  । तर रिपोर्टमा धेरैले शंका गरे । किन त्यस्तो भयो ? 
हामीलाई अनुसन्धान गर्ने भन्दा पनि जीवीत सदस्यहरुको कुरा सुन्ने र लिपिबद्ध गरेर बुझाउने खालको म्यान्डेट दिइएको थियो । हामीले हत्याकाण्डमा बाँचेकाहरुको भनाइ सुन्यौं । रेकर्ड गर्यौं । लिपिमा उतारेर राजालाई बुझायौं । राजाले प्रतिवेदन खोल्दै नखोली प्रधानमन्त्रीको हातमा राखिदिए । हामीलाई त्यो बेला झारो टार्ने समितिको सदस्यको रुपमा प्रयोग मात्रै गरिएको रहेछ भन्ने यति बेला बुझ्दैछु । हत्या गर्ने जो सुकै होस्, गृह मन्त्रालयले मुद्धा दर्ता गरेर अनुसन्धान गर्नु पथ्र्यो । गिरिजाप्रसाद कोइराला पनि बोल्नु भएन । हामीलाई जे गर्न भनिएको थियो । त्यो गरेर काम सम्पन्न गर्यौं । प्रतिवेदनमा चित्त बुझ्नु नबुझ्नु त्यो एक कुरा हो । हामीले चाहिँ जस्तो कुरा जीवीतहरुले बताए, त्यही लेखेका मात्रै हौं । त्यसमा हाम्रो निष्कर्ष थिएन । निष्कर्ष दिन पाउने अधिकार पनि थिएन । 

 ">

ADVERTISEMENT