मनोरञ्जन कला साहित्य भिडियो Breaking News अन्तरवार्ता कभर स्टोरी

वीपीले काँधमा हात राखेर भन्नुभयो, ‘ डेउडा गाउन नछोड्नू ’   (भिडियोसहित)

वीपीले काँधमा हात राखेर भन्नुभयो, ‘ डेउडा गाउन नछोड्नू ’   (भिडियोसहित)

नन्दकृष्ण जोशी नेपाल र नेपालीका लागि प्रिय नाम हो । अझ लोक तथा डेउडा क्षेत्रका त उनी मूर्धन्य स्रष्टा हुन् । २२ वटा डेउडा गीति एल्बम निकालेका र तीन सय बढी गीत रेकर्ड गराइसकेका जोशी राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै चर्चित छन् । 


जोशीको जन्म वि.सं. २०१५ साल साउन १५ गते  बझाङको तलकोटमा भएको हो । पिता जगदीश र माता गंगमतीका चार छोरा र तीन छोरी जन्मेका थिए। ती चार भाइमा नन्दकृष्ण एक हुन । सानोमा उनलाई नन्दकिशोर भनेर बोलाइन्थ्यो। 


उनका पिता धर्मकर्ममा धेरै विश्वास गर्थे । तलकोटमा सप्ताह, नवाह, सत्यनारायण गराउने उनका पिताले नाम फेरिदिनुभयो र नन्दकृष्ण राखिदिनुभयो । तलकोट क्षेत्रमा ६ गाविस छन् । ती ६ वटा गाविसबाट एम.ए.बराबरको पढाई सक्ने उनी पहिलो हुन् । आफूलाई अगाडि बढाउन सधैं हौसला दिने दाजुहरू शुकदेव र देवीचन्द्रलाई सम्झन्छन् ।


जोशी नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद हुने दोस्रो सुदुर पश्चिमेली हुन् । पहिलो चाहिं साहित्यकार देवीप्रसाद ओझा हुन् । जोशी जनआन्दोलन २ लगायतका विभिन्न आन्दोलनमा गरी ४० पटक  बढी थुनामा परे । 


नयाँ राष्ट्रियगानको चयन समितिमा पुगेका जोशीले देउडा गायनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आफनो जीवन समर्पण गरेका छन् । 
२०३४ सालमा काठमाडौं प्रवेश गरेका जोशीले २०४३ सालमा रेडियो नेपालमा पहिलो पटक गीत रेकर्ड गराए । त्यो गीत छमक्क छमक्क नेपालगंज बजारमा ...बोलको थियो । पछि २०४४ सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत प्रतियोगितामा उनी प्रथम भए । त्यो बेला उनले ओ वाज झुम्रेली बाज बोलको गीत प्रस्तुत गरेका थिए । 

">
बझाङबाट काठमाडौं आएका जोशीले २०४४ सालमा काठमाडौं चाबहिल निवासी प्रार्थना खनालसँग विवाह गरे । उनको यो मागी विवाह थियो । केटी मान्छेसंग कुरा गर्न बहुत लजाउने जोशीले भने, ‘त्यो बेला म दाइसँग केटी हेर्न भनेर गए, जब प्रार्थना सामुन्ने आइन्, म बहुत नर्भस भएँ, अझ दाइको अगाडि केटी हेर्ने स्थिति मलाई सामना गर्न बडो कठिन भयो । ’


गायक जोशीको परिवार नै सांगीतिक छ । श्रीमती प्रार्थना, छोरा सुश्रुत र छोरी श्रृखंला सबै सांगीतिक छन् । सबैलाई गीत संगीत अति मनपर्छ । 


जोशी भन्छन्, ‘मेरी श्रीमतीको स्वर बहुत मीठो छ । छोरा सुश्रुत हाल बेलायतमा छ । उसले केही डेउडा गीत रेकर्ड गरेको छ । एकपटक त उसले सार्वजनिक समारोहमा गीत गाउँदा तत्कालिन राजकुमारी श्रुती ( राजा बीरेन्द्रकी छोरी ) ले सुश्रुतलाई दर्शन भेट दिंदै भेट्न समेत बोलाएकी थिइन् । छोरी शृखंला आधुनिक शैलीका गीत गाउँछिन् । अचेल मेरो पुराना डेउडा गीतलाई उनले रिमिक्स गरिरहेकी छिन् ।’


जोशीका अनुसार डेउडामा देखिएको परिवर्तनलाई धेरै नकारात्मकरुपमा लिन जरुरी छैन । समय कालखण्ड अनुसार देखा पर्ने परिवर्तनलाई स्वीकार गरेर हिंड्नुको विकल्प छैन । यसो भन्नुको अर्थ मौलिकता मासेर जे गर्दा पनि हुन्छ भन्ने चाहिं होइन । 


पछिल्लो समय गीतका भाका चोरीको चर्चा चलेको सन्दर्भमा उनी भन्छन्, ‘हो, यो बहस अहिले गलबन्दीको गीतका कारण प्रकाश सपुत र शम्भु राईकाबीचमा देखियो । म उहाँहरुलाई मिलेर जान सुझाव दिन्छु । विवाद नमिले प्रतिलिपि अधिकार सम्बन्धी निकायले दुवैलाई अन्याय नहुने गरी फैसला गर्नेछ भन्ने मेरो विश्वास छ । ’ 

">


‘चोरीका कुरा गर्ने हो भने सबैभन्दा बढी त मैले गाएका गीतका भाका चोरिएका छन् । यतिसम्म कि गीतका भाका जस्ताको तस्तै हाल्छन्, एक वचन पनि मैले यसो गरें है भनेर सोध्न पनि जरुरी ठान्दैनन् । गरी खाउन भनेर छोडिदिन्छु म त । अब दुनियाँसंग छुच्चो बनेर हिंडनु छैन मलाई ।’ जोशीको राय छ । 
जोशी नेपाल र नेपालीले सुख पाउनु नै आफनो जीवनको अभिष्ट रहेको ठान्छन् । अझ नेपाल भित्र पनि सुदूरपश्चिम बढी पिछिडिएकोले त्यसको विकासका लागि राज्यले विशेष पहल लिनुपर्ने उनको भनाइ छ । यसका लागि सरकार नै बढी जिम्मेवार हुनुपर्छ । सरकारले गर्ने काम एक दुई जना मान्छेले गर्छु भनेर हुँदैन । यसका लागि सरकार नै बढी गम्भीर हुन जरुरी छ । 


मेरो प्रेरणा भनेको शताब्दी पुरुष सत्यमोहन जोशी र वीपी कोइराला हुन् । मलाई २०६३ सालमा सत्यमोहन जोशीले डेउडा क्षेत्रमा अनवरत लाग्नु होला भनेर दिएको सुझाव मेरो दिमागमा सधैं घन्किरहन्छ । मलाई जोशीको लगाव, लगन, विद्धता र जीवनशैली एकदम मनपर्छ । 


यस्तै, २०३५ सालमा मलाई बीपी कोइरालासंग चावहिलमा भेट्ने मौका मिलेको थियो । त्यो बेला बीपीलाई घाँटीको क्यान्सर भैसकेको थियो । मैले बीपीको अगाडि डेउडा गीत गाएँ । बीपीले निकै खुशी हुँदै मेरो काँधमा हात राखेर डेउडा गीत, पश्चिमको कला संस्कृतिमा लाग्न दिएको ढाडस नै मेरो जीवनको सम्पत्ति हो । 

">


आज मलाई देश र जनताको भलाई बाहेक यो त्यो भन्ने कुनै कुराको चाहना छैन । मात्र एउटा चाहना छ  । म राजनीतिक व्यक्ति पनि हुँ । कांग्रेसको महासमिति सदस्य हुँ । मलाई एकपटक सांसदको हैसियतमा संसदमा दिल खोलेर डेउडा गीत गाउन मन छ । यो चाहना पूरा होला, नहोला थाहा छैन तर डेउडाको विकासका लागि मेरो प्रयास सदैव रहनेछ  । डेउडा त मेरो प्राण हो !