कभर स्टोरी भिडियो

पारस त दीपेन्द्रका चम्चा, किन हान्थे उनलाई गोली ! (भिडियोसहित)

पारस त दीपेन्द्रका चम्चा, किन हान्थे उनलाई गोली ! (भिडियोसहित)

यसपटकको वार्ता हामीले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठसँग गरेका छौं । श्रेष्ठसँग मिडिया काउन्सिल विधेयकका विषयमा मात्रै होइन, प्रधानमन्त्री केपी ओलीबारेका कुराकानी, दरबार हत्याकाण्डलगायत विषयमा कुराकानी भएको छ । 

 

मिडिया कान्सिल विधेयकमा कमजोरीहरु औंल्याउनु भएको छ । के पाउनु भएको छ विधेयकमा ? 

हरेक मुलुकमा मिडियाको भूमिका संवेदनशील हुन्छ । यस्तो क्षेत्रमा सरकारले सोचविचार गरेर  ऐन कानुन बनाउनु पर्छ । सरकारले अरिंगाल भिडाउने झै गरी विधेयक ल्याउन हुँदैन । मिडियालाई राम्ररी हेरचाह गरियो भने यसले प्रतिफल पनि मुलुकका लागि राम्रै दिन्छ । सरकार र जनताबीचको पुल भनेको मिडिया हो । मिडिया काउन्सिल विधेयक हामीले नै भनेर ल्याइएको हो । हाम्रो मस्यौदालाई तोडमोड गरेर सरकारले आफूखुसी ल्यायो । सरकारले न्युनतम पारिश्रमिक लागू गर्न सकेको छैन । तर दण्डचाहिँ १० लाख कसरी स्वभाविक भयो र ? 

 

अमेरिकामा १ करोडसम्म जरिवाना भनेर सञ्चारमन्त्री गोकुल बास्कोटाले तर्क पेस गर्नु भयो त ? 
 

हाम्रोमा पनि अरु कानुन छन नी त । समाचार लेखेकै कारण लाखौं रुपैया जरिवाना, जेलनेलको विपक्षमा हो म । पत्रकारले अरु अपराध गर्छ भने हामीले पत्रकार भएकै कारण अन्य दण्डबाट पनि मुक्त हुनुपर्छ भनेका हैनौं । राष्ट्रपतिका विषयमा अनर्गल प्रचार गरेका कारण सोनुकुमार सुनार जेलमै छन् । हामीले उनलाई छाड्नु पर्छ भनेका त छैनौं । त्यसकारण सरकारले लागू हुन नसक्ने विधेयक ल्याउनु अघि सोच्नु पर्छ । भोलि लागू नै गर्न सकिएन भने ऐन ल्याएको के अर्थ भयो र ।

 

सरकार गुठी विधेयकबाट त पछाडि हट्यो । मिडिया काउन्सिल विधेयकबाट पनि पछाडि सर्ला ? 
 

पछाडि सर्यो नै त नभनौं । जनताको मतलाई कदर गर्यो भन्नु पर्ला । गुठीका विषयमा सबै क्षेत्रको गुठीलाई एकै डालोमा हाल्ने काम गरियो । नेवारहरुको संस्कृति अभिन्न रुपमा गुठीसँग जोडिएको छ । पश्चिमका थारुहरुको हकमा बेग्लै प्रयोग छ । नेवारहरुमा त जन्मदेखि मृत्यु संस्कारसम्ममा गुठी आवश्यक हुन्छ । कम अध्ययन गरेर सरकारले ल्याएको थियो । जुन जनताले मन पराएनन् ।

मिडिया काउन्सिल विधेयकले सामाजिक सञ्जाल र मिडिया एकै हुन् भन्ने परिभाषा गरेको छ । यो प्रथम दृष्टिमै अयोग्य देखिन्छ ।   
    

 

सञ्चारमन्त्री त मिडिया काउन्सिल विधेयकको चट्टानी अडानमा हुनुहुन्छ । तपाइंको त साथी पनि । टिप्पणी गर्न अलि गाह्रो पनि होला । तर केही भन्न त मन लागेको होला नी ? 
मेरो साथी हो । समकालीन पनि हौं हामी । मैले उहाँलाई सबै कुरा भनेको छु । उहाँलाई आफ्नो कार्यकालमा केही राम्रो गरेर जाउँ भन्ने पनि होला । केही राम्रो काम गरिरहनु भएको पनि छ । तर मिडिया काउन्सिल विधेयकमा गडबड भइरहेको छ । लागू नहुने ऐन नल्याएकै राम्रो  । जस्तो कि देवानी तथा फौजदारी संहिता लागू भइसकेको छ ।  यो संहितामा उपचारका क्रममा बिरामीको मृत्यु भयो भने चिकित्सकविरुद्ध कर्तव्य ज्यानको मुद्दा चलाउन सकिने उल्लेख छ । तर त्यो लागू भएको छ ? अवश्य पनि छैन । यसकारण लागू हुन नसक्ने ऐन नल्याएकै राम्रो हो । 

 

 

प्रधानमन्त्री ओली सबै क्षेत्रका जानकार, सञ्चारमन्त्री चाहिँ गोयबल्स जस्ता भनेर टिप्पणी हुन्छ नी ? 
 

म गोयबल्स नै चाहिँ भन्दिनँ । तर प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीका बेलामा लिनु भएको अडान र राष्ट्रवादी व्यवहारले उनका कैयन मानिसहरु फ्यान भए । समर्थक भए । 
नेकपाइतरकै मानिसहरुले पनि समर्थन गरे । तर आज नेकपानिकटहरु नै मौन छन् । अहिले दुई वटा अतिवादी अवस्था विद्यमान छन् । सरकारको पक्षमा लेखियो भने जनस्तरबाट अरिंगाले आक्रमण हुन्छ । विरोधमा लेख्दा केपी ओलीका अरिंगालेबाट आक्रमण हुन्छ । ती मिडियाबाटै प्रकट हुन्छन् । यसकारण यस्तो मिडियालाई व्यवस्थित गर्न आवश्यक छ । 

यो मिडियालाई बाटोको मादल बनाएर, बजाएर खरी झारेर हिँड्नु हुँदैन । आकस्मिक, अप्रत्यासित ढंगले मिडिया काउन्सिल विधेयक दर्ता गरिएका कारण बढी शंकास्पद भएको हो । 


">

प्रधानमन्त्री केपी ओलीका सम्बन्धमा तपाईंले लेख्नु भएको एउटा समाचार, फोटो वा क्याप्सन उहाँले सम्झि बस्नु भएको छ भन्ने तपाईंको कुरा छ । त्यो सन्दर्भ के थियो ? 
 

महाकाली सन्धि भएपछि एमाले फुट्यो । म माले निकट थिए । एमालेनिकट पत्रकारहरुले बामदेवलाई सत्तो सराप गर्थे । मालेनिकटले ओलीविरुद्ध प्रहार गर्थे । आरोप प्रत्यारोप खुब चलेको थियो, त्यो बेला । हामी पनि त्यो आक्रमणमा सहभागी भयौं । अहिले सम्झिँदा त्यसो नगरेको भए हुन्थ्यो भन्ने लाग्छ । कमजोरी भएछ भन्ने पनि लाग्छ । त्यो बेला एक सन्दर्भमा हालका प्रधानमन्त्री र हालका राष्ट्रपति रुकुम जानु भएको रहेछ ।

 

रुकुम जाँदा विद्या भण्डारीले सेतो सारी लगाउनु भएको थियो । हातमा रातो माला बोक्नु भएको थियो । साथमा केपी शर्मा ओली हुनुहुन्थ्यो । फोटोमा क्याप्सन लेखियो, ‘सेतो सारी रातो माला, हाम्रो जोडी कहाँसम्म जाला ?’ । ५४ सालमा छापिएको त्यो क्याप्सन आज २१ वर्षपछि पनि उहाँले सम्झिरहनु भएको छ । उहाँको मप्रतिको तुष अझै छ । 
तर राष्ट्रपति विद्या भण्डारीसँग मेरो कहिलेकाहीँ भेट हुन्छ । उहाँले त्यसलाई माइन्ड गर्नु भएको छैन । उहाँले ‘त्यसमा तपाईंको भन्दा पनि सिपी मैनालीले जे छाप्न भन्नुभयो, त्यही छाप्नु भयो । त्यसमा केही छैन ।’ भन्नु भएको छ । तर प्रधानमन्त्रीले त्यो कुरा बिर्सिनु भएको छैन । 

    

ठूला नेताहरुले चानचुन कुरा त बिर्सिन्छन् भन्छन् । प्रधानमन्त्री ओलीले चाहिँ नबिर्सिनु नै भएको हो कि तपाईंलाई त्यस्तो लागेको हो ? 
 

उहाँले नबिर्सिनु नै भएको हो । केही उदाहरण पनि छन् । रातोपाटीका सम्पादक ओम शर्मा र म एउटै जिल्ला कमिटीमा हुँदा धादिङमा उहाँले पोस्टर टाँस्नु भएको थियो । त्यहाँ जारी गरेको सर्कुलरका आधारमा उहाँ पक्राउ पर्नुभयो । राजकाज मुद्दा लगाइइो ।  सेन्ट्रल जेलमा लगियो । म भूमिगत भएँ । त्यो बेला तीन महिना जेल बस्नु भन्दा बाहिरै बसेर संगठनको काम गर्नु ठीक लाग्यो ।

 

ओम शर्मा जेलमा हुँदा उहाँ पनि त्यही हुनुहुन्थ्यो । पञ्चायतकालको कुरा भन्दैछु । एक दिन मर्निङ वाकमा हुँदा सायद कलिलो उमेरका ओम शर्मा ठोक्किन आइपुगेछन् । उहाँले सम्झिरनु भएको रहेछ । एमाले र मोओवादीका पत्रकार संगठन एक गर्ने बेला एकीकृत संगठनको संयोजक शर्मालाई बनाउनु पर्छ भन्ने प्रस्ताव लिएर प्रचण्ड प्रधानमन्त्री कहाँ भेट्न जानु भएछ । प्रधानमन्त्रीले प्रचण्डलाई भन्नुभएछ, ‘ए त्यो ४२ सालको फुच्चे केटो ? हुँदैन ।’ 

 

यस्तो जवाफ सुनेका प्रचण्डले ओम शर्मालाई भन्नुभएछ, ‘ओमजी, प्रधानमन्त्री त चित्रगुप्त जस्तै हुनुहुँदो रहेछ । सबै हिसाब गरेर बस्नु भएको रहेछ ।’ 
राजनेताले यस्ता सानातिना तुष पालेर बस्नु हुँदैन । उहाँ पालेर बस्नु हुन्छ । 

 

केपी ओली ६२/६३ सालको जनआन्दोलनमा एक दिन पनि सहभागी हुनुभएन भन्ने कुरा साँचो हो ? 

म त्यता तिर जान चाहन्न । तर उहाँ गणतन्त्रकै लागि १४ वर्ष जेल बस्नु भएको त हो । उहाँको इमानप्रति शंका नगरौं । हामीजस्ता सामान्य मानिसहरुसँग पनि इख लिएर बस्नु हुन्छ । उदाहरणका लागि झापामा चुनाव प्रचारको बेला प्रचार सकेर टिनले बारेर बनाएको सामूहिक भोजन देखेर एक जना मधेसी मुलका एक सरकारी खरिदारले ‘यहाँ के हुँदैछ भनेर सोधे ।

 

त्यहा भएका युुनुस अन्सारीका पिता सलिम मियाँ अन्सारीले केपी कमरेडको चुनाव प्रचार सकेर खाना खाने काम भइरहेको जवाफ दिए । त्यसपछि ती खरिदारले एकलखे जोडेर ‘ ए .े..को भोज ! चल्दै रहेछ ।’  भनेछन् । त्यो कुरा केपी ओलीले पनि सुन्नु भएछ । त्यसपछि उहाँ गृहमन्त्री हुनुभयो, त्यस्तो टिप्पणी गर्ने खरिदारलाई सरुवा गरेर दार्चुला पुर्याइदिनु भयो । उत्तरकोरियाका राजदूतले कति गर्दा पनि विदाई भेट प्रधानमन्त्रीसँग गर्न पाएनन् । किनभने २० वर्षअगाडि प्योङयाङ जाँदा अरुलाई बोल्न दिँदा उहाँलाई दिइएनछ । २० वर्षपछि आएको एउटा निर्दोषसँग उहाँले प्रतिशोध साँध्नु भयो । 


 

मदन भण्डारीसँग निकट हुनुहुन्थ्यो । उहाँको जीप दुर्घटनामा मृत्यु भयो । त्यो मृत्युलाई एमालेले राजनीतिक फाइदा हुने गरी अस्त्रका रुपमा प्रयोग गरिदियो भन्नेहरु पनि छन्, त्यस्तो लाग्छ ? 

मदन भण्डारीको निधनपछि एमालेले यो विषयलाई सिरियसले फलो गरेन । जसका कारण यसखाले शंकाहरु जनमानसमा उत्पन्न भएको कुरालाई म अस्वभाविक मान्दिनँ । अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीको हत्याको रहस्य अझै सुुल्झिएको छैन । मदन भण्डारीको स्वभाविक घटना हो भनेर म मान्दिनँ । किनभने त्यो स्थानमा सोझो बाटो छ । फराकिलो छ । बीचको बाटोबाट गुडिरहेको जीप दाहिने मोडिएर त्रिशूलीमा खस्ने, चालक सुरक्षित ढंगले बाहिर निस्किने तथ्यले शंकास्पद नै मान्नुपर्छ ।

 

ती चालक फेरि काठमाडौंमै अपहरण गरेर कीर्तिपुरमा लगेर हत्या गरियो । यसकारण यो अुनसन्धान हुनुपर्ने विषय हो । एमाले पटक पटक सत्तामा गयो, अर्धांगिनी राष्ट्रपति हुने, केपी ओली प्रधानमन्त्री भएको बेला पनि छानविन नगर्दा राजनीतिक इमान देखिदैन । 

 

">

 

दरबारको समाचार पनि खुबै लेख्नु भयो, आजकाल राजपरिवारका सदस्यहरुसँग कतिको टचमा हुनुहुन्छ ? 
 

खासै छैन । उहाँहरु अहिले कुनै सक्रिय पदमा हुनुहुन्न्न । पदमा नभएको मानिसहरुको विषयमा समाचार पनि खासै लेखिन्न । बेकार गिजोल्न गए जस्तो हुन्छ । 

 

केही मानिहरु त अहिले पनि राजसंस्था फर्किन्छ भन्छन् नी ? 
त्यो सबै दिवा सपना हो । सम्भव छैन । कुनै संगठन, आस्था, पैसा, षडयन्त्र वा विदेशी शक्ति केही नभई परिवर्तन हुँदैन । पूर्वराजासँग केही छैन । राजा ज्ञानेन्द्रले केही मोटिभेट गरेका छैनन् । उनको पालामा के गरे त ? इतिहाँसमै ज्ञानेन्द्र जति लोभी राजा थिएनन् । कमल थापा, पशुपति शमशेरहरुलाई एक सुको दिँदैनन् । राजासँग बेहिसाब सम्पत्ति छ । नारायणहिटी छाडेर निर्मल निवास जाँदा दुई ट्रक सुन र चाँदीका बिस्कुट सारिएको छ । उति नै गरगहना, मणिमाणिक्य थिए । 

 

 

पारसलाई त्यस्तो लखट्नु भयो, फोन गरेर कहिल्यै थर्काएनन् ? 
पारसको निकट, सुरक्षाकर्मीहरुले थर्काउथे । 

 

रामकृष्ण ढकाल प्रकरणमा के भएको थियो ? 
रामकृष्ण ढकालमात्रै हो र ? प्रभञ्जन सिंह, शिद्धार्थ राणालगायत धेरैले कुटाइ खाए नी पारसबाट । हात चिलायो कि कुटी हाल्ने स्वभावका थिए उनी । कुटाइ खानका लागि नै उनीसँग दुई चार जना हिँडिदिनु पर्ने अवस्था थियो । शिद्धार्थ राणालाई एभरेष्ट होटलको बाथरुममा खुट्टा भाँचिने गरी कुटेका थिए । 

 

यस्तो आक्रामक चाहिँ सत्ताकै उन्माद  हो ? 
वंशाणुगत र पुल्पुल्याइनु दुइ कारण हुन् । 

 

वंशाणुगत भन्नुभयो, राजा ज्ञानेन्द्र शान्त, भद्र छन् त ? 
शान्त र भद्र त सत्ता हातमा लिँदा देखिहालियो नी । 

 

दरबार हत्याकाण्डमा दीपेन्द्रले नै गोली चलाएको तपाईं पनि भन्नु हुन्छ । आफ्नो परिवारबाहेक अरुलाई मार्ने योजना थिएन पनि भन्नु हुन्छ । तर धेरै सोत्तर कसरी भए भन्ने लाग्छ ? 
 

हो त  । उनको पहिलो लक्ष्य वीरेन्द्र नै थिए । तीन गोली हानेर वीरेन्द्रको हत्या गरे । बाबुमारेपछि आफू राजा हुने अवस्था हुन्थ्यो । उनको बाटोको अर्को तगारो आमा थिइन् । अन्तिममा ऐश्वर्य मारिइन् । अरु बाटामा आएकाहरु थिए । छेक्न आएकाहरु परे । 

 

पारसलाई चाहिँ किन छाडे ? 

पारसलाई किन मार्छन् ? पारस त उनको चम्चा । जहाँ गए पनि छायाँ बनेर गइदिने । पारसले जे बितण्डा मच्चाए पनि दीपेन्द्रले मिलाइ दिने । पारस हच्किने भनेकै दीपेन्द्रसँग मात्रै  । दुवै जना गाँजा खाने, रक्सी खाने पार्टर थिए । दीपेन्द्रले भाइलाई पनि मारेका थिएनन् । अन्तिम अन्तिम तिर मात्रै मारेका थिए ।  
रानीले उनलाई पटक पटक धम्की थिइन् । धीरेन्द्रको जस्तै स्टाटस खोसेर भाईलाई राजा बनाउने उनको चेतावनी थियो ।