अपराध सुरक्षा

अपराध अनुसन्धानमा उच्च सफलता : खरेल

अपराध अनुसन्धानमा उच्च सफलता : खरेल

 


काठमाडौँ । महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले गत वर्षको तुलनामा अपराध अनुसन्धानको क्षेत्रमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताउनुभएको छ । खरेलले सरकारी मुद्दाको सफलता प्रतिशत ७२ दशमलव २८ प्रतिशत पुगेको भन्दै यो तथ्याङ्क हालसम्मको उच्च रहेको जानकारी पनि दिनुभयो ।

 

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो प्रादेशिक सम्मेलनमा महान्यायाधिवक्ता खरेलले प्रतिवादीको पहिचान एकीन गर्न सहयोग पुग्ने आधिकारीक कागज प्रमाण बेगर नै अभियोग लगाउने अभ्यासले पटक पटक पहिचानको सम्बन्धमा प्रश्न उठ्ने गरेको बताउनुभयो । दह्रो प्रमाण बनाएर मुद्दा दर्ता गर्न अनुसन्धानकर्ता तथा अभियोजनकर्तालाई उहाँले सुझाव दिनुभयो । 

 


सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा प्रयोगशाला स्थापना गर्नुपर्ने उल्लेख गरेकाले यसले अपराध अनुसन्धानमा थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।


 कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले फौजदारी आचार संहितालाई कार्यान्वयनमा ल्याउनु नेपाल प्रहरीको सबैभन्दा ठूलो उपलब्धि भएको बताउनुभयो । अपराध अनुसन्धानमा नेपाल प्रहरीले विगतको तुलनामा धेरै सफलता हासिल गरेको खनालको भनाई छ । 


प्रहरी प्रधान कार्यालयको आयोजना तथा महान्यायाधिवक्ताको कार्यालयको सहकार्यमा प्रदेश–३, गण्डकी प्रदेश र प्रदेश–५ का प्रहरी र सरकारी वकिलको दोस्रो सम्मेलन सुरु भएको हो ।दुई दिनसम्म चल्ने सम्मेलनमा तीन प्रदेशको १ सय ३८ अभियोजनकर्ता तथा अनुसन्धानकर्ताको सहभागीता रहेको छ । कार्यक्रममा महान्यायधिवक्ता कार्यालयबाट प्रकाशित बाल न्याय स्रोत सामाग्री पुस्तकको विमोचन गरिएको थियो ।