कला साहित्य विचार

टेम्पोमा प्रेमालाप

टेम्पोमा प्रेमालाप

चालक आफनै धुनमा छन् । टेम्पो मध्यम गतिमा । भित्र यात्रुहरु आ–आफना गफमा । तर, चालक छेउमा अटेसमटेस गरी बसेका दुई अधवैंशेका क्रियाकलाप भने अचम्मका छन् । 

 


करिब ४० बर्षको उमेर कटेका जस्ता लाग्ने दुवै अधवैंशेलाई कसैको परवाह छैन । ती स्थ्रीलाई पुरुषले अंकमाल गरेका छन् । भर्खरका किशोर किशोरी पनि होइनन्, तर कतै भागी पो हाल्छ कि भन्ने जस्तो लाग्ने गरी कसिलो अंगालोमा  उनलाई बाँधेका छन् । 

 


ठ्याक्कै चालक पछाडीको सीटमा छु म । मेरो सम्पूर्ण ध्यान त्यहीं केन्द्रीत छ । उनीहरुको चलायमान हात, हाउभाउ र शारीरिक हलचल के कस्तो भैरहेको छ त्यही हेरेर बसेको छु । 

 


यसो हेर्दा दुवै विवाहित जस्ता छन् । श्रीमान श्रीमति हुन् भने सार्वजनिक यातायातमा यो चर्तिकला किन गर्नुपर्यो ? जति नै माया लागेपनि यो प्रदर्शन गर्ने ठाउँ पनि होइन ? ती दुवै आ–आफना श्रीमान, श्रीमतिलाई छलिरहेका पो छन् कि ? यदि हो भने दुवै जना परिपक्व उमेरका छन्, यहीं यस्तो किन ? कुनै गोप्यस्थलमा गएर प्रेम साटे पनि हुने .....मनमा अनेक तर्कना उठेका छन् मेरा । 

 


थुप्रै पटक छड्के अनुहार लगाएर उनीहरुको अनुहार हेर्न खोजे । कस्ता रहेछन् ? कहिं चिनेकै पो हुन् कि ? अहँ, जति प्रयास गर्दा पनि अनुहार देख्न पाएन । उनीहरुको दृष्टि सिधा अगाडि छ, तर हात र शारीरिक हाउभाउ भने यत्रतत्र  । 

 


यही बैशाख १३ गते शुक्रवारको कुरा हो । म पुल्चोकबाट टेम्पोमा नयाँ बानेश्वरतर्फ आउँदै गर्दाको दृश्य म वर्णन गर्दैछु । ती युवकले बायाँ हातले उनलाई अंगालो मारेका छन् । घरी त्यो हात कानमा लग्छन्, घरी गाला चिमोट्छन्, घरी पिठ्यूमा मुर्साछन्, घरी हात घुमाएर संवेदनशील अग्रभागमा मुसार्छन् ।

 

 
ती युवकले जति जे गर्छन् महिलाले सबै सहर्ष स्वीकार गरेको देखिन्छ । बरु घरीघरी नजानिदो पाराले उनीपनि आफनो चिल्लो गाला  ती युवकको खस्रो गालामा रगड्छिन् । बेलाबेला कानमा साउती मार्छिन तर केही सुनिदैन । उनीहरुका गतिविधिमा धेरै ध्यान दिंदा अरुले थाहा पाउलान भन्ने डर पनि मलाई भित्रभित्रै छ ।

 


पुल्चोक, कुपण्डोल, थापाथलीहुँदै ट्याम्फू माइतीघरबाट मोडिन थालिसक्यो, उनीहरु झनझन चञ्चल हुँदैछन् । दुवै कालो  वर्णका छन् तर ती युवती यतिबेला पूरै राती भएकीछिन् । शरीरभरीको रगत सबै गालामा जम्मा भए जस्तो ! राताम्य ! शायद शरीरमा रक्त प्रवाहको गति अली बढी नै भएछ । 

 


मनमा अनेक कुरा खेलिरहेका छन् मेरा । होइन, समाज के भएको ? केही दिनअघि मोरङमा रीना बस्नेतको रहस्मय हत्याकाण्ड सम्झें । श्रीमान विदेशमा, यता श्रीमतिको अतिरिक्त सम्बन्ध...अन्ततः रहस्यमय मृत्यु । 

 


पत्रकार रूबिनाले तयार पारेको श्रीमान श्रीमतिबीच सम्बन्ध बिच्छेदका घटना बढेको रिपोर्ट सम्झे । प्रशासन र अदालतमा सम्बन्ध विच्छदेका लागि धाइरहेका दर्जनौ अनुहार सम्झें । बहुसम्बन्ध भएका तर ती सबैलाई गोप्य राख्न सफल थुप्रै परिचित नाम सम्झें....।  समाज र मान्छे बुझिनसक्नु छ । साँच्चै संसार विचित्रको छ । 

 


हिन्दीमा एउटा उखान छ, ‘प्यार किया तो डरना क्या । ’

 


प्यार र हवस अर्थात प्रेम र वासनामा फरक छ । मानिसहरु अचेल प्रेम गर्दैनन् मात्र हवस अर्थात वासनाको शिकार भएका छन् । वासनालाई प्रेम भनिदैन । वासनाको सम्बन्ध सिधै यौनसंग छ । शारीरिक सम्बन्ध राखेसंगै वासनाको आयु तत्कालका लागि समाप्त हुन्छ, तर प्रेममा त्यो हुँदैन । मिठासपूर्ण यौन सम्वन्धका लागि प्रेम जरुरी छ, तर सबै प्रेमको गन्तव्य यौन होइन । 

 


कपितय कुरा प्रेम र वासना जे भएपनि अर्थहीन हुन्छन् । व्यक्तिगतरुपमा मलाई मिचेल ओबामा अर्थात अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी खुब मन पर्छिन् । कहिलेकाहिं लाग्छ...उनको लागि त जे पनि गरिदिन्थे ! 

 


मैले भन्न खोजेको अर्थहीन आकर्षण यही हो । यदि उनै मिचेल मेरो अघि आइन भने म नर्वस हुनेछु  । मेरो बोली नै फुट्ने छैन । उनीसामु सामान्य शीष्टाचारको औपचारिक संवाद गर्न पनि हिम्मत जुटाउन मलाई हम्मेहम्मे पर्नेछ । उनले आफै ‘आइ लव यू’ नै  भनिन् भनेपनि  जवाफ फर्काउन मेरो साहस पुग्ने छैन । 

 


हुन त भारतीय चर्चित नायिका प्रियंका चोपडाले आफूभन्दा १० बर्ष कान्छा निकसंग विवाह गरिन् । सुनिदैछ अर्की विश्व सुन्दरी एवम अभिनेत्री सुस्मिता सेनले आफूभन्दा १६ बर्ष कान्छा युवकसंग इन्गेजमेन्ट गरेकी छिन् । अभिनेत्री मलाइका पनि आफूभन्दा धेरै कान्छा अर्जून कपुरसंग विवाहको तयारीमाछिन् । आमिर खानले पनि आफूभन्दा धेरै जेठीसंग विवाह गरेका हुन् । सैफ अलि खानले पनि आफूभन्दा धेरै जेठी अमृता सिंहसंग विवाह गरेका थिए । अहिले उनले आफू भन्दा धेरै कान्छी करिना कपुरलाई पत्नी बनाएका छन् । नेपालमा पनि यस्तै धेरै उदाहरण छन् । 

 


यो सबैमा उमेरको स्तर नमिलेपनि व्यवसाय र व्यक्तित्वको स्तर भने लगभग समान थियो ।  त्यही भएर उमेर प्राथमिकतामा परेन, सबैलाई सहज भयो । यति कुरा भनिसकेपछि मिचेलसंगको सपनाबारे थप केही भन्नु परेन । 

 


भन्न खोजेको सम्बन्धहरु बहुआयामिक हुँदैछन् । कुनै खास व्यक्ति विशेषमा मात्र सम्बन्ध अडेर बस्ने अवस्था देखिदैन । सम्बन्ध स्थायी र अस्थायी मात्र भएन अब त क्षणभरका लागि मात्र पनि हुन थाल्यो ।  भेट भयो, कुराकानी भयो.....अरु के के हो हुनेभयो...त्यसपछि छुट्टियो....बिर्षियो । यतिसम्म पनि हुन थालिसक्यो । 

 


दिमागमा अनेकौं बिचार आइरहेकाबेला नयाँ बानेश्वर पुगिएछ । टेम्पोबाट ओर्लिए । चालकलाई पैसा दिने वाहनामा अगाडिबाट ती दुवैको अनुहार हेरें । हेर्दा दुवै निकै भलादमी थिए । महिला खासै सुन्दर त होइन, तर औसत थिइन् । पुरुष जे व्यवहार देखाउँदै थिए, बाहिरबाट हेर्दा त्यस्तो अनुमान कसैले लगाउँदैन थियो ।  

 


ती युवकको बायाँ हातको अंगालो उस्तै छ । ती महिला पहिला भन्दा अझ बढी युवकतर्फ ढल्केकीछिन् । चालकले दिएको २ रूपैयाँको सिक्का समात्दै म भने फर्किए । दिमागमा त्यही हिन्दी उखान गुञ्जियो , ‘ प्यार किया त डरना क्या !  ’ 
 
 

ADVERTISEMENT