भिडियो देखाएर यौनशोषण गर्ने प्रहरी नायब निरीक्षक पक्राउ

भिडियो देखाएर यौनशोषण गर्ने प्रहरी नायब निरीक्षक पक्राउ

काठमाडौं : ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्‍यो । एक पटकको दुर्व्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिँदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उनको भनाइ थियो ।

मंगलबार किशोरीले भनिन् – ‘मेरा श्रीमान् विदेशमा हुनुहुन्छ, घरमा उहाँ नभएको मौका छोपी यादवले मलाई व्यावहारिक काममा सहयोग पुर्‍याउँथ्यो । भिनाजु भन्दै नाता लगाएपछि शंका गर्ने ठाउँ पनि थिएन । मेरो नियत सफा थियो तर उसको कुदृष्टि मेरो शरीरमा रहेछ ।’

किशोरीका आँखा रसाएका थिए । उनी केही बेर रोकिएर गुलाबी सलले आँखा मिच्दै थप विवरण दिइन्, 'केही समयपछि उसले बजारतिर डुल्न जाऔं भन्यो । मैले शुरुमा त मानिनँ, तर उसको करका अगाडि मेरो केही लागेन, किनकि उसले मलाई संकट परेका बेला सघाएको थियो । आर्थिक सहयोग गरेको थियो ।'

किशोरीका अनुसार यादवले किशोरीको माइती गाउँको व्यक्तिले खोलेको होटेल हो भन्दै यादवले रौतहट बजारकै एक होटेलमा लगे । किशोरीले भित्र जान नमानेपछि यादवले हेर्न त हिँड् भन्दै कोठामा लगे र ढोका थुने । ‘मैले नाइँ भन्नै सकिनँ’ –किशोरी आफ्नो विगत बताउँदै रोहिरहेकी थिइन् । उनका अनुसार जबरजस्ती सम्पर्क राखेपछि उनी तत्काल घर फर्किन चहान्थिन् । तर यादवले खाजा खान दबाव दिए, ‘उसले कोकाकोलामा रक्सी मिसाएर मलाई पिलाएको रहेछ । म मातेर लडेपछि उसले भिडियो खिचेको रहेछ ।’

‘त्यो दिन म सम्झन पनि सक्दिनँ । माइत गएर केहि दिन पछि घर फर्किएपछि उसले त्यस दिनको भिडियो आफूसँग रहेको भन्दै मलाई धम्क्यायो ।’ किशोरीका अनुसार मोबाइल अलि टाढै राखेर यादवले भिडियो देखाए, जहिले भन्यो त्यहिले सम्पर्कका लागि राजी नभए उनले भिडियो सार्वजनिक गरिदिने धम्की थिए ।

‘घर बिग्रने डरले म उसले जे जे भन्यो त्यो मान्न तयार भएँ । त्यसकै फाइदा उठाउँदै उसले धेरै पटक ममाथि शोषण गर्‍यो । मानसिक र शारीरिक रुपमा गरेको शोषणको बयानै गर्न सक्दिनँ ।’ यादवले किशोरीको शहरमै मात्र पनि शोषण गरेनन्, टाढा–टाढा पुर्‍याएर पनि शोषण गरे ।

‘अन्तिम पटक २०७६ वैशाख महिनामा काठमाडौ जाऔं भन्यो, म लुरुलुरु पछि लागें । नगरकोट पुर्‍यायो । त्यहाँ उसले दुई दिनसम्म राखेर बारम्बार यौनशोषण गर्‍यो । त्यसपछि भने मैले सहन सकिनँ । जे होला होला भन्ने आँट गरेर आफन्तसँग सल्लाह गरें ।’

अन्ततः किशोरीलाई सहयोग गर्न आफन्तहरु पनि तयार भए । आफन्तकै सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिइन् । भक्तपुर प्रहरी कार्यालयमा २०७६ बैशाख ३१ गते दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । घटनास्थल काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पर्ने भएकाले अनुसन्धानसहितको फाइल अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको छ । यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो।

बलात्कार पक्राउ प्रहरी नायब निरीक्षक

संम्बधित खबर