समाचार

कुलमान भन्छन– भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु 

कुलमान भन्छन– भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन चुनौती दिनुभएको छ । 


कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार भए, नभएको सत्यतथ्य बाहिर ल्याउन छानवीन समिति गठन गरिएको  स्पष्ट पार्दै अनियमितता प्रमाणित भए झुण्डिएर मर्ने स्पष्ट गर्नुभयो । 


 संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङ आक्रोशित हुनुभएको हो । 


कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भएँ भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न सचेत गराउनु भयो ।

उहाँले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानवीन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानवीन समिति गठन गरेर कामलाई अघि बढाइएको बताउनुभयो । 


सत्तारुढ सांसद मोदीले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर घिसिङले भ्रष्टाचार गरिरहेको आरोप लगाउनु भयो । मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गर्नुभयो ।

भ्रष्टाचार कुलमान