कला साहित्य

लघुकथासङ्ग्रह ‘घाम’ लोकार्पण

लघुकथासङ्ग्रह ‘घाम’ लोकार्पण

काठमाडौं । कथाकार शुषमा मानन्धरको छैठौं कृति ‘घाम’ आइतबार काठमाडौंमा लोकार्पण गरिएको छ । 

 

४१ वटा लघुकथा रहेको ‘घाम’ लाई लोकार्पण तथा परिचर्चा कार्यक्रमका प्रमुख अतिथि कथाकार माया ठकुरी, लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठ, नाटककार अशेष मल्ल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र कथाकार शुषमा मानन्धरले संयुक्तरुपमा लोकार्पण गरेका थिए । 

 

लघुकथासङ्ग्रह ‘घाम’ले हाम्रो सामाजिक परिवेश, व्यक्तिको मनोदशा, बदलिँदो समाजका स–साना विषयहरुलाई उनेर एक उत्तम कृति कथाकारले पाठक सामु प्रस्तुत गरेको उल्लेख गरिन् । 

 

लोकार्पण समारोहमा नाटककार अशेष मल्लले कथामा हुनु पर्ने मूलभूत विषयहरुलाई सुन्दर ढंगले प्रस्तुत गरिएको बताए । 

 

‘घाम’का सम्बन्धमा टिप्पणी गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले कृतिको नाम अरु पनि हुन सक्नेतर्फ संकेत गरे । उनले भाषिक शुद्धतामा ध्यान दिन सुझाव दिए । सङ्ग्रहमा रहेका अधिकांश कथाले आफ्नो मन छोएको उनले बताए । 

 

कार्यक्रमका सभापति एवम् तथा आयोजक लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन श्रेष्ठले सार्वजनिक कृति एक पठनीय सामाग्री भएको टिप्पणी गरे । 

 

कथाकार शुषमा मानन्धरका यसअघि ‘नयाँ साथी’ बालकथासङ्ग्रह (२०७०), ‘आराध्य’ हाइकुसङ्ग्रह (२०७३), ‘रि’ हाइकुसंयुक्तसङ्ग्रह (२०७४), ‘आजका लघुकथा’ संयुक्त लघुकथासङ्ग्रह (२०७४), ‘अनावरण’ कथासङ्ग्रह (२०७४) लगायत कृति प्रकाशित छन् । 
 

ADVERTISEMENT