समाचार

६५ आरोहीद्वारा सगरमाथा आरोहण

६५ आरोहीद्वारा सगरमाथा आरोहण

सोलुखुम्बु । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मंगलबारदेखि शुरु भएको हो । मंगलबार रोप फिक्सिङ गर्ने ८ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका छन् भने ४३ ले कञ्चनजङ्गा र ३२ जनाले मकालु हिमालको सफल आरोहण गरेका छन् ।

 

पर्यटन विभागबाट सगरमाथा आरोहणका लागि ४१ समूहका ३७८ जनाले अनुमति पाएका छन् । तीमध्ये अधिकांश आरोहणका लागि पालो पर्खेर बसिरहेका छन् । लोत्से हिमाल आरोहणका लागि छ समूहका ६६ ले अनुमति पाएका छन् । बङ्गालको खाडीबाट उठेको सामद्री आँधी ‘फानी’का कारण केही समयअघि आरोहणमा केही समस्या आउने सङ्केत देखिए पनि अहिले त्यहाँको मौसम सामान्य रहेको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । बिहीबार बिहान आधार शिविरमा रहेका नेपाल सरकारका सम्पर्क अधिकृत श्रेष्ठसँगको टेलिफोन संवादका बेला एकै दिन सयभन्दा बढीले आरोहण गर्ने आँकलन गरिएको थियो ।

 

अहिले आधार शिविरदेखि क्याम्प ४ सम्म मानिसको चहलपहल बढेको छ । हिमाल आरोहणलाई साहसिक कार्यको रुपमा लिइन्छ । सोही साहसिक कार्यका लागि रमाउने यो ‘सिजन’मा सगरमाथा क्षेत्र जाने गरेका छन् । सन् १९५३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा मानव पाइला पुगेपछि आरोहण शुरु भएको हो । 

सोलुखुम्बु सगरमाथा