खेल

आइपीएलः धोनीको चेन्नई र सन्दीप आवद्ध दिल्ली भिड्दै

आइपीएलः धोनीको चेन्नई र सन्दीप आवद्ध दिल्ली भिड्दै

काठमाडौं । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५०औं खेलमा आज तीन पटकको उपाधि विजेता चेन्नई सुपर किंग्स र एक पटक पनि फाइनलमा पुग्न नसकेको दिल्ली क्यापिटल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईको चितम्बरम रंगशालामा शुरु हुँदैछ । 

 

यो रंगशालामा अहिलेसम्म दिल्ली–चेन्नई ७ पटक आमनेसामने भएका छन् । जसमा चेन्नईले पाँच र दिल्लीले २ खेल मात्र जित्न सकेको छ । दिल्लीले चेन्नईमा अन्तिम पटक २०१० मा जीत दर्ता गरेको थियो । त्यसयता उसले चेन्नईलाई उसकै घरेलु मैदानमा हराउन सकेको छैन ।

 

दिल्ली–चेन्नईबीच १२औं संस्करणसम्म आइपुग्दा १९ पटक भिडन्त भएको छ । जसमा १३ म्याचमा चेन्नई र ६ खेलमा दिल्ली विजयी भएको छ । चितम्बरम रंगशालामा चेन्नईले शानदार प्रदर्शन गरिरहेको छ । पछिल्ला ५ खेलमा उसले एक म्याचमा मात्र हार बेहोरेको छ ।  

 

दुवै टिमलाई जारी सिजनमा ८–८ खेलमा जीत
जारी संस्करणमा दिल्ली र चेन्नईले १२–१२ खेलमा ८–८ जीत निकालेका छन् । यद्यपि, नेट रनरेटका आधारमा दिल्ली १६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । आज महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नईलाई हराउँदै श्रेयस अय्यर कप्तान रहेको दिल्ली शीर्ष स्थानमै कायम रहन लालायित छ । यता चेन्नई पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध दिल्लीलाई उसकै मैदानमा पराजित गर्दै अंकतालिकाको पहिलो स्थानमा स्थानमा बस्न चाहन्छ ।

 

चेन्नईमा पहिला ब्याटिङ गर्नेलाई बढी जीत
चेन्नईको रंगशालामा अहिलेसम्म आइपीएलका ५४ खेल भएका छन् । जसमा पहिला ब्याटिङ गर्ने टिमले ३३ खेल जीतेको छ । बलिङ पहिला गर्ने टिमले भने मात्र २० खेल आफ्नो पक्षमा पारेको छ ।  

आइपीएल दिल्ली भर्सेस चेन्नई