समाज समाचार पर्यटन

सम्पदा पुनर्निर्माणमा चिनियाँ सक्रियता

सम्पदा पुनर्निर्माणमा चिनियाँ सक्रियता

काठमाडौं । विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्र अन्तर्गतको नौतले दरबार निर्माणको जिम्मेवारी छिमेकी मुलुक चीनले लियो । विश्वसम्पदा सूचीमा सूचीकृत सो क्षेत्रको पुनर्निर्माण चीनको सरकारी निकाय चाइनिज एकाडेमी फर कल्चर हेरिटेजले गरिरहेको छ ।

१५ अगस्ट २०१७ देखि शुरु भएको काम सन् २०१९ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नौतले दरबार अन्तर्गतकै ललितपुर टावर र कीर्तिपुर टावरको काम सम्पन्न भएको छ भने भक्तपुर टावरको काम बाँकी छ ।

भूकम्पपछि भग्नावशेषमा परिणत प्राचीन स्मारकहरूको पुनर्निर्माणमा इच्छुक मुलुकहरूलाई आशय पेश गर्न सरकारले आह्वान गरेको थियो । सो आह्वानपछि चीनले वसन्तपुर दरबार क्षेत्र अन्तर्गतको नौतले दरबार बनाइदिने इच्छा जाहेर गरेको थियो । सँगै चीनले दरबार हाइस्कुल पनि पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मा लिएको छ ।

चीन जस्तो आर्थिक शक्ति सम्पन्न मुलुकका अगाडि वसन्तपुर वा दरबार हाइस्कुल पुनर्निर्माण  चानचुने काम नै हुन् । प्रतिष्ठाका लागि पनि विश्व सम्पदा सूचीमा परेका स्मारकहरूको पुनर्निर्माणमा चीनले रुचि देखाएको अनुमान पनि हुने गर्छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको पुनर्निर्माण गर्न पाउँदा त्यसबाट सम्बन्धित मुलुकको पनि प्रतिष्ठा बढ्छ । जसका कारण कतिपय मुलुकहरू यस्तो प्रतिष्ठा बढ्ने काममा सघाउन तत्पर हुन्छन् । सम्पदाविद् विश्वराज कार्की भन्छन्, ‘त्यो त निश्चित रूपमा यस्ता सम्पदा बनाउन पाउँदा हरेक देशले गर्व गर्छन् । प्रतिष्ठा पनि बढ्छ । तर हामी आफैँ पनि बनाउन नसक्ने, अरूले बनाएर उसको प्रतिष्ठा बढ्यो भनेर टिप्पणी  गर्न चाहिँ भएन ।’

पुरातत्त्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम भने सरकारले नै खुला आह्वान गरेपछि उनीहरू आएका कारण प्रतिष्ठाकै लागि चिनियाँहरू आए भन्न नमिल्ने उल्लेख गर्छन् । गौतम भन्छन्, ‘पुनर्निर्माणमा सघाउन जो जो आए उनीहरूलाई जिम्मा दिइयो । ‘प्रतिष्ठाका लागि वा रहरले बनाउन आउँछन्’ भन्नु त्यति सान्दर्भिक नहोला ।’

पुरातत्त्व विभागले प्रमाणित गरेको नक्साबमोजिम चिनियाँहरूले काम गरिरहेका छन् । दोभाषेका रूपमा चिनियाँहरूसँगै निर्माणमा संलग्न सुदीप श्रेष्ठका अनुसार चिनियाँहरूले पुनर्निर्माणमा कुनै सम्झौता गरेका छैनन् । उनी भन्छन्, ‘जे सामग्री चाहिन्छ, जहाँ पाइन्छ, जति मूल्य पर्छ, किनेर निर्माणमा लगाउँछन् ।’

नौतलेको टुँडालहरूको बुट्टा कुँद्ने काममा अहिले कालीगढहरू लागिपरेका छन् । चिनियाँ भने ६ जनामात्रै छन् । बाँकी काम नेपालीहरूले नै गरिरहेका छन् । लागत, ज्याला, निर्माण सामग्री खरिद आदिको जिम्मा चिनियाँहरूको छ । चिनियाँ दूतावासमार्फत नै उनीहरू नौतले दरबार पुनर्निर्माणमा काम गरिरहेका छन् । लागतबारे दूतावासले हालसम्म विवरण सार्वजनिक गरिसकेको छैन ।

नेपाली शिक्षाको इतिहाससँग सम्बन्ध राख्ने दरबार हाइस्कुल भवनको पुनर्निर्माण पनि चिनियाँहरूले नै गरिरहेका छन् । पहिलेको दरबार स्कुल भत्काउन हुँदैन भन्ने आवाज उठिरहेकै बेला भवन भत्काइयो । सम्पदाविद् विश्वराज कार्की भन्छन्, ‘सम्पदामै परेको भए पनि नभत्काई नहुने अवस्थाको रहेछ भने भत्काइन्छ । बालबालिकाको सुरक्षासँग जोडिने भएका कारण पनि दरबार हाइस्कुल संवेदनशील थियो । पुरातत्त्वको अध्ययन प्रतिवेदनकै आधारमा काम भएको होला ।’

दरबार हाइस्कुललाई पुरानै स्वरूपमा बलियो गरी निर्माण गर्ने जिम्मेवारी चीनले लिएको छ ।


यी सबै सामग्रीहरू पब्लिक न्युज एजेन्सी (www.publicnewsagency.com)बाट साभार गरिएको हो। तपाईंहरूले पनि आफूलाई आवश्यक पर्ने सामग्रीहरू पब्लिक न्युज एजेन्सीमा निःशुल्क खाता खोलेर साभार गर्न सक्नुहुने छ। साथै पब्लिक न्युज एजेन्सीका लागि समाचार सामग्री र विभिन्न संघसंस्थाका प्रेस विज्ञप्ति पनि सम्प्रेषण गर्न सक्नुहुने छ।

चीन सम्पदा
ADVERTISEMENT