विचार

डोरीलाहुरे vs तोरीलाहुरे

- संकेत कोइराला

डोरीलाहुरे vs तोरीलाहुरे
  • संकेत कोइराला

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’

 

आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छ । यसको परिणाम न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस भयावह अन्योलमा पर्छन । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइन हुँदैन । सबैभन्दा यो महत्वपूर्ण विषय हो ।’

 

गर्नुपर्ने धेरै छ तर प्राथमिकता व्यक्तिपिच्छे फरक छन् । एउटाले भनेको अर्कोलाई चित्त बुझ्दैन । सबैलाई चित्त बुझ्ने चीज संसारमा सृष्टि भएकै छैन् ।

 

प्रधानमन्त्रीका कुरा सुन्दा प्रधानमन्त्री सर्वोत्कृष्ट । अर्का अध्यक्ष प्रचण्डको त बोलाईमै दम, नपत्याउने कुरै भएन । प्रतिपक्षी नेताका भाषण झन् ठीक । सेना, पुलिस, न्यायालय, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका मठाधीशका कुरा सुन्यो भने उनीहरूले गरेको त्यागको उत्कर्ष नै अहिलेको परिणाम हो ।

 

यदि उनीहरूले राष्ट्रप्रति ऋण नलगाइदिएको भए सृष्टिमा उहिल्यै प्रलय हुने थियो ।  मध्यम खालका ठूटे नेताका त दलील नै अलग, उनीहरूको जेलनेल, जनयुद्धकै कारण त हो– नेपाली जनताले विना रोकतोक अक्सिजन उपभोग गर्न पाएको ।

 

तर, अरू सबै छोडेर छातीमा हात राखेर आफूले आफैँलाई सोधौँ– नेपाल अब यस्तो भाँड राज्य भइसकेको हो कि परीक्षाको प्रश्नपत्र सुरक्षा गर्न सक्ने तागतसम्म पनि हराएको छ ? फेलै नहुने परीक्षाको प्रश्नपत्र त हराउँछ भने यो देशमा पैसा छाप्ने प्रबन्ध गरियो भने के अवस्था आउला ?

 

जब एउटा कुर्सीमा बसेको ठूलो ओहोदाधारी लहडीले जाँड, भाङ खाएका तालमा ‘प्रहरी मेरो साथी’ जस्ता अभियान शुरु गर्‍यो नि लेखेर राखे हुन्छ, त्यहाँदेखि प्रहरी नभएर अपराध चाहिँ साथी हुने क्रम बढेको छ । पहिला पहिला चिनेको पर्याप्त हुन्थ्यो तर अब किनेको जस्तो भरपर्दो केही हुन्न ।

 

नेपाली जीनमा त्यो तागत लुकेको हुन्छ, जसले डोनाल्ड ट्रम्प– नरेन्द्र मोदीलाई काका, बडाउको नाता प्रमाणित गरेर ल्याइदिन सक्छ । प्रहरी साथी, सेना सोल्टी, प्रधानमन्त्री बाउ, मुख्यसचिव सम्धी राज्यप्रणालीसँग यस्तै ठट्टा गाँसिदै गएपछि दशकौंदेखि देश धान कुट्ने मिलको फिता घुमेको जस्तो एउटै गतिमा सीमित छ । हेर्दा घुमेको पनि छ तर दूरी नाप्दा जहाँको तहीँ ।

 

देशको स्थायी संयन्त्र यस्तो छ– घुस नखाई र घुस नख्वाई धरै दिँदैन । बरू यो देशबाट कुनै दिन अख्तियार खारेज भएर जाला, तर भ्रष्टाचार एक, दुई, तीन रोकिँदैन । यदि शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्रीको कुर्सीमा अहिले थिए भने बोलीचाली, दैनिकी, भेटघाट, काम वर्तमान प्रधानमन्त्री ओलीको भन्दा एक ईन्च फरक हुने थिएन । नेपालको राज्य व्यवस्था म्यूजिकल चियरभन्दा फरक कहिल्यै भएन । 

 

व्यक्तिलाई देवत्वको उपाधी दिने र कालान्तरमा खुइल्याउने प्रवृत्ति समाजको गहना बन्दै आएको छ । त्यो प्रवृत्तिमा मिडियाले मतियारको भूमिका निर्वाह गर्दै आएको छ । राजनीतिक रस्साकस्सी र उतारचढावमा मिडिया कति बहकिनु हुन्छ ? त्यसको लेखाजोखा हुनु जरुरी छ ।

 

संक्रमणकालीन राजनीतिमा आफ्नो पेशागतभन्दा पनि अलग महत्त्व खोज्ने एक प्रकारको हानाथाप चल्दै आएको छ । शिक्षकलाई अध्यापनमा विश्वास छैन । डाक्टर बिरामी जाँचेर सन्तुष्ट छैन । पत्रकारलाई विशुद्ध पत्रकारिता पोसाउन छाडेको छ । व्यापारी तथा मिडिया सञ्चालकहरू देशको राजनीति आफ्नो कब्जामा रहेको भ्रममा बाँच्ने गरेका छन् । जसको प्रभाव समाचार घटना दुर्घटनाबाट सृजित नभएर बनाइन थालेको छ ।

 

एउटा मोटर सुनकोशी, त्रिशुली या कर्णालीमा झर्‍यो भने मर्ने यात्रुहरूको संख्या बढाउने प्रतिस्पर्धा बढेको देखिन्छ । भएका मिडिया जिम्मेवार र जवाफदेही हुन नसकिरहेका बेला बाढीसरह खुलेका अनलाइन पत्रिकाको गैरजिम्मेवारी अत्यासलाग्दो छ । एउटाले उत्पादन गरेको समाचार झन्झन् रहस्यपूर्ण बनाएर घटनालाई आनको तान फरक बनाउनु उनीहरूले आफ्नो धर्म सम्झने गरेका छन् ।

 

एउटा झूटो समाचारलाई सत्य बनाउन लाखौं हात तयार छ । कुनै मिडिया त्यही व्यक्तिका लागि आरती लिएर अघि सर्छ त कुनै धारेहात लगाएर तीनपुस्ता सराप्न तयार छन् । उसको विगतले आगत निर्देशित गर्दैन । त्यसमाथि राज्यको कानुन प्रक्रिया पालना गरेर आएको मान्छेलाई उसको कर्म नहेरी सराप्न तम्सनु भनेको जीब्रोमा नुन बोकेर तरकारी चाख्न तयार हुनु जस्तै हो ।

 

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै अंगरक्षकको गोली प्रहारबाट मारिइन् । दक्षिण एशियाकै राजनीतिमा ‘देवी’ को उच्च कद बनाएकी इन्दिरा गान्धीको हत्या आफैँमा आठौं आश्चर्य थियो । हत्याको विषयले भारतीय राजनीतिमा एक किसिमको ज्वालामुखी नै विष्फोट भएको थियो । अनपेक्षित घटनाले एकातिर कोकोहोलो मच्चिएको थियो भने अर्कातिर राजनीतिकी उच्च धरोहरमाथि भएको अनपेक्षित प्रहारले पुरै हिन्दुस्तान आहत थियो ।

 

जो कोही जन आक्रोशित थिए । हत्याको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमहरू स्वभावतः आक्रामक शैलीमा उत्रिए ।   खालखालका टीकाटिप्पणी र विश्लेषण हुन थाले । यसै मेसोमा अल इण्डिया रेडियोका प्रस्तोताले आगोमा घिउ थप्दै शिख समुदायको व्यक्तिबाट गान्धीको हत्या भएको भनेर फुकिदिए । अब के थियो र ? हरेक शिखमाथि आक्रमण र धरपकड शुरु हुनथाल्यो । शिखका घरमा आगो झोस्न थालियो । कतिलाई निर्मम तरीकाले मारियो । हजारौँ शिख ज्यान बचाउन विदेश पलायन भए ।

 

गान्धीमाथि गोली दाग्ने कुनै समुदायको नभएर त्यो फगतः अपराधी थियो । अपराधीको न कुनै जात, धर्म, सम्प्रदाय नै हुन्छ । तर अल इण्डिया रेडियोका एउटा प्रस्तोताले सावधानी नअपनाउँदा अपूरणीय क्षति भयो । हजारौ बेघरबार भए । निर्दोष मारिए । समयले त्यो घाउमा खाटा बसाउँदै गयो ।

 

त्यो बेला बेलायत, युरोप, क्यानाडा भासिएका शिखहरू अहिले उद्योगी व्यवसायी बनेका छन् । विदेशी भूमिमा रोजगारदाताको चिनारी बनाएका छन् । तर, नैतिकताको एउटा प्रश्न अझै खबरदारी गरिरहेको छ– ‘कलमको हतियार उज्याएर मानवताविरोधी यस्ता कर्म गर्ने चाहिँ अपराधी हैनन ? यिनीहरू कानुनको दायरामा आउनु पर्दैन ?’

 

नेपालमा दैनिक सय रुपैयाँको कमाई गर्ने मजदुरले दश रुपैयाँ पत्रिकाका लागि छुट्याउँछ । बिहानै उठ्नेबित्तिकै चियाको तलतलसँगै समाचारको भोक मेटाउन झुप्रोदेखि महल एकसाथ ब्युँझन्छ । काठमाडौंमा भारी बोक्ने, रिक्सा, टेम्पो चलाउने, सरसफाई गर्नेहरू सूर्य नउदाउँदै अखबारका सूचनाबाट जानकार भइसकेका हुन्छन् । अझ गरिब भोलि आउने उज्यालोको विश्वासमा वर्तमानको पीडासँग पौंठेजोरी खेल्छ ।

 

त्यसैले, आजको समाचार उसका लागि भविष्यको मानक हो । स्वभावत उसको अर्जुनदृष्टि समाचारमा केन्द्रित हुन्छ । सामाजिक सञ्जालमा हेर्ने हो भने युरोप अमेरिका र खाडीका नेपालीबीच आकाश जमिनको भिन्नता पाइन्छ । युरोप अमेरिका बस्ने र खाडीमा संघर्ष गर्नेहरूको मापदण्ड हुने खाने र हुँदा खाने नै हो ।

 

खाडीमा बस्नेको कमाई जीविकासँग जोडिएको हुन्छ भने युरोप अमेरिका बस्नेहरू त्यो देशको नागरिक हुन संघर्षशील हुन्छन् । अपवाद छोडेर देशका लागि पिआरधारीहरू तोरीलाउरे हुन भने खाडीका डोरीलाउरेहरू सच्चा देशभक्त हुन् । देश सप्रिए विदेशमा बगाउने पसिना र बजार्ने पाखुरी स्वदेशमै उपयोग गर्न पाइने छटपटी उनीहरूमा हुन्छ । ज्यान परदेशमा भए पनि भावना घरमा हुन्छ ।

 

नेपालमा छापिने पत्रपत्रिका, सिडी, डिभीडी, अनलाइन पत्रिका, रेडियो, टिभी च्यानलले गर्ने प्रत्यक्ष प्रसारणमा समेत उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ । एक हातमा गैंती र अर्को हातमा फोन बोकेर स्रोताको कर्तव्य निभाउने तिनीहरूको इच्छाशक्ति साँच्चै प्रशंसायोग्य छ । देशको राजनीतिमाथि खबरदारी गर्नदेखि लोकगीतमा छमछमी नाच्न भ्याएकै छन् ।

 

समाजमा खालखालका तप्का छ । चौतारीमा कटुसको काँचो पातमा सूर्ति बेरेर धुवाँ उडाउँदै बिपी, पुष्पलालबाहेकलाई नेता नमान्नेदेखि भट्टीमा डोनाल्ड ट्रम्पको राजनीतिक भविष्यबारे पिर गर्नेहरूको संख्या कम छैन् । यी सबै गतिविधिको जमिन भनेको एकाबिहानै आमसञ्चार माध्यमले पस्किने समाचारको गुणस्तर हो ।

 

एउटा रिपोर्टरले गैरजिम्मेवार भइदिँदा देशभर बज्ने हजारौँका एफएम रेडियो, टिभी र स्वयं अखबारको सन्देश प्रवाह हुँदा त्यो झुठो भए पनि साँचो भएर उदाउँछ । समाचारमा आएका विषयलाई धारणा बनाएर मानिस बहसमा उत्रन्छ ।

 

अनुजा बानियाँले रचेको पटकथामा नेपालका सञ्चार माध्यमले अभिनय गर्दा देशको राष्ट्रप्रमुख उल्लू भए । के पत्रिकाले लेखेको विषय पत्याउनु राष्ट्रपतिको गल्ती थियो ? यो प्रकरणले उनको हाइट किमार्थ घटेन । इज्जतै नहुनेको बेइज्जती हुने प्रश्नै उठ्दैन । तर उनले उठाएको एउटा प्रश्न थियो– ‘लौ मैले त भनिदिएँ रे ! मैले भनेका भरमा पत्रकारले कुद्न मिल्छ ? अर्को पक्षका विषयमा सोधखोज गर्नु पर्दैन ?’

 

हेर्दा ख्यालख्यालको प्रतिप्रश्न तर हाम्रा आमसञ्चारमाध्यमका लागि घाँटीमा अड्किएको हड्डी सावित हुनुपर्ने हो । दुःखका साथ भन्नुपर्छ भएन । रसेन्द्र भट्टराईको चर्तिकलाले देशको एक नम्बर सञ्चारगृहको ओठ तालु सुकाइदियो । ठूलाले गरेको गल्ती नै भए पनि ठीक भन्ने हो भने त्यो अलग होला तर सत्य र झूटो समान ठान्ने भूल गर्नु हुँदैन ।

 

कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिज्ञमा बौद्धिक, गीता निर्देशित कर्म गर्ने फलको आशा नगर्ने कर्मयोगी राजनेता हुन् । लोभ, मोहबाट आफ्नो राजनीतिलाई निरपेक्ष राखे । मैनजस्तै आफू जलेर प्रकाश छर्ने भगीरथ कोशिस गरे । तर, तिनै कृष्णप्रसाद ‘रक्सी खाने बाहुन’ भनेर २०१५ सालको आमचुनावमा पराजित भए । रक्सी खाने पैसाको जुगाड गर्न संसद जान लागेको भनेर गरेको व्यंग्य पच्न नसक्दा साढे तीन दशकपछि भएको चुनावमा जनमतबाट उनी स्वीकृत हुन सकेनन् ।

 

पञ्चायतलाई जसले जतिसुकै सरापे पनि वृद्धवृद्धा लाठी टेकेर, बिरामी एम्बुलेन्स चढेर, सुत्केरी बोकिएर, क्रियापुत्री अलग्गै बसेर भएपनि मतदान गर्ने संस्कार विकास भएको छ । ३६४ दिन जसले जति रत्यौली खेले पनि एकदिन मतदाताले दिने विवेकको मतले मातिएका, पात्तिएका र मर्म परेकाहरूको न्यायोचित व्यवस्थापन हुने गरेको छ । त्यसैले त राजनीतिशास्त्र भन्छ– ‘जनता कहिल्यै गलत हुँदैन ।’

 

बेलायती इतिहासमा बेइमान राजालाई चिहानबाट निकालेर भाला रोपिएको र अन्यायमा परेका राजाको कंकाललाई गद्दीमा राखिएको इतिहास छ । यी यस्ता प्रसंग सर्वप्रथम सञ्चार माध्यमबाट नै आएका हुन्छन् । कथनी र करनीको तादात्म्य नमिल्दा त्यसले समाजमा पार्ने असर कल्पना गरी साध्य हुन्न ।

केपी शर्मा ओली डा. बाबुराम भट्टराई शंकेत कोइराला