देश कभर स्टोरी

ऐतिहासिक गढीहरूको अस्तित्व संकटमा

ऐतिहासिक गढीहरूको अस्तित्व संकटमा

शत्रुसँग युद्ध गर्न सजिलो होस् भनेर यस्ता गढीहरू बनाइन्थे । राजा पृथ्वीनारायण शाहले राज्य एकीकरण अभियान चलाउँदा देशभरि नै यस्ता थुप्रै गढी बनाएका थिए । समयको परिवर्तनसँगै ती गढीहरू अहिले अस्तित्वको संकटमा छन् भने नयाँपुस्ता त झन् यस्ता जानकारीबाट बेखबर छन् । दशकौँ पहिले भएका ऐतिहासिक एवं साहसिक युद्धका साक्षी यी गढीहरू अब इतिहासका अक्षरमा सीमित बन्दै गएका छन् । यस्तै ऐतिहासिक महत्वको गढी हो– ‘मकवानपुरको चिसापानी गढी ।’

नेपाल राज्यको एकीकरण अभियान चलिरहँदा गोरखाका राजा पृथ्वीनारायण शाहले हातहतियार लुकाउन र शत्रुलाई पराजित गर्न सजिलो होस् भनी यस्ता गढी बनाएको इतिहासमा उल्लेख छ। त्यसबेला काठमाडौं उपत्यकामाथि विजय हात पार्न गोरखाली फौजलाई हम्मेहम्मे परेपछि पृथ्वीनारायण शाहको फौजले गोरखादेखि काठमाडौंसम्मको भू–भागमा धेरै गढी बनाएको थियो । ती मध्ये थुप्रै गढी तथा युद्धस्थल अहिले पुरिएका छन् । कति त बेवारिसे अवस्थामा छन् । नेपाल राज्य एकीकरणका अभियानकर्ताले सामान्य घरेलु हतियार तथा युद्ध कौशलका भरमा युद्ध लड्ने क्रममा बनाएको गढी मध्येको महत्वपूर्ण गढी हो चिसापानी ।

यो गढी तत्कालीन मिर कासीमको फौज तथा पृथ्वीनारायण शाहको फौजबीच भएको गुरिल्ला युद्धको इतिहाससँग जोडिएको छ । त्यही युद्ध प्रयोजनका लागि मकवानपुरको भीमफेदीमा बनाइएको यो चिसापानी गढी अहिले पनि अरू गढीको तुलनामा निकै सुरक्षित तथा भ्रमणयोग्य मानिन्छ । तथापि गढीमा रहेका केही ऐतिहासिक तोप तथा युद्ध सामग्री भने हराएका छन् । गढीमा नेपाली सेनाले बनाएको बटुक भैरव मन्दिरका पुजारी मानबहादुर पौडेलका अनुसार दुइटा ऐतिहासिक तोप सेनाको छाउनीस्थित संग्रहालयमा लगिएको छ भने सात वटा तोप जीर्ण बनेका छन् । यो गढी नेपाली सेनाको संस्थागत विकासको पूर्वाधार पनि मानिन्छ । यही गढीमा भएको युद्धमा नेपाली सेनाले मिर कासीमका फौजलाई परास्त गरेर लुटेको हतियार जम्मा गरेर सेनाको पहिलो गण स्थापना गरिएको थियो । त्यसैले यो गढीलाई नेपाली सेनाले पनि उच्च महत्त्व दिएको पाइन्छ ।

काठमाडौँ उपत्यका प्रवेशका लागि तत्कालीन समयको मुख्य नाका भीमफेदीको निगरानी तथा शत्रु परास्त गर्न पृथ्वीनारायण शाहले चिसापानी गढी बनाएको इतिहासमा उल्लेख छ । पृथ्वीनारायण शाहले गोरखाबाट बाइसे, चौबीसे राज्य एकीकरण अभियान तीव्र पारेपछि काठमाडौं उपत्यकामा विजयको झण्डा गाडेलगत्तै युद्धका क्रममा प्रयोग गरेको दुई तोपमध्ये काली तोप अहिले पनि यही गढीमा देख्न सकिन्छ । इतिहासकारहरूका अनुसार पृथ्वीनारायण शाहसँग रहेका दुई तोपमध्ये अर्को लाली तोप भने उसैबेला गोरखा पुर्‍याइएको थियो ।

चिसापानी गढीपछि अर्को महत्त्वपूर्ण गढी हो– दुगुना गढी । चिसापानी गढीबाट तत्कालीन ब्रिटिस इष्ट इण्डिया कम्पनीको मद्दत लिएर पृथ्वीनारायण शाहको फौजमाथि हमला गर्न आएको फौज परास्त भएको थियो भने दुगुना गढीबाट नेपाली फौजले भोटसँगको युद्ध जितेको थियो । तर दुगुना गढी वर्षौंदेखि बेवारिसे अवस्थामा छ । युद्ध सामग्री लुकाउन तथा शत्रुको हमलाबाट जोगिन गढीमा बनाइएका अखडा भत्केर गएका छन् । मकवानपुर तथा चिसापानी गढीमा अहिलेसम्म एकजना पालेले पुजारी तथा पालेको काम गर्दै आएकाले जेनतेन यसको संरक्षण भइरहेको देखिन्छ । चिसापानी गढीभित्र रहेको बटुक भैरव मन्दिरको त अझ डरलाग्दो किंबदन्ती छ । यो मन्दिरमा आजसम्म महिलालाई प्रवेश निषेध गरिएको छ । यस मन्दिरमा भाकल गरेर पुरुषले बोका बली चढाएमा मनले चाहेको पूरा हुन्छ भन्ने विश्वास रहे पनि  मन्दिरको मूल ढोकामा लेखिएको छ – ‘महिलालाई प्रवेश निषेध ।’ मन्दिरको भित्तामा काली तोप रहेको र त्यो तोप महिलाले हेर्न नहुने भएकाले महिलालाई निषेध गरिएको पुजारी बताउँछन् ।  

आधुनिकताका नाममा हाम्रो पहिचान बोकेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धर्म, सस्कृति तथा सम्पदा अतिक्रमणमा परेका छन् । इतिहासका यी महत्वपूर्ण सम्पदा भावी पुस्ताका लागि पनि सुरक्षित राख्न जरुरी छ । सिन्धुलीगढीको परिचय महाभारत श्रृंखलाको लगभग ४६४८ फिटको उचाईमा रहेको ऐतिहासिक सिन्धुलीगढी किल्ला सदरमुकाम सिन्धुलीमाढीवाट करिव १६ किलोमिटर उत्तर र राजधानीबाट १ सय ४० किलोमिटर पूर्वमा रहेको छ । विक्रम संवत २०१९–२० सालसम्म सिन्धुली गढी पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रको रुपमा परिचित थियो भने पूर्वी तराईका जिल्लादेखि काठमाडौं जाने सवैले यो पैदल बाटो प्रयोग गर्ने गर्दथे । सिन्धुलीगढी ऐतिहासिक दृष्टिले समग्र नेपालको इतिहासमा महत्त्वपूर्ण स्थान हो ।

सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित इतिहास हो । त्यस क्षेत्रमा निर्माण गरएिका खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले पनि हाम्रा पुर्खाको जीवित इतिहासका रूपमा रहेकाछन् । हाम्रा बहादुर पौरखी योद्धा पुर्खाहरूले अपनाएको युद्ध रणनीतिको जिउँदो जाग्दो इतिहास यहाँ पुग्दा देखिन्छ । क्याप्टेन किनलकले आफ्नो डायरीमा उल्लेख गरेको सिन्धुलीगढी दरबार यहाँको आकर्षण मध्येको एक स्थान हो, जुन सिन्धुलीमाढीबाट बिपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दूरीमा रहेको छ ।

विक्रम सम्वत् १३६७ मा सिम्रौनगढका सेना (डोयहरू) काठमाडौंमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै जनकपुर फर्किदा कमलामाई मन्दिरमा चढाएको मुकुट, मुलकोट, खुर्कोटजस्ता कोट लागेका स्थान, सुल्तान समसुद्दीनको काठमाडौं आक्रमण, विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बंगालको सुल्तान समसुद्धिन इलियासले काठमाडौं ध्वस्त बनाएको इतिहासको कारण सिन्धुलीगढी प्रमुख रणनीतिक नाकाको रूपमा सधैं रहन पुगेको थियो । पटक पटक काठमाडौंमाथि आक्रमण हुँदा सिन्धुलीगढीको यही नाकाबाट शत्रु आउने भएकोले सधैं यो ठाउँ मुख्य नाकाको रूपमा प्रख्यात रह्यो । जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ र मगध राज्यमाथि आधिपत्य जमाएपछि पूर्वका शासकहरूले काठमाडौंमाथि आक्रमण गर्न नसकून भनेर विसं १५०० तिर यो गढी सशक्त बनाइएको थियो । पछि मिथिला, मगधलगायत बंगालका व्यापारी दोलखा, काठमाडौं बनेपासम्म व्यापार गर्नको लागि आवतजावत गर्ने प्रमुख नाकाको रूपमा सिन्धुलीगढी रह्यो । विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिवसिंह मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य जमाएपछि बंगालका शक्तिशाली शासकहरूले कान्तिपुरमाथि सैन्य कारवाही गर्न नसकुन भनेर विसं १३६७ देखि राणाकाल तथा शाहकालीन समयसम्म यो ठाउँले राजनैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्त्व बोकेको देखिन्छ ।

यो लेख पब्लिक न्युज एजेन्सीको सहकार्यमा तयार पारिएको हो।

संकट गढी नेपाल–अंग्रेज युद्ध