समाचार

नेपाली वा मातृभाषा जान्नेलाई मात्रै नागरिकता

नेपाली वा मातृभाषा जान्नेलाई मात्रै नागरिकता

काठमाठौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली वा नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जान्ने गैरआवासीय नेपालीले मात्रै नागरिकता प्राप्त गर्ने सर्त राख्न लागिएको छ । संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने व्यवस्था छ । यसलाई कार्यान्वयन गर्न कानुनमा नेपाली वा नेपालकै कुनै मातृभाषा जान्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको हो ।

 

‘मुलुकबाहिर भए पनि नेपाली वा मातृभाषाको मोह बढाउन यस्तो व्यवस्था राख्न लागिएको हो,’ एक सांसदले भने । त्यस्तै नागरिकता प्राप्त गर्ने व्यक्तिलाई शपथ गराउनुपर्ने व्यवस्था राख्न लागिएको छ । मस्यौदाअनुसार नागरिकता लिन चाहने गैरआवासीय नेपालीले गृह मन्त्रालय मातहतको निकायमा निवेदन दिनुपर्ने हुन्छ । यसअघि सरकारले ल्याएको विधेयकमा मन्त्रालयमै निवेदन दिनुपर्ने व्यवस्था थियो ।

 

निवेदकको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले नेपाली नागरिकता लिएको भए परित्याग गरेको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानुन परिपालना गर्ने प्रतिबद्धतापत्र पेस गर्नुपर्ने हुन्छ । निवेदन प्राप्त भएपछि मन्त्रालयले आवश्यक प्रमाण बुझेर गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्न लागिएको हो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नागरिकता