अर्थ शेयर

नेप्सेको सर्किट ब्रेकमा नयाँ नियम, यस्तो छ प्रस्तावित प्रावधान

नेप्सेको सर्किट ब्रेकमा नयाँ नियम, यस्तो छ प्रस्तावित प्रावधान

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले सेयर कारोबारमा नयाँ नियम लागु गर्ने भएको छ । हालैमात्र अनलाइन कारोबार प्रणालीको सुरुवात गरेको नेप्सेलाई नेपाल धितोपत्र बोर्डले हालको ब्रेकिङ्ग प्रणालीलाई संसोधनको उचित विकल्प खोजी गर्न निर्देशन दिएसँगै नेप्सेले नयाँ प्रणालीको प्रस्ताव तयार गरेको हो । 

 

नेप्सेले सञ्चालक समितिबाट निर्णय गराएर उक्त प्रस्ताव धितोपत्र बोर्डमा बुझाएको छ ।
नेप्सेले २ किसिमको प्रस्ताव धितोपत्र बोर्डलाई बुझाएको छ।

पहिलो प्रस्तावमा बजार घटबढको प्रतिशतमा मात्र हेरफेर गरी हाल विद्यमान व्यवस्थाको समयलाई नै व्यवहारिक मानिएको छ। भने दोस्रो प्रस्तावमा बजार घटबढको प्रतिशतका साथै कारोबार स्थगनको अवधिमा समेत संसोधन प्रस्ताव गरिएको छ।

पहिलो प्रस्तावमा नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार सुरु भएपछिको पहिलो एक घण्टा भित्रमा बजार ४ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसै गरी कारोबार सुरु भएको २ घण्टा भित्रमा ५ प्रतिशतले बजार घटबढ भएमा ३० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी बजार खुलेपछि कुनै पनि समयमा ६ प्रतिशतको घटबढ भएमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

दोस्रो प्रस्तावमा शेयर बजार खुलेको पहिलो १ घण्टमा बजार ४ प्रतिशतले घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ। त्यसैगरी कारोबार खुलेको २ घण्टाभित्रमा बजार ६ प्रतिशतले घटबढ भएमा ४० मिनेटका लागि कारोबार स्थगन गर्ने प्रस्ताव गरिएको छ। बजार खुलेपछि कुनै पनि समयमा ८ प्रतिशतको उतारबढाव आएको खण्डमा पूरा दिनका लागि शेयर कारोबार स्थगित गर्ने प्रस्ताव गरिएको छ ।

अहिलेको व्यवस्था अनुसार बजार खुलेको पहिलो १ घण्टामा ३ प्रतिशतको उतारचढाव आएमा १५ मिनेटका लागि, बजार खुलेको २ घण्टा भित्रमा ४ प्रतिशतको उतार(चढाव आएमा ३० मिनेटका लागि र कुनै पनि बेला ५ प्रतिशतको उतारचढाव आएमा पुरा दिन शेयर कारोबार स्थगित हुने व्यवस्था छ ।

नेप्सेले पठाएको प्रस्तावका आधारमा अहिलेकोभन्दा धेरै अङ्कले बजार तल माथि हुँदा मात्र सर्किट ब्रेक लाग्नेछ। यद्यपी नेप्सेको प्रस्तावलाई धितोपत्र बोर्डले कसरी अन्तिम रुप दिन्छ भन्ने हेर्न बाँकी छ। धितोपत्र बोर्डले दोस्रो बजारमा भित्रिएको प्रविधिसँगै हालको सर्किट ब्रेक प्रणालीमा संसोधन गर्नका लागि के कसरी जान सकिन्छ सोको प्रस्ताव बुझाउन नेप्सेलाई निर्देशन दिएको थियो।

नेप्सेका एक अधिकारीका अनुसार विभिन्न मुलुकमा सर्किट ब्रेक प्रणालीमा अवलम्बन गरिएका शैलीको अध्ययन गरेर नयाँ व्यवस्था सुझाव गरिएको हो। उनका अनुसार गत साता नेप्से सञ्चालक समितिको बैठकले उक्त प्रस्तावहरु धितोपत्र बोर्डमा पठाउने निर्णय गरेलगत्तै पठाइएको हो।

अहिले अमेरिकामा घण्टाका आधारमा १८ प्रतिशतसम्मको उतारचढावमा मात्र सर्किट ब्रेक लाग्ने गरेको छ भने भारतमा पनि १० प्रतिशतसम्मको उतारचढावमा सर्किट लगाउने गरिएको छ । तर अमेरिकको शेयर कारोबार अवधि धेरै समय हुने र आधुनिक किसिमको बजार भएका कारण नेपाली बजारमा सोही अनुसारको सर्किट ब्रेक प्रणाली कार्यान्वायन गर्न असम्भव रहेको नेप्सेको बुझाई छ ।

के हो सर्किट ब्रेक ?
शेयर बजार तिब्र गतिमा उकालो लाग्दा व ओरालो लाग्दा लगानीकर्तालाई धेरै असर नपरोस् भन्नका लागि निश्चित प्रतिशतको उतार(चढावमा कारोबार स्थगन गर्ने प्रणाली नै सर्किट ब्रेक हो । 

समग्र सूचकको हकमा माथि उल्लेख गरिए अनुसार कारोबार स्थगन हुँदै आएकोमा कम्पनीको शेयर मूल्यमा १० प्रतिशतसम्मको मात्र उतारचढाव हुन सक्ने व्यवस्था छ।

कम्पनीको शेयर मूल्यमा आउने उतार चढावका सम्बन्धमा अहिलेको संसोधन प्रस्तावमा केही उल्लेख गरिएको छैन ।

सेयर बजार