प्रतिपक्षीको उपस्थितिबिनै धमाधम संवैधानिक निकायमा सिफारिस

प्रतिपक्षीको उपस्थितिबिनै धमाधम संवैधानिक निकायमा सिफारिस

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ।

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए। तर, प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषद्को बैठक राखेर निर्वाचन आयोगको प्रमुख र समावेशी आयोग अध्यक्षमा नाम सिफारीस गरेपछि सरकार र प्रतिपक्षीबीच दूरी थप बढेको छ।

 

संवैधानिक व्यवस्थाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै यसअघि पाँच संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गरेकोमा असन्तुष्ट प्रमुख प्रतिपक्षी संसदीय सुनुवाइ समिति बैठक बहिष्कार गर्दै आएका छन्।

 

संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोग प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियालाई नियुक्तिका लागि सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिसको निर्णय गरेको हो।

 

थपलियाले मन्त्रालयबाट सोमबार नै सचिव पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिएलगत्तै उनी प्रमुख आयुक्तमा सिफारिस भएका हुन्। सचिव थपलिया २०४१ सालदेखि ६ वर्ष प्राविधिक सेवासहित २७ वर्ष प्रशासन सेवामा काम गरिसकेका छन्। उनी सचिवबाट एक महिनापछि उमेर हदका कारण अवकाश लिने क्रममा थिए।अवकाश लिनुअघि नै उनी संवैधानिक आयोगको प्रमुखमा सिफारिस भएका हुन्। यो खबर आजको नागरिक दैनिकबाट लिइएको हो ।

केपी शर्मा ओली शेरबहादुर देउवा

संम्बधित खबर

ADVERTISEMENT