राजनीति

बाहिर हल्ला मन्त्रिपरिषद् फेरबदलको, प्रधानमन्त्री ओली भन्छन् : तत्काल हुँदैन

बाहिर हल्ला मन्त्रिपरिषद् फेरबदलको, प्रधानमन्त्री ओली भन्छन् : तत्काल हुँदैन

मोरङ । मन्त्रिपरिषद फेरबदल हुने भन्ने समाचार आइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने बताएका हुन्।

 

यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षमध्ये एक पुष्पकमल दाहालले मन्त्रिपरिषद् फेरबदल हुने बताएका थिए। त्यस्तै, मन्त्रीहरू रघुवीर महाशेठ, मातृका यादवलगायतले विभिन्न सार्वजनिक समारोहमा मन्त्रिपरिषद्‍मा फेर बुदल हुन लागेको संकेत गरेका थिए। तर, प्रधानमन्त्री ओलीले ती विषयको खण्डन गर्दै तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने बताएका हुन्।

 

‘प्रचण्डजीले तपाईहरुलाई भनेको कुरा मैले पनि सुनेको छु,’ नेकपा अर्का अध्यक्ष प्रचण्डले एक साताअघि विराटनगर नै पुगेर मन्त्रिपरिषद तत्काल पुनर्गठन हुने बताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँले प्रधानमन्त्रीजीको कुरा हो भन्नुभएको छ, खाली रहेको मन्त्रालयले उपर्युक्त समयमा पूर्णता पाउँछ। तर, मन्त्रीहरु हेरफेर भने हुँदैन।’

 

यस्तै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अनधिकृत झुण्ड भएको टिप्पणी गरेका छन्। ‘जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो,’ उनले भने, ‘त्यस्तालाई सरकारले चिन्दैन।’ उनले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाइएको दाबी गरे।

 

प्रधानमन्त्री ओलीले विप्लव समूहबारे धारणा राख्दा सचेत हुन नेताहरुलाई आग्रह गरे। उनले भने, ‘नेपालका नेताजीहरुलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, उनको पार्टी कहीँ दर्ता भएको थियो र?’

केपी शर्मा ओली मन्त्रिपरिषद्