शेयर

साताको अन्तिम दिन सेयर बजारमा झिनो गिरावट 

साताको अन्तिम दिन सेयर बजारमा झिनो गिरावट 

काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजार साताको अन्तिम दिनमा आएर झिनो अंकले तल झरेको छ । 
बिहिबार नेप्से परिसूचक ०.१५ अंकले घटेर १,१३९.५७ अकंमा कायम भएको छ । 


आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स भने ०.११ अंकले बढेको छ ।

बजार परिसुचक घटेको अवस्थामा सेन्सेटिभ इण्डेक्स बढ्ने कहिले काँही मात्र हुन्छ । यसले बजार बढेको वा घटेकोभन्दा पनि स्थिर अवस्थाका रुपमा लिन सकिन्छ ।

वाणिज्य बैंकहरुको शेयर मूल्यमा आउन थालेको गिरावट रोकिएर सुधारोन्मुख हुँदा नेप्सेको तिब्र गतिको ओरालो यात्रा रोकिएको हो। कारोबार रकम पनि केही दिन यता स्थिर अवस्थामा बस्न खोजेको बिहीबारको बजारले देखाएको छ।

 

१६४ कम्पनीका ८ लाख ८२ हजार ३०७ कित्ता शेयर ६ हजार ३१२ वटा कारोबारबाट २५ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । 
आज अघिल्लो दिनको तुलनामा कारोबार रकममा सामान्य बढोत्तरी देखिएको हो । बुधबार बजारमा १६७ कम्पनीका ७ लाख ४६ हजार ९४६ कित्ता शेयरहरु ५ हजार ३०३ पटक किनबेच हुँदा २३ करोड ५६ लाख रुपैंयाको कारोबार भएको थियो ।

 

यस दिन कारोबारमा आएका १० उप समूहमा मिश्रत उतारचढाव देखिएको छ । जसमा ६ वटा सूचक ऋणात्मक हुदा ४ वटा समूह बढेका छन् ।

होटल र बैंकिङ्ग समूहको सुचक दुई अंकले बढेको बजारमा लघुवित्त र वित्त समूहको सूचक झिनो अंकले मात्र सुधारिएका छन् ।

 

बिहिबार जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात ४३.५७ अंकले घट्यो । र्निजीवन बीमा २२.४३, अन्य २.५५, जलविद्युत २.५, व्यापार ०.५९ र विकास बैंक समूहको सूचक ०.४३ अंकले घटेका छन् ।

 

यस दिन कारोबार रकमका आधारमा पहिलो स्थानमा नेपाल इन्स्योरेन्सको शेयर कारोबार पर्दा शेयर संख्याका आधारमा सोल्टि होटल शिर्ष स्थानमा परेको छ । 


नेपाल इन्स्योरेन्सको ४५ हजार ३९४ कित्ता शेयर दुई करोड ४५ लाख रुपैयाँमा कारोबार भयो भने सोल्टि होटलको एक लाख कित्ता शेयर दुई करोड एक लाख रुपैयाँमा खरिद बिक्री भएका छन् ।

 

बिहीबारको कारोबारमा सामूदायिक लघुवित्तको शेयर मूल्य सबै भन्दा धेरै अर्थात ८.८१ प्रतिशतले बढोत्तरी भएको छ । मेरो माईक्रोफाइनान्सको शेयर मूल्य ४.०३ प्रतिशतले बढेको बजारमा जनता बैंकको ३.७, मिर्मिरे लघुवित्तको ३ र प्रुडेन्सियल इस्योरेन्स, नेपाल बंङ्गलादेश बैंक, छयाङदी हाइड्रोपावर लगायत कम्पनीको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले बढेको छ ।

 

उता जोशी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै अर्थात ८.६३ प्रतिशतले संकुचित भएको छ । महुलि सामूदायिक लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक, लक्ष्मी इक्विटी फण्ड, नेपाल हाइड्रो डेभलपर्स, नेरुडे लघुवित्त र रिडि हाइड्रोपावर डेभलपमेन्टको शेयर मूल्य दुई प्रतिशत भन्दा धेरैले घटेको छ ।

सेयर बजार