समाचार

कोदालोले खनेरै गाउँमा मोटरबाटो

कोदालोले खनेरै गाउँमा मोटरबाटो

रोल्पा । सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ । यो निर्णयअघि नै रोल्पा हाङवाङ, गोलवाङ र गुन्थालवासीले आफैंले खनेर गाउँमा मोटरबाटो पुर्‍याएका छन्। गाउँलेको पहलमा गाउँमा मोटरबाटो मात्रै पुगेन, स्थानीयले राम्रो ज्यालासमेत पाए। रोल्पा नगरपालिका–९ हाङबाङ, गोलबाङ र गुन्थालवासीले कोदालोले खनेर गाउँमा सडक पुर्‍याएका हुन्।

 

कुटो, कोदालो, साबेल र बेल्चाले पहाडको भित्ता खनेर गाउँमा बाटो पुर्‍याएपछि गाउँले दंग परेका छन्। सदरमुकाम लिबाङ–ह्वामा लिउन सडकखण्डको चंकुपासाबाट गाउँलेले सडक खनेका हुन्। सडक खनेबापत ज्याला पाएपछि उनीहरूमा झन् उत्साह थपिएको छ । घरेलु हतियार प्रयोग गरी खनेरै गाउँलेले ३ किलोमिटर ७ सय मिटर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए।  जहाँतहीँ डोजरले सडक खनिरहेका बेला यहाँका बासिन्दा भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक खन्न व्यस्त हुन्थे।  यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

रोल्पा कोदालो

विशेष