शेयर

मौद्रिक नीतिको समीक्षासँगै बजारमा सकारात्मक प्रभाव, एकै दिन २२.४४ अंकको छलाङ्ग

मौद्रिक नीतिको समीक्षासँगै बजारमा सकारात्मक प्रभाव, एकै दिन २२.४४ अंकको छलाङ्ग

काठमाण्डौ । धेरै समयपछि मंगलबार सेयर बजारमा हरियाली छाएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले ब्याजदर घटाउने गरी केही नयाँ व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको हो।  

 

कर्जाको ब्याजदर घट्ने, तरलता सहज हुने गरी मौद्रिक नीति आएपछि यसले बजारलाई समेत राम्रो गर्ने अपेक्षासहित लगानीकर्ताहरु उत्साहित देखिएका छन् । त्यसैले प्रभावमा आज बजारमा सकारात्मक देखियो । आज एकै दिन नेप्से परिसूचक २२.४४ अंकले वृद्धि भएको छ । 

 

यो कारोबार दिन सेयर बजार परिसूचक(नेप्से) २२.४४ अंकले बढेर ११२४.९६ को विन्दूमा फर्किएको छ । मंगलबार ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इण्डेक्स पनि ४.५५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.६२ अंकले बढेको छ । 

 

एकातिर बजारमा मौद्रिक समीक्षाको सकारात्मक प्रभाव देखिएको छ भने अर्कोतर्फ बजार घटेर न्यून बिन्दूमा झरेको बेला दोश्रो बजारबाट सस्तोमा राम्रो कम्पनीको सेयर किन्ने मौका समेत कतिपय लगानीकर्ताले छोप्न थालेका छन् । यहीकारण बजारमा एकाएक दोहोरो अंकको वृद्धि आएको हो । 

 

यो दिन जीवन बिमा समूह, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहमा माथि उठेका छन् । जीवन बिमा समूह ४.५७ प्रतिशत (२५१.७३ अंक)ले बढेको छ भने माइक्रोफाइनान्स समूह २.९९ प्रतिशत(४१.२८ अंक)ले र निर्जीवन बिमा समूह २.९ प्रतिशत (११५३.९३ अंक)ले बढेका छन् । 

 

त्यस्तै, बैंकिङ समूह १४.६९ अंकले बढेका छन् भने होटल समूह २३.०५ अंक, विकास बैंक समूह २१.१६ अंक, जलविद्युत समूह २७.०५ अंक, उत्पादनमूलक समूह ६.१३ अंक र अन्य समूह १५.५४ अंकले बढेका छन् । 

कुल १६७ कम्पनीका ७ लाख १४ हजार ८७६ कित्ता सेयर २१ करोड ४५ लाख ८८ हजार ६१९ रुपैयाँमा कारोबार भएकोमा आज धेरै कारोबार गर्ने कम्पनीहरुमा अपर तामाकोशी, नागरिक लगानीकोष, नेपाल बैंक र नवील बैंक शीर्ष स्थानमा छन् । 

 

यो दिन अपर तामाकोशीले सबैभन्दा बढी १ करोड २७ लाख बढीको कारोबार गरेको छ । यस्तै, नागरिक लगानीकोषले ९७ लाख, नेपाल बैंकले ८९ लाख बढीको कारोबार गरेको छ भने नवील बैंकको ८१ लाख बढीको संस्थापक सेयर किनबेच भएको छ । 

 

छिमेक लघुवित्तले ६१ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले ६० लाख, सनराइज बैंकले ५८ लाख, नेपाल लाइफ इन्स्योरेन्स ५७ लाख, सिभिल बैंकले ५० लाख र प्रभू ४९ लाख बढीको कारोबार गरेको छ । 

 

आज धेरै कमाउनेहरुमा चौतारी लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन् । यी कम्पनीका सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।

 

यता वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीको सेयरमा भने गिरावट आएको छ । कम्पनीको सयेरमा १० प्रतिशतको गिरावट आएपछि नेगेटिभ सर्किट लाग्यो ।

सेयर बजार