राजनीति

भेनेजुयला प्रकरणमा 'चिप्लिएको बोली' सुधार्न प्रचण्ड-ओलीबीच बालुवाटरमा भेट

भेनेजुयला प्रकरणमा 'चिप्लिएको बोली' सुधार्न प्रचण्ड-ओलीबीच बालुवाटरमा भेट

काठमाडौं । भेनेजुएला राजनीतिक संकटलाई लिएर जुहारीमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहालबीच शनिबार भेटवार्ता भएको छ । उनीहरुबीच शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।

 

भेटमा भेनेजुएलासम्बन्धि विज्ञप्तिले उब्जाएको विवाद तथा पार्टी एकीकरण विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । ‘दुई अध्यक्षका फरकफरक धारण सार्वजनिक भएपछि त्यसले पार्टीभित्र अन्योल जन्माउनुका साथै विवाद पनि बढाइरहेको बेला दुई अध्यक्षको भेटले सार्थकता रुप लिएको छ’ बालुवाटार स्रोतले भन्यो । स्रोतका अनुसार पार्टीभित्रकै नेताहरुले दुई अध्यक्षका भनाईलाई आआफ्नो तरिकाले व्याख्या गर्न थालेका थिए ।

 

भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष ओली र दाहालबीच दोहोरी चलिरहेको थियो। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए। एउटा व्यक्ति भनेर दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई संकेत गरेका हुन्। ‘

 

दुई नेताबीच भेनेजुएला प्रकरणमा देखिएको विवादबारे सरकार र पार्टीको धारणा सार्वजनिक भइसकेको अवस्थामा अब त्यस विषयमा कहीं कतैबाट अर्को अभिव्यक्ति सार्वजनिक नगर्ने र तल्लो तहमा पार्टी एकीकरण प्रक्रिया तत्काल टुंग्याउने सहमति भएको छ। यो समाचार नागरिक दैनिकबाट लिइएको हो।

केपी शर्मा ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’