समाचार

प्रेमीसँग मिलेर आमाको हत्याः छोरीसहित ४ जनालाई जन्मकैद

प्रेमीसँग मिलेर आमाको हत्याः छोरीसहित ४ जनालाई जन्मकैद

भक्तपुरः जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहितका ४ जनालाई जन्मकैदको फैसला गरेको छ । श्रेस्तेदार घनेन्द्र अधिकारीका अनुसार बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले अभियोग मागदाबी बमोजिम छोरी ईश्वरी र हत्या संग्लन अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको हो ।

चाँगुनारायण नगरपालिका–७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गरेकी थिइन्।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ बाँडेगाउँकी भट्टराई आफ्नी छोरी ज्वाईंको घरमा बस्दै आएकी थिइन्। प्रहरीले हत्याको विषयमा अनुसन्धान गर्दा हत्यामा छोरीकै संलग्नता रहेको भन्दै छोरी ईश्वरी, सिरहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रईशलाई पक्राउ गरेको थियो।

ईश्वरीले १२ लाख रुपैयाँमा सुपारी दिएर आमाको हत्या गर्न लगाएको पुष्टी भएको अदालतले जनाएको छ। भक्तपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रेमीसँग मिलेर ईश्वरीले आमाको हत्या गर्न भारतीय कन्ट्रायक्ट किलर भाडामा प्रयोग गरेकी थिइन्। छोरीको प्रेम सम्बन्धका बारेमा आमालाई थाहा भएकै कारण उनको हत्या गराएको हो।

भक्तपुर हत्या जन्मकैद