कला साहित्य भिडियो Breaking News कभर स्टोरी

कविता र विज्ञानलाई जोड्ने खेम ढकाल ( भिडियोसहित) 

कविता र विज्ञानलाई जोड्ने खेम ढकाल ( भिडियोसहित) 


करिब २० वर्षअघि २०५६ सालमा बाग्लुङका युवक खेम ढकाल ‘विस्मात’ को जीवनमा अचानक एउटा ‘टर्निङ पोइन्ट’ आयो । बीबीसीले आयोजना गरेको कविता प्रतियोगितामा उनी प्रथम भए । कविताबाट उनी चर्चित मात्र भएनन् उनको बेलायत यात्राको ढोका पनि खुल्यो । 

त्यसबेला कवि ढकालले ‘मनहरु जिजिविषासँगै बाँच्ने गर्छन्’ शीर्षकको कविता प्रस्तुत गरेका थिए । उनको यो कविता विज्ञान मिश्रित थियो । कवितामा विज्ञानका तथ्यहरुको साहरामा कविताको सुन्दर अभिव्यक्ति त्यहाँ छ । 

कवितामा प्रथम भएपछि बेलायत छिरेका ढकाल त्यहाँ बैज्ञानिक भएर निस्किए । सानैदेखि विज्ञानमा रुची राख्ने ढकाल रसायन शास्त्री हुन् । उनी बेलायतमा सिलिका रहेको एस्बेष्टस (ब्कदभकतयक) का बारेमा अध्ययन अनुसन्धान गरिरहेका छन् । यसले बेलायत मात्र होइन संसारभर फोक्सोको क्यान्सर बढाइरहेकाले यसैमा बढी केन्द्रीत भैरहेको उनी बताउँछन् । 

उनका अनुसार मुख्यतः निर्माणका काममा संलग्न मानिसहरुलाई यसको बढी खतरा छ । नेपालमा त कुनै सावधानी नै अपनाइएको छैन । निर्माण सामग्री आयात निर्यात गर्दा होस वा निर्माणका कामहरु भैरहँदाहोस यो पदार्थका कारण फोक्सोको क्यान्सरको सम्भावना निकै बढाएको छ । 

सरकारले २०१४ मा निर्माण सामग्री आयात निर्यात गर्दा एस्बेष्टसमा प्रतिवन्ध लगाएको थियो । तर, यो व्यवस्था कागजमा मात्र सिमित भयो । भारतबाट सिलिका मिसिएको एस्वेष्टस खुल्लमखुल्लारुपमा भित्रिरहेको छ । यसबारे सर्वसाधारण र व्यवसायी जानकार नभएपनि सरकारी निकायले चासो दिएर कार्यान्वयनमा जानुपर्ने हो, त्यो नहुनु विडम्बनापूर्ण छ । 

ढकालका अनुसार बेलायतमा डेढ लाख भन्दा बढी नेपाली बिभिन्न काम व्यवसायमा संलग्न छन् । ती मध्ये करिब १२ हजार मात्रै गैर आवासिय नेपाली संघमा आबद्ध छन् । संघको काम राजनीति मात्र गर्ने भएकाले यसप्रति विश्वास हट्दै गएको छ । 

ढकाल भन्छन्, ‘एनआरएनको म सदस्य बनेको छैन । म मतदाता पनि होइन । डेढ लाख नेपालीमा १२ हजार मात्रै बेलायतबाट सदस्य छन भनेपछि यसको अवस्था के होला, त्यसै अनुमान गर्न सकिन्छ । एनआरएनए भनेको कांग्रेस र कम्युनिष्टको राजनीति गर्ने थलो मात्र हो । ’

नेपालको विकास गर्न विज्ञान र प्रविधिमा उच्चतम लगानी गरी अनुसन्धानका काम गर्नुपर्छ । विज्ञानमा युवाहरुको आकर्षण बढाउनु पर्दछ । अहिले प्लस टु पास गर्यो कि विदेश जाने लहर चलेको छ । यो राम्रो होइन । सरकारले स्वदेशमै अवसर र भविश्य छ भन्ने वातावरण बनाउन सक्नु पर्छ । यसो भयो भने विदेशमा रहेका नेपाली पनि आफनो देश फर्किन्छन् । 
साहित्यमा कविता, गजल र कथामा विशेष रुची रहेका ढकाल चाँडै आफना सृजना पुस्तकका रुपमा बजारमा ल्याउने तयारीमा छन् । उनलाई नेपाली साहित्यमा सरुभक्तका सृजनामा बढी अभिरुची छ, शायद सरुभक्तका सृजना पनि बिज्ञानका सामग्री भेटिने भएर होला !