विचार

भ्रमलाई सत्यको पखेटा

भ्रमलाई सत्यको पखेटा

हाम्रो जीवनको गति नकारात्मक धारमा बहेको छ । आशङ्का र आक्रोश, गतिहीनता र निराशा, आरोप र अभिमान हाम्रो जीवनका अभिन्न अङ्ग बन्न पुगेका छन् । बिहान ब्युझेदेखि भरे ननिदाउँदासम्म हाम्रो सोच नकारात्मक मात्रै रहन्छ । हाम्रा विचारहरु कलुषित छन् । सम्भावनालाई शङ्का गर्छन् हाम्रा आँखाहरु । यो संसारको सबै सबै मलाई थाह छ, बाँकी सबै मुर्ख छन्, भन्ने अभिमानले घर जमाएको छ । हाम्रो दिमागमा सकारात्मक सोच  र सिर्जनात्मक चेतको बीजारोपण हुनै छाडेको छ । अरुलाई आरोप लगाउँदा मात्रै मेरो उचाइँ कायम रहन सक्छ भन्ने भ्रममा बाँचेका छौँ हामी ।

हामीले क्षमा माग्न बिर्सिसक्यौँ । खराबै गरेको भए पनि हामीभित्रको अभिमानले हामीलाई स्वीकार्न दिँदैन र हामी भन्ने गर्छौँ, 'मैले जे भनेको छु/गरेको छु त्यही ठीक हो ।' सत्यका अनेक आयाम हुन सक्छन्, सत्य निरपेक्ष हुदैन भन्ने तथ्यलाई हामी बिर्सिदिन्छौँ । र, अर्काको सत्यलाई गलत र आफ्नो सत्यलाई मात्रै सत्य ठान्छौँ । के सधै यसरी नै हामी भ्रममा बाँचिरहने हो त ? यही नकारात्मकता, अभिमान र गतिहीनतामै हामी रुमल्लिरहने हो त ? हाम्रो सोच र अवधारणामा थोरै परिवर्तन गर्न सक्दा हाम्रो समाज र देश परिवर्तन हुन सक्छ भने हामीले यस दिशामा किन नसोच्ने ?

मेरो एउटा छोरो छ । उमेरले झण्डै २५ वर्षको भयो । स्नातक अन्तिम वर्षतिर अध्ययन गर्दैछ । पढाइमा पटक्कै रुचि छैन । परिवारको जोडबल र बाध्यताबस जेनतेन त्यहाँसम्म पुगेको छ । भन्छ, कहिले कतार जान्छु, कहिले जापान जान्छु । राजनीतिमा उसको रुचि छ तर  नेता बन्ने छाँट भने छैन । नेताको पछिपछि दौडिन्छ । बाले पेट्रोल हाल्दिएको मोटरसाइकलमा उसका नेतालाई दौडाउँछ र अरुबेला दिनभर क्यारम्बोर्ड खेल्छ । हाम्रा आँखा छलेर बेलाबेला तास पनि खेल्दो हो ।  हामी श्रीमान् श्रीमती जागिरको सिलसिलामा घर बाहिर छौँ । यसकारण पनि मेरा बाले जोडिदिएको झण्दै एक बिगहा जमिन बिगत ३ वर्षदेखि बाँझै छ । सिचाइँ सुविधा पनि छ । उत्पादन गर्न सके बजारको पहुँच पनि छ ।

सरकारले विभिन्न अनुदान उपलब्ध गराउँदै आएको पनि छ । गर्न सके त्यही बाले जोडिदिएको खेतबाट मनग्ने आम्दानी गर्न सकिन्छ । तर ऊ कि त कतारको सपना देख्छ कि नेताको पछिपछि दौडिएर नेतै बन्ने सपना देख्छ । काम गर्ने पटक्कै जाँगर छैन । खाने बेलामा यो मिठो र त्यो नमिठो भनि गुनासो गरिरहन्छ । म मेरै खेतबारीमा केही गर्छु, स्वावलम्बी बन्छु भन्ने भाव पटक्कै छैन । राम्रो पढ्छु र केही जागिर गर्छु भन्ने पनि उसको दिमागमा आउँदैन । केही उद्यम गर्छु र आर्जन गर्छु भन्ने उसको रुचिमै पर्दैन ।

राजनीति पेसा होइन समाजसेवा हो र यसबाट जीवन चल्दैन, राजनीति गरे पनि जीवन चलाउन त केही न केही पेसा अँगाल्नै पर्छ भन्ने सत्यलाई उसले स्वीकार्दैन । यसका पछाडी हाम्रो राजनीतिक संस्कार जिम्मेवार छ । यद्यपि त्यो संस्कारलाई बढावा दिएको हामी जनताले नै हो । र अब करेक्सन गर्नु पर्छ भन्ने उसलाई लाग्दैन र उल्टै मलाई भन्छ, 'बा तपाई कुरै बुझ्नुहुन्न ।' उसको आँखामा मेरो जीवन यसरी कुरा नबुझेरै दौडिरहेको छ । यो मेरो छोरो तपाइँ हामी सबैको प्रतिनिधि छोरो हो ।

हाम्रो दिनको सुरुवात फेसबुकको नोटिफिकेसनबाट हुन्छ । र, दिनको अन्त्य पोर्न साइटको कामुक दृश्यबाट हुन्छ । दिनभर क्यारम्बोर्ड, तास खेल्दै, मदिरा सेवन गर्दै वा दुई चार जना जम्मा भएर नेता र देशलाई साप्दैमा बित्छ । फेसबुकमा स्ट्याटस पोस्टिन्छौँ, 'देश खत्तम भयो । नेताहरुलाई गोली ठोक्नु पर्छ, टुँडिखेलमा लगेर झुण्ड्याउनु पर्छ ।' त्यही स्ट्याटसमा कति लाईक र कमेन्ट आए भनी आँखा दौडाइरहन्छौँ । फेसबुक वाल स्क्रोल गर्दै तलमाथि दौडाइरहन्छौँ । अरुका चर्का गाली र आक्रोश पोखिएका स्ट्याटसमा लाइक गर्छौँ र हो मा हो थप्दै कमेन्ट गर्छौँ ।  हाम्रो ३ घण्टा समय साउथ इन्डियन मुभिका दृश्यहरुमा एकटक आँखा तन्काएरै बित्छ । तर चिया पिउन मन लाग्यो भने भन्छौँ, 'आमा चिया पकाउनू न ।'

केरा खाएर बाटोमा बोक्रा फाल्छौँ । चकलेट खाएर प्लाष्टिक बाटोमा फाल्छौँ । सडक किनारका बिरुवा भाँच्नुमा बहादुरी ठान्छौँ । सार्वजनिक सम्पत्ति बिगार्नु र भत्काउनुमा गौरब गर्छौँ । सगर्व आफ्नो साथीलाई भन्छौँ, 'आज मैले पर चोकको सोलार प्यानललाई ढुङ्गाले हानेर फुटाइदिएँ नि ।' भन्छौँ, 'मैले त आज सडक किनारको फूल सहितको गमला उठाएर घरमै ल्याएँ नि ।' वातावरण फोहर गर्नु हुँदैन भन्ने, सार्वजनिक सम्पत्तिको विनास गर्नु हुँदैन भन्ने थाह छ तर त्यही गर्दै जान्छौँ भने सम्झिनुस् हाम्रो मनोविज्ञान कुन तत्वबाट निर्देशित होला ? हाम्रो दिमाग कुन रसायनले बनेको होला ?

नकारात्मक सोचको यो बिकृत स्वरुप भयावह छ । यसका साथै हाम्रो परनिर्भरता र परालम्बन झन् बढी डरलाग्दो छ । मेरो एकजना साथी डोल्पामा पढाउँछ । एकदिन विद्यालय समय पछि गाउँतिर घुम्न निस्केछ । एक जना अभिभावकको घर पुगेछ । जानु अघि घर पुग्नै लाग्दा बाटोमा सिस्नै सिस्नु रहेछ । जेनतेन सिस्नु पन्छाउँदै पन्छाउँदै ऊ त्यहाँ पुगेछ । अभिभावक बासँग भलाकुसारी गरेछ । अन्त्यमा आफूलाई खसखस लागेको कुरा उसले सोधेछ,  'बा, अरु त ठीकै छ, हजुरको घर आइपुग्ने बाटोमा सिस्नै सिस्नो रैछ यसो काटेको भए हुने नि ?' यति भनि नसक्दै बाले जवाफ दिएछन्, 'बाबु सिस्नु फाँड्ने भनेको त उहिल्यैबाट हो, दुई तीन पल्ट गाउँपालिका पनि गएँ तर के गर्नु सरकारले बजेटै दिँदैन ।' बा को जवाफ सुनेर ऊ केही नबोली त्यहाँबाट फर्केछ ।

मेरो साथीले सुनाएको यो घटना सुनेपछि सुरुमा त मलाई हाँसो लाग्यो । पछि निकै भावुक भएँ । हामी कता जाँदैछौँ र हाम्रो समाज जाँदैछ ? हामी कर्मयोगी पुर्खाका सन्तान कसरी यस्तो पराश्रित बन्न पुग्यौँ । हामी अहिले पनि देख्न सक्छौँ हाम्रो गाउँघरमा, ठुला ठुला चट्टान फुटाएर, सुरुङ खनेर बनाएका बाटा र कुलाहरु, सुन्दर चौतारा र पाटी पौवाहरु, भव्य विकासका संरचनाहरु । ती संरचना निर्माण गर्दा राज्यले एक पैसा खर्च गरेन । झारा ( जनश्रमदान) बाटै सबै काम भए । शासकको एक आदेशमा सबै जनता विकास निर्माणका निम्ति तम्तयार भएर लागे र आज हामीले ती संरचना देख्न पाएका छौँ । ती मेहनती र निश्वार्थ पुर्खाका सन्तान हामी घर अगाडिको सिस्नो फाँड्न पनि सरकार चाहिने भयौँ । घर अगाडी परेको सानो खाल्डो पुर्न पनि सरकार चाहिने भयौँ । दातृ निकाय र सरकाका अगाडी मुख बाएर बस्ने बाटो नै हाम्रो लागि सुगम लाग्यो । देश निर्माणमा, आफ्नो हितका निम्ति बन्ने संरचनामा मैले सकेको योगदान गर्नु गर्छ भन्ने भावना कुन लोकमा बिलायो ? अब त यस्तो लाग्छ, खानाको गाँस पनि कसैले मुखसम्मै ल्याइदेवस् ।

नेता असल हुनुपर्छ, दूरदर्शी हुनु पर्छ र पारदर्शी हुनुपर्छ । जनताका हरेक सुखदुखमा साथ दिने मान्छे नै नेता हो । वास्तवमै नेता समाजको रोलमोडल हो । उसका हरेक गतिविधि अनुकरणीय हुनुपर्छ ऊ नैतिकवान र सदाचारी हुनुपर्छ । यो सत्य हो  तर हाम्रा नेताहरु त्यस्ता छैनन् यो कटुसत्य हो । तर एकपटक सोचौँ त तिनीहरुलाई नेता बनएको कसले हो ? तपाइँ हामीले नै होइन ? र, मलाई लाग्छ कुनै अमुक दलको नेता छनौट हुँदैमा अर्कै हुने पनि होइन । जुन आए पनि उसले हालको प्रबृत्ति संस्कारकै रुपमा ग्रहण गरेको छ । खराब राजनीतिको आधार हामी स्वयम् हौँ । यसकारण पनि हामी सुध्रिन जरुरी छ ।

केरा खाएर बाटोमा बोक्रा फाल्ने, सार्वजनिक सम्पत्ति तोडफोड गर्नुमा आफूलाई महान सम्झिने, आफू कर्म नगर्ने र अरुलाई गाली गरी बस्ने, सबै अरुले नै गरिदेवस् भन्ने अपेक्षा गर्ने मनोविज्ञान वोकेका हामीले छनौँट गरेको नेता कस्तो होला ? निश्चय नै हामी जस्तै हुन्छ र अझ हामी भन्दा बढी खराब हुन्छ । किनकी हाम्रो मनोविज्ञान खरावलाई स्वीकार्ने भइसकेको छ । त्यस्ता नेताले गरेको निर्णय कस्तो होला र कार्यान्वयन कस्तो होला ? यसर्थ खराब शासनको आधार त हामी स्वयम् पो रहेछौँ त ! हामी सुध्रियौँ भने सुध्रेकै नेता छान्छौँ, सुध्रेको नेता छान्यौँ भने सुध्रेकै निर्णय हुन्छ र समाज सुध्रिन्छ । तर हाम्रा आचरण, आनिबानी र हाम्रा व्यवहार परिवर्तन नभएसम्म हामी खराब मान्छेबाटै शासित हुन्छौँ र हाम्रो समाज र देश पनि खराबै रहिरहन्छ ।

गाउँघरतिर जानुभो भने देख्नुहुन्छ, राज्यले ठुल्ठुला पहाड फोडेर गाउँगाउँमा सडक पुर्याएको छ । हरेक गाउँमा दिनानुदिन डोजर दौडिरहेका छन् र हाम्रा हरिया पहाड भत्किएर सेताम्य भएका छन् । बतावरणमा परेको नकारात्मक प्रभावलाई बिर्सिदिने हो भने गाउँगाउँमा सडक पुगेको छ र मोटर दौडिने भएको छ । तर हमीले ती सडकलाई कसरी उपयोग गरेका छौँ यो विषय सोच्न लायक छ । परिवारको कुनै न कुनै सदस्य बिदेश बस्छ । मरिमरि दुख गर्छ र केही पैसा कमाउँछ । घरमा पैसा पठाउँछ । यता छोरो/ भाइले मोटरसाइकल किन्छ र त्यही बाटोमा दौडाउँछ । दिनभरमा सयौँको पेट्रोल उडाउँछ । मोटरसाइकलको पछाडीको सिटमा तरुनी राखेर भन्छ, देश त खत्तम छ यार ! केही गरिखाने वातावरणै छैन । त्यो ५ लाखले मोटरसाइकल किन्नको सट्टा कुखुरा पालन गरेको भए, तरकारी खेती गरेको भए, बाख्रा पालेको भए वा अन्य कुनै व्यवसाय गरेको भए ती बाटामा गुड्ने गाडीमा चढेर उसको उत्पादन बजार पुग्थ्यो र आर्थिक उपार्जन गर्थ्यो । तर घरमा खाने खुर्सानी बजारबाट किनेर मोटरसाइकलमा झुण्ड्याउँदै ल्याउँछ र भन्छ, 'के गर्नु यार देशै खत्तम छ ।'

गाली समाधानको उपाय होइन् । कसैको आलोचनाले देश बन्दैन । आफू मात्र ठीक छु भन्ने चिन्तनले  हामीलाई कहीँ पुर्याउँदैन । हामी व्यक्तिगत तहबाट ठूलाठूला परिवर्तन गर्न त नसकौँला तर साना साना कुरामा सुधार त गर्न सक्छौँ नि ! तपाइँ हामी सकारात्मक बने यो देश अवश्य सकारात्मक दिशामा उन्मुख हुन्छ । तपाइँ हामी परिवर्तन भए निश्चय पनि यो देशले मुहार फेर्न सक्छ ।

 

आशङ्का सरकार राजनीति