कला साहित्य

'दबंग ३ को कलेक्सनभन्दा आन्दोलन महत्वपूर्ण'

'दबंग ३ को कलेक्सनभन्दा आन्दोलन महत्वपूर्ण'

मुम्बई (एजेन्सी) – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले ‘दबंग ३’ फिल्मको बक्स–अफिस कलेक्सनभन्दा हाल भारतमा चर्किएको नागरिकता संशोधन कानुन विरुद्धको आन्दोलन महत्वपूर्ण रहेको बताएकी छन्।

उनले नागरिकता संशोधन कानुन विरुद्ध जनताले बोल्न पाउने अधिकार प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएकी छन्। नागरिकता संशोधन कानुनको विरोधमा भारतभर आन्दोलन चर्किएका कारण अभिनेता सलमान खानको ‘दबंग ३’ को व्यापारलाई असर गरेको छ। ‘देशभर नागरिकता संशोधन कानुनको विरोधमा आन्दोलन चर्किएको छ। अहिले आम मानिसले फिल्मभन्दा आन्दोलनलाई प्राथमिकतामा राखेका छन्। फिल्म हेरेका दर्शकले दिएको प्रतिक्रियाबाट म खुसी छु। हाल देशभर चर्किएको आन्दोलन फिल्मको बक्स–अफिस कलेक्सनभन्दा महत्वपूर्ण छ,’ उनले भनिन्।

गत शुक्रबार रिलिज भएको ‘दबंग ३’ ले दुई दिनमा ५० करोड भारतीय रुपैयाँ कमाएको छ। ‘दबंग ३’ फिल्म रिलिज भएको दिन बक्स–अफिसमा २४.४ करोड र शनिबार करिब उस्तै कलेक्सन गरेको थियो। ‘नागरिकता संशोधन कानुनको विरोधमा चर्किएको आन्दोलनमा म यस देशका जनतासँग छु। उनीहरुको अधिकार चाहेरपनि कसैले खोस्न सक्दैन्,’ उनले भनिन्। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका अभिनेता सलमान खानसहित सोनाक्षी सिन्हा, अरवाज खान र सुदीप किचा लगायतका कलाकारले अभिनय गरेका छन्।