समाचार

भरतपुर महानगरद्वारा कृषकलाई ४ करोडको अनुदान

भरतपुर महानगरद्वारा कृषकलाई ४ करोडको अनुदान

चितवनः चितवनको भरतपुर महानगरपालिकाले कृषि प्रवर्द्धन तथा यान्त्रिकरणका लागि किसानलाई चार करोडभन्दा बढी अनुदान दिने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कृषिलाई प्रमुख प्राथमिकता दिएर गत वर्षको भन्दा बढी अनुदान दिन लागेको बताइन् । उनले भनिन्, ‘गत वर्ष चार करोडको हाराहारीमा अनुदान दिएका थियौँ भने अहिले कृषि प्रवर्द्धन तथा यान्त्रीकरणको लागि चार करोडभन्दा बढी अनुदान दिँदै छौँ ।’

भरतपुर महानगरपालिकाले नेपाल सरकारको सशर्त अनुदानसहित समूह, सहकारी र निजी फर्महरुलाई चार करोड २० लाख ५० हजार अनुदान वितरण गर्न लागेको प्रमुख दाहालले बताइन् । ‘भरतपुर महानगरको आफ्नै बजेटबाट दुई करोड ४७ लाख ५० हजार र नेपाल सरकारबाट एक करोड ७३ लाख रूपैयाँ अनुदान वितरण गर्न लागेका छौँ’, वरिष्ठ कृषि विकास अधिकृत काशीराज हमालले भने, ‘महानगरका समूह, सहकारी तथा निजी फर्महरुबाट प्रस्ताव माग गरेका थियौँ, प्रस्तावको समय सकिएको छ ।’

महानगरको कृषि शाखा अधिकृत विनोद लामिछानेका अनुसार ३० दिनभित्र सम्पूर्ण कागजातसहित आवेदन माग गरेका थियौँ, त्यसको समय सकिएको छ, अब अनुगमन गरी यही महिनाभित्र अनुदान वितरण गर्ने किसान, समूह र निजी फर्महरु छनौट गरिन्छ । भरतपुर महानगर कृषि शाखाका अनुसार कृषि यान्त्रीकरण र कृषि बजार प्रवद्र्धनका लागि ८५ प्रतिशतसम्म अनुदान रहेको छ । शाखाका अनुसार कम्ब्राइन्ड हार्भेस्टर धान, गहुँ काट्नेदेखि थन्क्याउनेसम्म मेसिनमा ५० प्रतिशत अनुदान रहेको छ । 

भरतपुर महानगरपालिका अनुदान रेनु दाहाल