भिडियो Breaking News स्वास्थ्य कभर स्टोरी

संचार र स्वास्थ्यमा ‘लाल सलाम र जयनेपाल’ मात्रै ( भिडियोसहित) 

संचार र स्वास्थ्यमा ‘लाल सलाम र जयनेपाल’ मात्रै ( भिडियोसहित) 

२० वर्षदेखि पत्रकारिता गर्दै आएका पत्रकार पदमराज जोशीका आँखामा नेपालको पत्रकारिता क्षेत्र ठूलो संक्रमणमा छ । पत्रकार, पत्रकारिता र संचार गृहप्रति नै अविश्वास बढेर गएको छ भने राजनीतिक दल र राज्य पनि पूर्वाग्रही भएका छन् । 

पत्रकारितालाई निष्पक्ष र व्यवसायिक भन्दा पनि आफ्नो भजन गाउने साधनकारुपमा प्रयोग गर्न खोजियो । पत्रकार र संचार गृह पनि त्यसमै लागे । यसैकारण नेपालको पत्रकारिता क्षेत्रमा हिजोदेखि नै लालसलाम र जय नेपाल भन्नेहरुको बाहुल्य रह्यो । जयनेपाल र लाल सलाम भन्ने व्यक्ति अर्थात पार्टी पत्रकारिता गर्नेहरु व्यावसायिक पत्रकार हुन सक्दैनन् । यस्ता पत्रकारले निष्पक्ष र तटस्थ समाचान दिन सक्दैनन् । उनीहरु सत्य बंग्याएर समाचार प्रस्तुत गर्छन्, आज यही समस्या छ । 

">

कस्तो व्यक्ति पत्रकार हुने र मिडिया कसले चलाउने भन्ने कुनै प्रावधान छैन । यहाँ त जो पनि पत्रकार । अहिले यू ट्यूवको जमाना छ । यू टुबरहरु पनि पत्रकार । यू टुबरहरुका सामग्री भनेका निकै सस्ता विषयवस्तु । समाजले पनि त्यही रुचाएको देखियो । यी सबै कारणले नेपालको पत्रकारिता संक्रमणमा छ । 

व्यावसायिक पत्रकार संचार गृह नभएका होइनन् तर तिनलाई मिसन पत्रकारिता गर्नेहरु भन्दा बाँच्नका लागि बढी संघर्ष गर्नुपर्ने अवस्था छ । इतिहास हेर्ने हो भने मिसन पत्रकारिता गर्नेहरुले काठमाडौंमा घर घडेरी जोडेका छन् । तर, व्यावसायिक भनेर चिनिएका थुप्रै पत्रकारलाई अहिले पनि हातमुख जोर्न समस्या छ । यसले पत्रकारको निष्ठा र मर्यादा डगमगाउने स्थिति उत्पन्न गराएको छ । 

अहिले नेपालको संचार क्षेत्र राज्यबाटै असुरक्षित छ । वामपन्थी सरकार भएर साम्यवाद लाद्न खोज्यो भन्ने हिसाबले पनि थुप्रैले ब्याख्या गरिरहेका छन् तर हरेक सरकार प्रेसप्रति अनुदार भएको पाइन्छ । उनीहरु सकभर आफनो आलोचना नहोस भन्ने चाहन्छन् । 

अहिलेका संचारमन्त्री गोकुल बास्कोटा प्रेसको पृष्ठभूमिबाट आएपनि उनी त्यस्ता देखिदैनन् । खोलो तर्यो लौरो विस्र्यो भन्ने उक्ति उनमा लागू हुन्छ । उनले आफनो विगत बिर्सेर महाराजधिराज भएँ भन्ने भ्रम पालेका छन् । उनको सोचले पनि संचार क्षेत्रका कमजोरी सच्चिन पाएका छैनन् । मन्त्री बास्कोटा पहिला आफैं सच्चिनुपर्छ ।

२०५६ सालदेखि कान्तिपुर दैनिकबाट पत्रकारिता थालेका जोशी हाल आफैं ‘हेल्थ टुडे’ पत्रिका प्रकाशन गर्छन् । त्यसअघि कान्तिपुर छोडी २०५९ सालबाट उनले अन्नपूर्ण पोष्टमा काम गरे । उनी अहिले मूलतः स्वास्थ्यमा केन्द्रीत छन् । 

पत्रकार जोशीका अनुसार नेपालको स्वास्थ्य क्षेत्रको प्रमुख समस्या भनेको अस्पताल संचालक र चिकित्सकको नाफा मुलुक सोच हो ।  स्वास्थ्य क्षेत्रलाई सेवामूलक भनेपनि यो नाफा कमाउन मात्र प्रयोग भइरहेको छ । वास्तवमा भन्ने हो भने स्वास्थ्यमा व्यापार बाहेक अरु केही छैन । 

जोशी भन्छन्, ‘ नेपालको सन्दर्भमा एउटा व्यक्तिलाई डाक्टर बन्न कम्तिमा एक करोड लाग्छ । डाक्टर भएपछि लागेको खर्च उठाउनमै चिकित्सकको ध्यान जान्छ । यस्तै, करोडौं लगानी गरेको अस्पताल संचालकले पनि नाफा कमाउन नै खोज्छ । यो सबैको मार विरामी माथि नै पर्ने हो । ’

मुख्यतः अस्पतालमा एम्बुलेन्स, ल्याब टेष्ट र औषधिमा ब्यापक शोषण हुने गरेको छ । चिकित्सकले खर्च उठाउनकै लागि सामान्य अवस्थामा पनि ल्याब टेष्ट गराउने गरेका छन् । अझ ठूला भनिएका अस्पतालमा यो बढी हुने गर्दछ । 

यहाँका निजी अस्पतालले सरकारी नियम अनुसार १० प्रतिशत विरामीको निःशुल्क उपचार गर्नुपर्ने हो । तर, अहिलेसम्म कुनैपनि विपन्न समुदायको विरामीले यो सेवा पाउन सकेको छैन । ठूला र पहुँचवाला व्यक्तिहरुले विपन्नका लागि छुट्याएको त्यो सविधा आफैं लिने गरेका छन् । यो कुराको सरकारी निकायबाट अनुगमनसमेत हुने गरेको छैन । 

जहाँसम्म सरकारी अस्पतालको कुरा छ, त्यो त ट्रेड युनियनहरुले ध्वस्त पारेका छन् । सरकारी अस्पताल प्रणालीमा जान नसक्नुको कारण यिनै ट्रेड युनियनहरु हुन् । बीर अस्पतालमा मात्रै २१ वटा ट्रेड युनियन छन् । अब त्यहाँ कसरी सिस्टमले काम गर्छ ? 

सिस्टम बनाउन निकै प्रयास भए तर सफल हुन सकिएको छैन । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पहिलो पटक, गिरिराजमणि पोखरेल र त्यसपछि गगन थापाले स्वास्थ्यमा सुधार प्रयास गरेको देखिन्छ । अझ गगन थापाको कार्यकाल थोरै भएपनि स्वास्थ्यको क्षेत्रमा स्वर्णिम कार्यकाल भन्न सकिन्छ । उनले थुप्रै सुधारका काम गरेका थिए, तर त्यसपछिका मन्त्रीहरुको ध्यान बजेटमा मात्र केन्द्रीत भयो । 

‘पत्रकारिता जस्तै स्वास्थ्य क्षेत्रमा पनि लाल सलाम र जय नेपाल भन्नेहरु धेरै भए । पत्रकारिता र स्वास्थ्यमा राजनीतिकरण भएकाले मेरो अनुभवमा यी दुवै क्षेत्र लामो समय संक्रमणमै रहनेछन् ।’ जोशीको निष्कर्ष छ । 

">