कला साहित्य

गोरुजस्तै गुरुको कथा

गोरुजस्तै गुरुको कथा

बिहानको ठिक नौ बजेको थियो। म भर्खर आँखा मिच्दै उठ्दै थिएँ,  झ्यालबाट जिस्काउदै मेरो अनुहारमा साउती मार्न आउने घामका किरणहरुलाई पर्दाले छेकि नै राखेको थियो। यसै पनि मलाई हरेक हप्ताको शनिबार स्पेशल नै लाग्छ । अल्छिलाई शनिबार आउनु र भुरालाई दशैं आउनु उस्तै उस्तै नै हो । उठेर फ्रेस हुन बाथरुमतिर लागें । आएर मोवाईल हेर्छु त चार मिस्डकल आईसकेको रहेछ। फेरि उसैगरि फोन बज्यो, मैले रिसिभ गर्दै के हेल्लो भनेको थिएँ । उतैबाट आवाज आयो, हेल्लो, कहाँ छौ तिमी ? 
हजुर, म रुममै छु ।
होर ! तिमी कहाँ नीर बस्छौ। 
कलंकी 
कलंकी कहाँ नीर?
मकालु पम्प
होर, म त्यहिं नीर आएको थिएँ । त्यसैले तिमीलाई कल गरेको। 'गाडि लिएर आएको छु, तिमीलाई नि क्लाससम्म पुर्याईदिम कि भनेर' । मेरो परीक्षा नजिकिँदै थियो । हामी छ सात जना साथी मिलेर कलेजमा पढाउने सरसंगै ट्युसन क्लास जोइन गरेका थियौं। यसै पनि मेरो क्लास जाने समय १ बजे थियो । त्यहाँ माथी म हिडेर या सार्वजजिक यातायात चढेर जसरी पनि क्लाससम्म पुग्न सक्थें । चार घन्टा अगाडि नै आएर सहयोगी भावना देखाउदै चाप्लुसी गर्न खोजेको पटक्कै मन परेन । झनक्क रिस उठेर अयो । प्रतिक्रिया केही जनाउन मन लागेन । 

मैले खाना खाएको छैन । खाना खाएर आउँछु सर । तपाईं जाँदै गर्नुभए हुन्छ। मैले जवाफ दिएँ। खाना खाएँ र १ बजेतिर क्लास पुगें । त्यो दिन साथीहरु कोहि पनि आएका रहेनछन् । साथीहरु नआएकोले म एक्लै हुने भएँ । मन त्यसै सशंकित भएर आयो, कुनै बाहाना बनाएर बाहिरैबाट निस्किदिउँ भन्ने चाहाना पनि नजागेको होईन।
यसैपनि मलाई त्यो सरको नियतमाथी मलाई अलि शंका लाग्थ्यो, पहिल्यै देखि । जब मैले संगित बिषयमै ब्याचर गर्छु भनी क्याम्पस जोईन गरेको थिएँ । फेरि मेरो मिल्ने साथी प्रकाशले पनि उहाँको बारेमा केही कुरा थाहा पाएको रहेछ । जसले गर्दा त्यो सर संग अलि टाढै रहनु है ,बचेर हिंड्नु,ठिक छैन भन्ने गर्थ्यो । कलेजमा पनि केटाहरुलाई प्राथमिकता नदिने र केटिहरुसंग चाहिँ मसक्क मस्किएर केयर गरेजस्तो गर्ने उहाको बानि शंका गर्न लायकको थियो। 

त्यहि बेला सरले भनिहाले, चिसो पनि छ, क्लास एकछिनमा सुरु गरौंला , अहिलेलाई चिया खान जाम न है।
मनमा अलि ढुक्क भयो, अब क्लास जान्न, चिया खाएर सिधै एउटा बाहाना बनाएर निस्कन्छु भन्ने सोच्न थालें।
मैले हुन्छको संकेत गर्दै टाउको हल्लाएँ ।  चिया पाईने पसल त्यहाँबाट दुईतिन घर पछाडी मात्र थियो तर उनले मलाई १० मिनेट सम्म हिंडाएर, पारी डँडाको पसल सम्म लगे ।  मैले सोधिहाले , चिया खान यति टाढा किन ?
अलि मीठो चिया पाउने ठाउँ यहि हो त्यसैले तिमीलाई पनि मिठै चिया खुवाईदिम भनेर।

मलाई त्यो १० मिनेटको बाटो हिंड्दा १० घन्टाकोजस्तो  भान भईरहेको थियो । त्यस दिन सरको मप्रतिको रियाक्सन अलि फरक थियो ।सरको हिंडाई, बोलाई, लच्काई र मस्काई नै फरक किसिमको पाईरहेको थिएँ। आधी भन्दा अझै कम उमेरको विद्यार्थीसंग किन यस्तो व्यवहार ? सामान्य कुराबाट चिया गफको सुरुवात भयो। बोल्न त्यति रुचि नभए पनि सोधेको प्रश्नको जवाफ भने जबर्जस्ती दिएँ दिन चाहिँ । उनले बिस्तारै आफ्नो घर परिवारको कुरा गर्न थाले । उनको घर सतुङ्गलमा रहेछ। घरमा एउटी छोरी, छोरा र श्रीमती रहेछन्। छोराछोरी स्कुल पढ्दा रहेछन् , श्रीमती भने विगत चार पाँच वर्षदेखी जापानमा रहिछन्।

 कोहिपनि आफ्नो नहुने रहेछ। श्रीमती पनि आफ्नै दुनियाँमा, छोराछोरी पनि आफ्नै दुनियाँमा, म एक्लो छु ,उनले भने ।  मैले असहमति जनाउदै भनें, 'छोराछोरीको संसार अलग होला तर बाबुआमाको लागि आफ्नो संसार भनेको त छोराछोरी नै हुन् नि' । उनले यसमा पुरै असहमती जनाए ।  आ-आफ्नो बुझाईमा भर पर्छ सर । तपाईले आफ्नो छोराछोरीलाई के सोच्नुहुन्छ, अरुले पनि त्यहि सोच्नुपर्छ भन्ने छैन, मैले जवाफ फर्काएँ।

उनी यतिमा मात्र रोकिएनन्, मेरो तारिफ पो गर्न थाले । म वाल्ल परें, तिमी ज्ञानी छौ, अनुशाशित छौ, अझ सोझी छौ, के के हो के के । चिया आयो । हामी चिया पिउन थाल्यौं । अब चाहिँ यो मान्छे नबोले हुन्थ्यो जस्तो लागिसकेको थियो।  एउटा कुरा भनौं ? 
अँ भन्नू न..
रिसाउदैनौं नि ?
रिसाउँदिन 
तिमी यसै पनि मिहिनेती छौ। तिम्लाई म सहयोग गर्छु, सफल बनाईदिन्छु, तिम्रा सबै ईच्छाहरु पूरा गरिदिन्छु । मेरो एउटा कुरा मान्यौ भने।

के कुरा ? यदि तिमी मेरो घरमा बस्यौ भने, मेरो श्रीमती पनि छैन, एक्लो जीवन जिउन सार्है गार्हो भयो। 

सरको कुराको मतलव बुझ्न थालें । म त पढ्ने उद्धेश्यले त्यहाँ गएको थिएँ। उहाँको दिमागमा यतिसम्मको घटिया सोच आओस् भनेर होईन। मेरा आखा तिर्मिराउन थाले, दिमागले काम गर्न छाड्ला जस्तो भयो । एकैछिनमा गुरुको अनुहार गोरुजस्तो देख्न थालें। यो कस्तो लालसा हो, यो कस्तो भ्रम हो, अनि यो कस्तो तल्लो सोचाई हो ?

हामी संगित पढ्ने विद्यार्थीहरु सरलाई गुरु भनेर सम्बोधन गर्छौं । तर त्यो दिन एउटा कुरा बुझें कि सबै पढाउने मान्छेहरु गुरु नहुने रहेछ।  पिउन लागेको चिया ठाउँको ठाउँ छाडिदिएँ र जुरुक्क उठें। "म आफ्नो स्वाभिमानले बाँच्न सक्छु । आफ्नो ट्यालेन्टले खान सक्छु र सकिन भने पनि मलाई कसैले दया गर्न आवश्यक छैन ।तपाईको मनमा भएका निकृष्ट सोचाईहरु आफुसंगै राख्दा हुन्छ र जिन्दगीमा तपाईसंग कहिल्यै भेट नहोस्"।
यति भन्दै म त्यहाँबाट बाहिरिएँ। कोठामा आएर त्यो सरको फोन नम्बर र फेसबुकमा समेत व्लक गरिदिएँ। मनमा अझै शान्ति मिलेको थिएन। साथीहरुलाई उसको हरकतको बारेमा सुनाईदिएँ। हामी कोहि पनि अब त्यो सरसंग क्लास नलिने निर्णय गर्यौं।

म मात्र होईन हरेक छात्राप्रती त्यो मान्छेको नजर उस्तै रहेछ। बिनाकारण केही न केही निहुँ बनाएर फेसबुकमा म्यासेज पठाउने, फोन गर्ने, चाप्लुसी गर्न खोज्ने गरेको कुराहरु साथीहरुले पनि पालैपालो भन्न थाले ।  बाहिरी रुपमा राम्रो बन्न खोज्ने मानिसहरु कहिल्यै भित्री रुपमा राम्रा हुँदैनन् ।  अहिले म आफुभन्दा जुनियरहरुलाई त्यो सरको छात्रा प्रतिको नजरको बारेमा सचेत बनाउने गर्छु । 

घरि घरि यो चिन्ता पनि लाग्छ कि,म त कसैको लोभ लालसमा फस्नेवाला थिईन तर उनिहरु फसे भने कसरी बचाउनु ?

मनोनियत